भिडियोमा देखिएका गौतमले कहिले दिन्छन् पैसा ?

भिडियोमा देखिएका गौतमले कहिले दिन्छन् पैसा ?

नाम एक, काम अनेक । काभ्रे धुलिखेल–११ पातलेखेत धामीगाउँका रामबहादुर गौतम भिडियोमार्फत सार्वजनिक भए पनि सहकारीका सदस्यहरू रकम फिर्ता हुने विश्वासमा छैनन् । ०५२ सालसम्म सामान्य कृषक गौतमको अस्वाभाविक सम्पत्तिका कारण सर्वसाधारण त चकित छन् नै यतातिर सरकारी निकाय पनि मौन छन् । सम्पत्ति शुद्धिकरणलगायत कार्यालय गौतमको अस्वाभाविक सम्पत्ति छानबिनमा चुपचाप छन् ।

गौतम श्री सहकारीमा बचत गर्नेहरू पनि संकटमा छन् । धेरै ब्याज आउने प्रलोभनमा बैंकलाई भन्दा सहकारीलाई विश्वास गरेका सर्वसाधारण सहकारी सञ्चालक फरार भएलगत्तै तनावमा थिए । राजनीतिक पहुँचमा रहेका गौतमले सुरक्षित रहन भिडियो सन्देश सार्वजनिक गरेका छन् । माओवादी नेता पुष्पकमल दाहाल, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमुख्य सचिव लीलामणि पौडेललगायत माओवादीका शीर्ष नेताहरू गौतमका सहयोगी हुन् । व्यावसायिक साझेदारसमेत रहेका कारण उनीसँगका धेरै व्यक्ति खुल्न चाहेका छैनन् ।

गौतम फरार भएलगत्तै पातलेखेतस्थित गाई फार्म सिल गरिएको छ । भएका गाईहरू बिक्री गर्न रोक लगाइएको छ भने सम्पत्ति बिक्री–वितरणका लागि रोक्का राखिएको छ । पातलेखेतमा ५० रोपनी जमिन जोडेका गौतमले जिल्लाका अन्य क्षेत्रमा पनि जग्गा खरिद गरेका छन् । सहकारीबाट ऋण लिएर जग्गा लिलामीमा परेका तिलक तामाङलगायतले गौतमले सहकारीको भन्दा चर्काे ब्याज लिएकाले संकटमा परेको बताएका थिए ।

उनले ६ लाख लिँदा १६ रोपनी जग्गा लिलामीमा परेको थियो । ऋण लिएकामध्ये केहीले स्वेच्छामा जमिन बिक्री गरेको बताएका छन् । पातलखेतका रामशरण बडालले दाइहरूले लिएको ऋणमा जग्गा बिक्री भए पनि आफूले गौतम ओभरसिजसँग चलन चल्तीको मूल्यमा खरिद गरेको बताए । आफ्नो जग्गा आफैँ खरिद गरेका बडालले पारिवारिक विषयमा धेरै नबोल्ने बताए ।

गाई फार्ममा बिजुली चोरी बालेका गौतमविरुद्ध मुद्दा चलाउनुपर्ने भए पनि काम गर्ने कर्मचारीलाई नै उल्टै मुद्दा चलाइएको थियो । त्यतिबेला लाइन काट्न गएका विद्युत् प्राधिकरणका कर्मचारीलाई फार्मभित्रै राखेर भौतिक आक्रमण गरिएको थियो । पक्राउ परेकाहरूलाई छुटाउन तत्कालीन जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका सुब्बा चिरञ्जीवी पोखरेल र सरकारी वकिल कार्यालयमा कार्यरत एक कर्मचारीले १० लाख रकम घुसबापत लिएका थिए ।

पैसा मतलब नगर्ने गौतम सहकारीको अर्बाैं रकम हिनामिना गरेर फरार भएपछि जिल्लास्थित साना बचतकर्ताको पनि होस् उडेको छ । १५ करोडसम्म बचत गरेको बताउँदै आएकाले तत्काल रकम फिर्ताको माग गरेका छन् । उनले सहकारीलाई पारिवारिक बनाएका थिए । त्यति हुँदा पनि सहकारी विभाग आँखा चिम्लिएर बसेको थियो । शक्ति र पहुँचका आधारमा अनुगमन र कारबाही गर्ने सरकारी संयन्त्रकै कारण गौतमको मनोबल बढिरहेको थियो ।

काठमाडौँका जनक बिष्टको ९ करोड जम्मा भएको थियो । पटक–पटक रकम फर्काउन माग गर्दै उनको परिवार सहकारीमा पुगे पनि रकम फिर्ता हुन सकेको छैन । पातलेखेतमा मात्रै १ सयभन्दा धेरै ब्यक्तिको रकम फर्काउन बाँकी छ । त्यति धेरै रकम जम्मा गरेका गौतमलाई भाग्ने आँट कसरी आयो ? वा फर्कने सूत्रधार को बन्यो ? बचतकर्ताको ब्याज छुट दिन अनुनय विनय गरेका गौतमले कहाँ डुबाए रकम ? छानबिनबाट केही आउने विश्वासमा बचतकर्ताहरू छन् ।

सम्पत्ति छानबिनको माग

रामबहादुर गौतमको सम्पत्ति छानबिन गर्न माग गरिएको छ । चीनबाट मेशिनरी सामान ल्याउँदा किलोका किलो सुन ल्याउने गरेका गौतम एकाएक धनी भएसँगै चर्चा शुरु भएको हो । माओवादी सशस्त्र युद्धताका श्रोत नखुलेको रकम पनि उनैसँग भएको चर्चा छ । शान्ति प्रक्रियामा आएलगत्तै माओवादी नेताहरूको संलग्नतामा उनले सुनलगायत अन्य अवैध कार्य गरेको बताइन्छ ।

 

टिप्पणीहरू