साउदीमा देखिने नेपाली युवाको सपना

साउदीमा देखिने नेपाली युवाको सपना

– संगम डिसी

रियाद अर्थात् अरबी प्रायद्वीपको एउटा विशाल चौतारी । मक्का र मदिनाजस्ता पवित्र धार्मिक–भूमि । मस्जिद दर्शनका लागि वर्षेनी लाखौं पर्यटक आउँछन् । उत्तिकै मात्रामा भित्रिन्छन्, नेपाली, बंगाली, पाकिस्तानी र भारतीय कामदार । यो संसारलाई इन्धन बेच्ने ‘तातो–संसार’ सामु बाँचिरहेका प्रवासीको कहालीलाग्दो अर्को कथा हो । उराठलाग्दो मरूभूमि ।

बेगमा बगिरहेको तातो हावा । खाडीमा हिँडिरहेका ती पर्यटक नभई कामदार हुन् । दिनरात नभनी काम गर्छन् । हैरान हुन्छन्, सुत्छन्, एकैछिन आँखा चिम्लिन्छन्, थकाइ मेट्छन् अनि जुरुक्क उठेर काममा दौडिन्छन् । मरूभूमिदेखि समुन्द्रसम्म फैलिएका छन् नेपाली मजदुर । बुबा–आमा–श्रीमतीको रहर पूरा गर्न आफ्नै कर्ममा लाग्न विवश छन् ।

गरिबीको भुमरीभित्र हराएपछि जानी–नजानी खाडीमा बेचिन बाध्य छन्, युवा जमात । परिबन्दको कथा, खाडीको कथा, परिवारबाट टाढिएको कथा अनि पीडै–पीडाको गहकिलो व्यथा । मध्यपूर्वको रियादले दक्षिण एसियाको हरियाली देखाइरहेको छ । बाहिर चर्को घाम छ, भित्र शीतलता । मुढो झैँ सुतेको थकित शरीर । विद्याको समय हिजोआज किन–किन घुम्न मन लाग्दैन । कोठाभित्रै बस्यो । परिवारसँग सामाजिक सञ्जालमार्फत् रम्यो । साथी–भाइसँग गफियो ।

यहाँ यस्तै छ– परदेशीको कथा । साउदीको दैनिकी । एकान्तकुनाको बसाइमा गाउँ–घरको गहिरो याद । लेकबाट वर्सिरहेको बर्खे–झरी । सेताम्य छाल उराल्दै दौडिरहेको गोठी–खोलो । चारैतिर हरियाली बाह्रजथाक । गाईवस्तु खेलिरहेको निपाने पाटन । तीतेधुरीको थुम्कोमा भागिरहेको कुहिरो अनि चारैतिरबाट घेरिएको सिद्धपुज्ने डाँडो । आहा ! यी दृश्य आँखाभित्र राखेपनि बिझाउँदैनन् । बरू दिन्छन्, आनन्द । भुलाउँछन् खाडीका पीडा । एकैछिन भए पनि पु¥याउँछन् नाउली अर्थात् जन्मभूमि । जन्मेदेखि मुग्लान लाग्नुअघिसम्मको एउटा ‘तस्बिर’ गाउँमै थन्किएको छ ।बाल्यकालका हितैषीहरू छरिएका छन् । कोही घरमा छन् त कोही शहर र कोही परदेशमा । यो मरूभूमिबाट देखिएको सपनाको कथा हो । जहाँबाट देश–दुनियाँ, गाउँ–समाज र घर–परिवार देखिएको छ । खाडीलाई नेपाली युवाले जवानी दिएका छन् । खाडीले पनि जसोतसो बाँच्ने आधार दिएको छ । हरेक महिना साउदी अरबको चर्को घामले परिवारमा शीतलता थपेको छ । बाढी–पहिरो छलेको छ ।

पहाडी भेगमा बर्खा लाग्दा मेरो मनमा भेल बग्छ । खामे–धुरीको पहाडै–पहाड कुदिरहेको अँध्यारो हुस्सुले उज्यालो बत्ती बाल्छ । देवभूमि सुकिदहको बगैँचामा स्याउ र आलु देखिन्छन् । गाई–बाख्रा दौडाउँदै हिँड्ने गोरेटोमा हिजोआज मोटर चल्छन् । डर लाग्ने जंगलमा बस्ती छ तर उस्तै छन्, पीडा । त्यसैगरी उस्तै छन्, पहाडका कथा ।

खाडीबाट फर्केर हेर्दा : गाउँ–घर नै रमाइलो लाग्छ । क्षणभरमै उडेर पुग्न मन छ । तर यो कल्पना मात्रै हो । मरूभूमिको देशमा कामको चटारो छ । सकी–नसकी ‘ड्युटी’मा जानैपर्छ । प्यास र थकानको शब्द नै भेटिँदैन । अरबको उखरमाउलो गर्मीले फ्रिजको चिसो पानी पिउँदा पनि प्यास मेट्न सक्तैन । बस्, मुख मात्रै शीतल पार्छ । कहिलेकाहीँ नेपाली फिल्म हेर्न र पुस्तक पढ्न जाँगर चल्छ । आमा, श्रीमती, दिदी–बहिनी र छोरीसँग बोलिरहन मन लाग्छ । तर समय मिल्दैन । बाल्यकालका साथी–भाइको पलपल सम्झना आइरहेको छ । एकदिन अवश्य भेट्ने छु । पक्कै भेट्ने छु । गाउँमै अँगाल्नेछु ।

कुनै बेला छुट्टी मनाउन मरूभूमिदेखि समुन्द्रसम्म पुगेँ । डुल्नु र रमाउनु सबै कुराजस्तो लाग्थ्यो । एक समय– ठूलो मेहनत गरेर जम्मा गरेको सानो पैसा घुमेरै सकिन्थ्यो । अहिले हिँडडुल गर्न मन लाग्दैन । साथीहरू भेटिन्छन् तर कोठाभित्रै । नेपाली समाजको बिग्रिँदो लयबारे प्रवासबाट समीक्षा गर्छौं । चिन्तन, मनन र टिप्पणी गर्छौं । देश फर्केपछिको बाँकी सपनाबारे कल्पिन्छौं । र, परदेशको तातो बालुवाभित्रबाट नेपालका लागि चिसो कहानी रचिरहेका छौं ।

टिप्पणीहरू