पैसा निकाल्न खातावालाले गरे बैंक कब्जा

पैसा निकाल्न खातावालाले गरे बैंक कब्जा

लेबनानको बेरुतमा बैंकमा राखेको पैसा निकाल्न नपाएको झोँकमा एक बन्दुकधारीले बैंकलाई छ घण्टा कब्जामा लिएका छन् । ठूलो आर्थिक संकटबाट गुज्रिरहेको लेबनानले बैंकका बचतकर्तालाई खाताबाट पैसा झिक्न कडाइ गरेपछि उनले बैंक कब्जा गरेका हुन् ।

बन्दुकधारीले बैंकभित्र पेट्रोल छर्कंदै आफूले अस्पताललाई तिनुपर्ने भएकाले आवश्यक पैसा निकाल्ने माग गरेका थिए । उनका परिवारका केही सदस्य अस्पतालमा रहेको समाचारमा उल्लेख छ ।

एएफपीका अनुसार उनको उक्त कार्यलाई लेबनानीहरूले समर्थन गर्दै बैंक बाहिर जम्मा भएर बन्दुकधारीको पक्षमा नारा लगाएका छन् । लेबनानमा बैंकबाट धेरै रकम झिक्न कडाइ गरिएको छ ।

बन्दुकधारीसँग सुरक्षा निकायका वार्ताकारहरूले खाताबाट ३५ हजार अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि उक्त प्रकरण टुंगिएको एलबीसी टिभीले जनाएको छ । बन्दुकधारीको खातामा दुई लाख १० हजार अमेरिकी डलर देखिन्छ । अस्पतालको बिल तिर्न पाँच हजार पाँच सय डलर आवश्यक देखिएको थियो ।

समाचार स्रोत : बीबीसी, फोटो स्रोतः रोयटर्स

टिप्पणीहरू