बाबुरामको समाजवाद

बाबुराम भट्टराई फेरि पार्टी विभाजन गरी नयाँ पार्टी गठनतिर लाग्नुभएको छ । उहाँले नयाँ खोल्नुभएको पार्टी नै नयाँ खालको छ, समाजवादी पार्टी । समाजवादी पार्टी त बन्यो ।
तर यो कांग्रेसवाला समाजवादी हो कि कम्युनिष्टवाला समाजवादी हो अझै पत्ता लागेको छैन । वा भनौँ, डा. बाबुराम भट्टराईले जन्माउनुभएको समाजवादी वास्तवमा छोरा हो कि छोरी हो, लिंग पत्ता लगाउन सकिएको छैन । लिंग पहिचान भएपछि मात्रै उहाँको समाजवाद कस्तो हो भन्न सकिएला ।
तै पनि धन्य भन्नुपर्छ, बाबुरामसँग अझै पनि पार्टी विभाजन हुन पुग्नेसम्मका सदस्यहरू बाँकी रहेछन् । होइन भने त उहाँले पार्टी विभाजन गर्ने भन्नुभएपछि मलाई लागेको थियो— विभाजन कसरी गर्ने ? पार्टी विभाजन गर्न विभाजनको लागि चाहिने जति कार्यकर्ता पनि त हुनुप¥यो नि !
कार्यकर्तै छैन भने विभाजन कसरी गर्ने ? तर बाबुरामले त्यो पनि गरिदिनुभयो । उहाँले अरु नभए पनि कमसेकम विभाजनको लागि चाहिने जति कार्यकर्ता त जम्मा पारिसक्नुभएको रहेछ । सफल विभाजनको लागि धन्यवाद ।
टिप्पणीहरू