मठमा नरोपिएको तुलसी–लेखनको ब्याडमा टुसाएपछि…

मठमा नरोपिएको तुलसी–लेखनको ब्याडमा टुसाएपछि…

–कौशल चेम्जोङ

तुलसीप्रसाद रेग्मी (१९८२ साल श्रावण १५ गते) जीवनको उत्तराद्र्धमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आउनुभएको छ । उहाँको जन्म खोटाङको तत्कालनी बतासे गाउँपञ्चायत २, मार्सेमा भएको हो । पिता मित्रलाल रेग्मी र माता देवकादेवी रेग्मीका सन्तानका रुपमा जन्मिएका रेग्मीले आफ्ना अध्ययन र अनुसन्धानका आधारमा पुस्तक लेखेर अहिलेको समाजलाई राम्रै गुन लगाउनुभएको छ ।

उहाँले वि.सं. २०३४ देखि २०३७ सालसम्म खोटाङ जिल्लाबाट राष्ट्रिय समाचार समिति (रासस) को प्रतिनिधि भएर पत्रकारिता गर्दागर्दै लेखनीलाई तिखार्नुभएको हो । अनेकौं फुटकर रचनाको सिर्जना गर्नु भएका रेग्मी आख्यान लेखनमा विशेष रुची राख्नुहुन्छ । आख्यानमा पनि खोज तथा अनुसन्धानमा विशेष रुची देखिन्छ । यसैमा आधारित रहेर रेग्मीले वि. सं. २०४३ सालमा उदयपुर जिल्ला परिचय लेख्नुभयो भने २०४४ सालमा माझी जनजाति एक परिचय नामक अनुसन्धानमा आधारित पुस्तक लेखेको पाइन्छ ।

उहाँले सो पुस्तकमा माझी जनजातिहरुको जन्मदेखि मृत्यु संस्कार बारे जानकारी दिनुभएको छ । उहाँले लोपोन्मुख माझी भाषाहरुको वाक्य र शब्दार्थहरु पनि पुस्तकमा उल्लेख गर्नुभएको छ । सो पुस्तकमा माझीहरुको थरघरको बारेमा पनि जानकारी दिइएको छ । माझी जातिले गर्ने श्राद्ध, प्रमुख पेसा माछा मार्ने, सुत्केरी उकास्ने, वैवाहिक संस्कारहरुको वर्णनका साथै विकसित नयाँ व्यवस्था र अवस्थाबाट माझी जातिको आर्थिक अवस्थामा परेको असरबारे पनि विश्लेषण गर्ने प्रयास गरिएको छ ।

उहाँको यो पुस्तक पढेपछि माझी जातिको जीवनशैलीबारे बुझ्न निकै सहयोग पुग्ने निश्चित छ । कोशी किनारमा बस्ने र कोशी तथा अन्य सहायक नदीमा आश्रित माझीहरुको जीवनशैलीमा अहिले भने केही तात्विक भिन्नता पाउन थालिएको छ । भौतिक विकाससँगै खोला किनारबाट सडक यातायातको सञ्जाल हिँडेपछि माझीहरुको परम्परागत पेसामा परिवर्तन आएको छ । धार्मिक, सामाजिक र साँस्कृतिक पक्षहरु पनि प्रभावित हुन पुगेका छन् । रेग्मीको पुस्तकले भने उनीहरुको पुरानो जीवनशैलीलाई बुझ्न निकै सहयोग पुग्दछ ।

त्यसैगरी उहाँको पहिलो कृति उदयपुर परिचयमा उदयपुरको संक्षिप्त परिचयका साथै तत्कालीन जिल्ला पञ्चायतमा रहेका जनप्रतिनिधिहरुको बारेमा जानकारी दिइएको छ । जिल्लाको राजनीतिक विभाजनको बारेमा जानकारीका साथै वस्तुस्थितिबारे यथार्थ जानकारी पस्किएको पाइन्छ । यस पुस्तकमा उदयपुरका धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्रहरुको बारेमा पनि संक्षेपमा जानकारी दिइएको छ ।

साहित्यिक सञ्चार समूह काठमाडौंले बादलभित्रका ताराहरु (विविध रचनाहरुको संगालो, २०६३) मा हास्यव्यङ्ग्य सर्जकको रुपमा रेग्मीको पहिचान गर्नुका साथै उहाँसँग गरिएको कुराकानी, रेग्मीले लेख्नुभएका इन्द्रको मन्त्रीमण्डल गठन, गरिबका नाउँको बन्धकी तमसुकको नमूना, गुन्द्रुक ः एक विवेचना र आध्यात्मिक विज्ञानको भौतिक क्षेत्रमा इस्तेमाल शीर्षक समेटेको छ । यसले एक सामाजिक अध्येताबाट ठट्यौली लेखकका रुपमा पनि रेग्मीले पहिचान बनाएको देखिन्छ । जसले व्यङ्ग्यमार्फत् विकृतिविरुद्ध धावा बोलेको छ । रेग्मीले इन्द्रको मन्त्रीमण्डल गठनमा व्याप्त राजनीतिक तथा सामाजिक विसंगतिप्रति कडा प्रहार गरेका गर्नुभएको छ । आमजनताको जनजीवनप्रति उदासीन शासकहरु र चलनविरुद्ध ‘भोकभौकै धेरै मान्छे मार्न सके गिद्ध हाँस्ने र स्याल रमाउने छन् । अनि किरिया, सुद्धाई र बर्खान्तसमेतको सोहर–साहरले पूरोहित, धामी र लामाहरुले धोजे बाँध्ने छन् ।’ भनेर व्यङ्ग्य कसिएको छ ।

अगाडि थपिएको छ, ‘नेपाल देशका विभिन्न जिल्लामा यस्तो अनावृष्टिको हाहाकार स्थिति पैदा गरी भोकभोकै मान्छे मार्न लाग्नु यो इन्द्रदेवको कहाँसम्मको अक्षम्य भ्रष्टाचार हो,’ भनेर अपत्यारिलो तवरले, लठेप्रोपाराले केन्द्रीय सत्ताविरुद्ध धावा बोलिएको छ । जुन कुरा पोलाहाले ख्याल गरेनछ, नभए तुलसीप्रसाद तुलसीकै मठमा सजिने सम्भावना पनि हुनसक्थ्यो । रेग्मीले गरिबका नाउँको बन्धकी तमसुकको नमूनामा तत्कालीन ग्रामीण जीवनमा ऋण लिनुपर्ने कारण र त्यसबाट भोग्नु पर्ने परिणामलाई राम्रैसँग बयान गर्नुभएको छ ।

एउटा तमसुकमा लेखिएको छ, ‘लिखितम् धनीका नाम साम्राज्यवादको नाति, सामन्तवादको छोरा, वृद्धावस्थाको पूँजिवाद प्रणालीतस्य कर्जा व्यहोरिनीका नाम छाप्रोमुनि बसेर सँधै भोकै र नाङ्गो रोइरहने टुहुराको नाति, श्रमजीविको छोरा ढाकर बोकी पसिना चुहाउँदै सँधै भोट र मधेश गर्ने हामी गरिबले लिएको चलेसारको दुःखमध्येको जेठो कर्जा काडी लियाँ वापत् तपाईं धनी, जाली, शोषककै सर्वसम्पन्नताको अवयव हुना खातिर लिएको ठीक साँचो हो । भोका, नाङ्गा, रोगी, अपाङ्ग यसका दृष्टिले नदेखेका चौतर्फीभित्रको सबल, तिघ्रे र पाखुरेहरुका पसिना तपाई साहूलाई भोगबन्धक गरिदियाँ ।’

यसैगरी आध्यात्मिक विज्ञानको भौतिक क्षेत्रमा इस्तेमालमा रेग्मीले कर्मकाण्डको नाममा सोझासादा श्रद्धालुहरुको शोषण गर्ने कथित पुरोहितमाथि धावा बोल्नुभएको छ, ‘यो विश्वव्यापी महङ्गीको मारबाट के स्वर्ग चाहिँ त्यसै अलग्गै बस्न सकेको होला त ? यदि त्यसै हो भने विभागीय अधिकृत भनेका उनै ऋषिमुनीहरुले त केराको सुत्लाको लङ्गौटीमात्र लगाएर स्वर्गीय कायालृलमा आफ्नो ड्यूटी बजाएका छन् भनेपछि अनि कताबाट हाम्रा पितृ बूढाबूढीलाई बाक्लो सिरक र न्यानो कम्बलको सुव्यवस्था ।’ वस्त्र दानको हविगत बताउँदा बताउँदै थपिएको छ, ‘त्यै पुरोहितबाजे जिम्मा वर्षको जम्मा दुई पटक पिण्ड छोपी पठाएका चार अैं चिका टालाका कुरा । त्यो पनि पुरेत्नी बजैले चोलाको भित्री हाल्न वा छोरालाई राले बनाउन प्रयोग नभएको खण्डमा मात्र, नत्र पितृ बूढाबूढीको लाज ढकनीमा झन् स्वर्गमा पनि पर्ने रहेनछ र अलपत्र’ यो गरुड पूराण लगाउँदै पुरेतले ब्राह्मण क्षेत्री तर्साउने, हुर्मत लिने चलनलाई रेग्मीले राम्रैसँग दनक दिनुभएको छ ।

पिण्डतर्पणमाथि व्यङ्ग्य कस्दै भनिएको छ, ‘पितृ बूढाबूढीको लागि त्यही एक वर्षमा दुई चोटी पठाएका पिण्डतर्पणका मात्रा खोराकका आशाले सधैँ खाँ–खाँ गर्दै कुन पितृ बाँच्न सक्ने अब स्वर्गमा ।’ यी आलेखका भरमा के भन्न सकिन्छ भने रेग्मी सुधारवादी लेखक हुन् । उहाँ कर्मकाण्डमा आँखा चिम्लेर विश्वास गर्नुहुन्न । शंका, विचार र उनको ब्रह्मले जे उचित ठान्यो त्यो कुरालाई लेखनीमार्फत् अभिव्यक्त गर्ने शैली छ ।

‘परलोकवादी व्यवस्था असत्य हो भने चाहिँ जजमानको सिरिखुरी हत्याएका पण्डित र पुरोहित बाजेहरुलाई के भ्रष्टाचारको उजुरी नलाग्ला त ? अब पुरोहितको प्रतिनिधित्व गर्दै पण्डितजी बोल्नुहुन्छ– ‘हेर्नुहोस् लेखकजी, पैलीपर्थमा अर्काको पेशा अपहरण गर्ने अधिकार आजको युगमा कसैलाई पनि छैन । दोस्रो कुरा धर्मशास्त्रको कुनै पनि पक्षबारे प्रतिकूल असर पर्ने न त वादविवाद, न संघ–संगठन गर्न मिल्छ, न त कतै उजुरी दायर गर्ने ठाउँ नैं छ बुझ्नु भयो । मत्र्यलोकबाट स्वर्ग ओसार्ने पितृ पेसेन्जरको गाडी भाडा बुझ्ने चाहिँ कुश निर्मित ब्राह्मणलाई नै पहिला मुख पारी उसैलाई कन्डक्टरको पदमा नियुक्ति गरेको हुन्छ । अनि त उसैको हातबाट हामीले लिए खाएको कुरामा के जवाफदेही छौं त ?’

उहाँले धर्मका नाममा कमाइ गर्नेहरुलाई आयकर पनि नलाग्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ङ्याक्न नसक्ने, केही ठ्यास्न पनि नसक्ने अवस्था जनाउँदै कथित पण्डितहरुको मनोमालिन्यलाई उन्मुक्ति सूत्रको रुपमा लेख्नुभएको छ, ‘हामीले दानदक्षिणा र सिदा भोजन बुझिलिँदाको संकल्पको मौखिक भरपाई मात्र हो । कानूनी मान्यताको लिखत भएको हाम्रो हस्ताक्षर भरपाई कतै मरिहत्ते गरेर खोज्दा पनि भेट्न सक्नुहुने छैन ।’ हो, रेग्मीका लेखनीमाथि घोत्लिँदा मलाई लेख्न मन लाग्यो–

लुटाहाका हजार दाउ,
भगवान, स्वर्ग–नर्क बेचेर गरीब मान्छेलाई रुवाउ
पापीलाई धर्मकाँटामा तौलिएर नभएको स्वर्ग पुर्याउ
सत्य बोल्नेहरुलाई तुच्छ भन्दै गाली बर्साउ ।

रेग्मी खोटाङबाट प्रकाशित हुने ट्याम्के त्रैमासिक पत्रिका (वि.सं. २०५१) को सम्पादकको भूमिकामा रहेर साहित्यकाशलाई उजिल्याउने काममा पनि लाग्नुभएको हो । उहाँको साहित्य लेखनीको सुरुआत भने वि.सं.२०१६/१७ सालतिरैबाट भएको हो । गाउँमा खोरेत रोगबाट वस्तुभाउहरु ग्रसित हुँदा पनि सरोकारवाला कसैले चासो नदिएपछि तिनका कान ठाडा पार्न रेग्मीले लेख लेखेको पाइन्छ । जुन गोरखापत्रमा छापिएको थियो । र, त्यही लेखनी रेग्मीको लेखक बन्ने आधार विन्दु हो भनिन्छ ।

बेलाबेला राजनीतिमा चासो लिएका रेग्मीले खोटाङको तत्कालीन बतासे र छोरम्बु गाउँ पञ्चायतको प्रधानपञ्च र जिल्ला पञ्चायतको क्षेत्रपालको भूमिका समेत निर्वाह गर्नुभएको थियो । रेग्मी यो आलेख तयार पार्दाका बखत शताब्दीमा तीन वर्ष कममा हिँडडुल गरिरहनुभएको छ । रेग्मीको दीर्घायू र चिरस्थायी उनका कृतिले झनै लम्ब्याउने देखिन्छ । आदरणीय उमेरका रेग्मीको यौवनका कामहरुप्रति हार्दिक नमन ।

टिप्पणीहरू