आफ्नै कार्यकर्तालाई छाम्दै मन्त्री बडू

आफ्नै कार्यकर्तालाई छाम्दै मन्त्री बडू

स्थानीय तह निर्वाचनमा दार्चुलाबाट ‘क्लिन स्विप’ भएको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सशक्त बनाउन गृहकार्य थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गृह जिल्ला दार्चुला पुगेर नेता–कार्यकर्ताहरूलाई छाम्न थालेका छन् ।

स्थानीय तह निर्वाचन निम्ति नौवटै स्थानीय तहमा माओवादी केन्द्रसँग दरिलो गठबन्धन गरे पनि कांग्रेसका लागि परिणाम लज्जास्पद निस्केको थियो । तालमेलअनुसार मतदान भइदिएको भए दार्चुलामा एमालेको अवस्था माओवादीको भन्दा पनि कमजोर हुने आकलन थियो ।

तर, भइदियो उल्टो । कांग्रेसभित्रको असन्तुष्टि र असहयोगले ५ स्थानीय तहको नेतृत्वसहित बहुमत पदमा उम्मेदवारी दिएका कांग्रेसका अधिकांश उम्मेदवारले पराजय भोगे ।

स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तै दार्चुलाबाट जेठ संक्रान्तिको एकाबिहानै मन्त्री बडू सुटुक्क काठमाडौं फर्किएका थिए । स्थानीय चुनावपछि साउन २० गते मात्रै गृहजिल्ला पुगेका छन् ।

मन्त्री बडूको प्रमुख आतिथ्यतामा साउन २१ र २२ गते सदरमुकाममा कांग्रेसको पहिलो जिल्ला सम्मेलन सञ्चालन गरिएको छ । जसमा जिल्लाभरबाट झण्डै ३ सय नेता–कार्यकर्ता सहभागी भएका छन् ।

सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका आकांक्षी २१ जना नेताबीच लिखित साझा प्रतिबद्धता गराइएको एक जिल्ला नेताले बताए । ४ स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका कारण सुदूरपश्चिम प्रदेशभरिमै सबैभन्दा राम्रो नतिजा दार्चुलामा प्राप्त भएको माओवादी नेताहरू बताउँछन् ।

टिप्पणीहरू