संविधान संशोधन ‘सर्वसम्मत’

संविधान संशोधन ‘सर्वसम्मत’

भारतीय मिडियाले नेपाल सरकारद्वारा प्रस्तुत संविधान संशोधनको प्रस्ताव फेल हुने आशयको समाचार लगातार प्रकाशन र प्रशारण गरेपछि  त्यसलाई चिर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रस्तावमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि उक्त प्रस्तावमा आफूहरुको पूर्ण समर्थन रहेको व्यहोरा उल्लेख गर्दै वक्तव्य जारी गरेका छन् । सांसद गगन थापा निशान छाप संशोधनको प्रस्तावमा समर्थन गर्दै वक्तव्य निकालेर ट्वीट गर्नेमा पर्दछन् । यतिले पनि नपुगेपछि बिहीबार दिउँसो काँग्रेसले पत्रकार सम्मेलन गरेरै समर्थन रहेको बताउँदै पर्सि शनिबार दिउँसो केन्द्रीय समितिको बैठक आह्वान गरिसकेको छ ।

सम्भवतः आईतबार संसदमा उक्त प्रस्ताव टेबुल गर्ने र फटाफट प्रक्रिया अघि बढाउन संसदलाई अनुरोध गर्ने सरकारको योजना छ । संशोधन प्रस्ताव टेबुल गरेपछि भोलिपल्ट सोमबारको राजपत्रमा सूचना प्रकाशित हुनेछ । त्यसपछि औपचारिक रुपमा सबै नागरिकलाई उक्त प्रस्तावबारे जानकारी हुनेछ ।

यसबीचमा अन्य राजनीतिक दलले पनि प्रस्तावमा समर्थन गर्नेगरी छलफललाई अघि बढाइएको बुझिएको छ । ढिलोमा यो महिनाभित्र निशान छाप नयाँ नक्साबमोजिम दुई तिहाईले होइन ‘सर्वसम्मत’ बाट संशोधन हुनेमा सरकार ढुक्क देखिन्छ ।

टिप्पणीहरू