मिटरब्याजी निर्मूल पार्न कार्यदल गठन

मिटरब्याजी निर्मूल पार्न कार्यदल गठन

सरकारले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । आज गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गर्नुभएको बताइएको छ ।

कार्यदलका सदस्यमा नेपाल नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेललाई राखिएको छ ।

यस्तै नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहट्टा पनि कार्यदलका सदस्य हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायतसँग छलफल गरेर मिटरब्याज अपराधीहरूलाई कानुनी कारबाही गर्न निर्देशन दिनुभएको थियो ।

त्यसलगतै गृहमन्त्रीले कार्यदल गठन गर्नुभएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू