भूपू सुरक्षाकर्मी चुप लाग्नु झन् महाभूल

भूपू सुरक्षाकर्मी चुप लाग्नु झन् महाभूल

– हेमशंकर गिरी

विश्वमा मानव सभ्यताको विकासपछि शुरूमै अस्तित्वमा आएको १७/१८ वटा मुलुकमध्ये नेपाल पनि एउटा हो । त्यतिबेला अहिले महाशक्ति भनिएको मुलुक अमेरिका र भारतसमेत अस्तित्वमा थिएनन् । हिमवत्खण्ड, ऋषिमुनीहरूको तपोभूमि, भगवान् पशुपतिनाथको देश, विश्वको उच्च शिखर सगरमाथाको देश, भगवान् बुद्ध, राजा जनक, सीता, अरनिको र भृकुटीको जन्म भएको देश, वैदिक सनातन वेद शास्त्रहरूको रचना भई त्यही वेदबाट आधुनिक विज्ञानको चमत्कार गर्न संसारलाई प्रेरणा मिलाइदिने देश, त्यसैगरी शुरूवाती अस्तित्वदेखि इतिहासमै कहिल्यै पराधीन नभएको गौरवमय परिचय भएको सुन्दर र स्वर्गभूमि नेपाल वि.सं २०७९ मा आइपुग्दा अस्तित्व बचाउको लडाइँमा छ ।

विभिन्न वंशले राज्य गर्दै आए पनि तिनका विभिन्न शासकले समेत यो मुलुकको चीरहरण हुन दिएका थिएनन् । पृथ्वीनारायण शाह जन्मिएको समय हाराहारीमै पश्चिमाहरूले नेपालमाथि आँखा नगाडेका भने होइनन् । ००४ सालभन्दा अगाडि भारतलाई उपनिवेश बनाई शासन गरिरहेका अंग्रेजहरूबाटै पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको विशाल भूमिलाई वर्तमान नक्शामा खुम्च्याइए पनि बाँकी भूमिसहितको नेपाल जोगाउन र हामीलाई नेपाली बनाइराख्न हजारौं पुर्खाले रगत बगाउँदै बलिदान दिएको इतिहास ताजै छ । ००४ सालपछि स्वतन्त्र मुलुकको रूपमा उदाएको छिमेकी मुलुक भारतका शासकले पनि अंग्रेजकै पथ पछ्याउँदै उनै पश्चिमासँग मिसिएर हाम्रो स्वतन्त्रता र सार्वभौमिकतामाथि थिचोमिचो गर्दै गर्दाको परिणाम ००७ साल, ०३६ साल, ०४६ साल, ०५२ साल फागुन १ र ०६२/६३ निम्तिएको थियो ।

भित्री आँखाले देश हेर्न सक्दैनन्, कान छ तर मातृभूमिकाे चित्कार सुन्न सक्दैनन् र मुख छ तर सत्य कुरा बाेल्नसमेत सक्दैनन् ।

अग्राखको रूखलाई चिरकालसम्म मक्किन र कुहिन नदिन भित्री भागमा रातो चुरो हुने गरेजस्तै कुनै पनि मुलुकको अस्तित्व रक्षा, सार्वभौमिकता, स्वाधीनता, अखण्डता र सीमा बचाउने अग्राखरूपी रूख मुख्य रूपमा सेना नै हो । त्यसपछि क्रमशः निजामती र प्रहरी संगठन आउँछन् । जनताले युगानुकूल परिवर्तन र विकास चाहनु अनि आफैँ शासक बन्दै नागरिक सर्वाेच्चता कायम हुनु आफैँमा नराम्रो होइन ।

तर, यसैको नाममा दिनानुदिन राष्ट्रघाती कदम अगाडि बढ्दै जाँदा सेना, प्रहरी र स्थायी सरकाररुपी निजामती मुकदर्शक हुनु बिडम्बना र दुर्भाग्यको विषय हो । जन्म दिने आमाभन्दा मातृभूमि ठूलो हो भन्ने कुरा नै बिर्सेर विदेशीको षड्यन्त्र, रणनीतिक स्वार्थ र आडभरोसामा जबर्जस्ती सत्तासीन हुन पुगेका हाम्रा राजनीतिक दल, नेता तथा गठबन्धनले ०४६ सालदेखि ०७९ सालसम्म आइपुग्दा करिब ८२ वटा राष्ट्रघात गरिसकेका छन् । त्यसको तिथिमिति र प्रमाण लेख्दा लामो हुन्छ ।

यहाँसम्म आइपुग्दा परिवर्तनको नाममा न आफ्नो भन्ने उद्योग, कलकारखाना बाँकी रहे, न कृषियोग्य भूमि, न त शिक्षाको मेरूदण्ड निर्माण गर्ने इतिहास बोकेको ज्येष्ठ विश्वविद्यालय र कृषि उत्पादनको आधारस्तम्भरुपी कृषि विश्वविद्यालय नै बाँकी राख्दै छन् । ०५१ सालसम्म खाद्यान्न तथा अन्य थुप्रै उपभोग्य वस्तु निर्यात हुन्थ्यो । अहिले आएर नेपालमै उत्पादित खाद्यान्नले २ महिना पनि पुग्दैन र देश पूर्णरूपमा आयातमुखी भइसकेको छ । न त नदीनाला, प्राकृतिक स्रोतसाधन र वनजंगल नै हाम्रो अधीनमा छन् । खै हाम्रो संस्कृति र सभ्यतासँग सम्बन्ध भएको भाषा, धर्म, संस्कृति र मौलिक पहिचान ? धर्महीन संस्कृतिविमुख र असभ्य बनाएपछि न नेपाली माटोको विचार र दर्शन बाँकी रहे, न नेपालले बोक्दै आएको विश्ववन्धुत्वको दर्शन नै बाँकी राखे, न त राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनता बाँकी रहनेवाला छ !

अनेकतामा एकता रहेको समाजलाई बहुसंख्यक र अल्पसंख्यकमा विभाजन गर्ने, समानताभन्दा अधीनस्थतामा विश्वास गर्ने, एकीकरण, एकता र अखण्डतालाई भन्दा कलह र विभाजनलाई मलजल गर्ने, पुर्खाको बलिदान, स्वाभिमान र गौरवपूर्ण इतिहासलाई सत्तोसराप गर्ने, चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा, राष्ट्रिय पहिचान र चिह्नमाथि सौदाबाजी गर्ने, राष्ट्रनिर्माताहरूको योगदानलाई अपव्याख्या गर्ने, राष्ट्रिय एकता दिवससमेत खारेज गर्ने तर यो देश निर्माणमा कुनै योगदान नभएका महात्मा गान्धी, लेनिन, स्टालिन र माओहरूका तस्बिरहरू देशैभरि टाँगेर र सजाएर सर्वत्र पुज्दै विदेशी भूमिमा विदेशीले दिएको तालिम, हतियार र रासनपानीसहित नेपाल र नेपाली जनतामाथि धावा बोल्ने, आफ्नै टाउकामा गोली र बम बर्साउनेलाई नचिनेर हो कि, मातृभूमिको माटोलाई बिर्सेर हो कि अर्थात् विवेक गुमाएर हो उल्टै कडा सुरक्षा दिँदै सलामी र गुलामी गरिरहेको देख्दा सेना, प्रहरी र निजामतीप्रति देशभक्त नेपालीको विश्वास टुटेको छ ।

आज मुलुकमा न न्यायकर्मी, निजामती, कर्मचारी, डाक्टर, इञ्जिनियर, प्राध्यापक, शिक्षक र विद्यार्थी साझा छन् । कुनैपनि दलको सदस्य नभएको नागरिक पनि कमै छन् । यसरी सदस्य नबने राज्यबाट पाउने न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ । हिजो राजतन्त्रकालमा राजा महाराजाहरूकै छत्रछायाँ र आशीर्वादमा हुर्केर पदमा पुगेका सम्पन्नशाली उनै राजा–महाराजाहरूले खाएर थालमै छाडेको जुठो खान तँछाड मछाड गर्ने भूपू तथा बहालवाला सेना तथा प्रहरीका उच्चपदस्थहरू उनै देशद्रोहीले देखाएको पद, प्रतिष्ठा र अवसरमा भुलेका छन् । भित्री आँखाले देश हेर्न सक्दैनन्, कान छ तर मातृभूमिको चित्कार सुन्न सक्दैनन् र मुख छ तर सत्य कुरा बोल्नसमेत सक्दैनन् । छिमेकी मुलुकका सेनापतिले नेपाली भूमिलाई आफ्नो हो भन्दै हाम्रो लिपुलेक लिम्पियाधुरामा बाटो खन्न आउँछन् तर हाम्रा न बहालवाला, न त भूपू कोही पनि बोल्दैनन् यो पनि ठूलो विडम्बना र दुःखद अवस्था हो ।

राष्ट्रहितविपरीत काम हुँदा सेना, प्रहरी र सबै राष्ट्रसेवक मिलेर मुलुक बचाएको प्रशस्त उदाहरण अन्यत्र देख्न र बुझ्न नसक्नु पनि यो मुलुकको अर्काे बिडम्वना हो । मुुलुकभित्र अन्योल र अस्थिरता देखेर, आफ्नै भविष्य नदेखेर अवसरको खेजी गर्दै साठी लाखभन्दा बढी दक्ष जनशक्तिसहित वृद्ध बाबु–आमा र भर्खर भिœयाएको श्रीमती छाडी बिदेसिन बाध्य छन् । विदेशमा पसिना बगाउनेहरूले पठाएको रेमिट्यान्सबाट मुलुक जेनतेन चलेको छ । नेता, कर्मचारी र सुरक्षा निकायका उच्चपदस्थहरू अकुत सम्पत्ति कमाउने र त्यो पैसा आफ्ना छोराछोरीलाई विदेशतिर बोकाएर पठाउने क्रम पनि बढ्दो छ । नेपाल निकट भविष्यमै मित्रराष्ट्र श्रीलंका र युक्रेनको बाटोमा जाने भविष्यवाणीसमेत गर्दै छन् विश्लेषक तथा बुद्धिजीवीहरू । तैपनि, त्यतातिर कुनै निकायको कानमा बतास नलाग्नुले झन् अन्योल छाएको छ ।

(लेखक पूर्वसुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता हुन् ।)

टिप्पणीहरू