शाही घोषणा ड्राफ्ट गर्ने को हो सक्कली ? « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

शाही घोषणा ड्राफ्ट गर्ने को हो सक्कली ?

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार २१:३०


‘ज्ञानेन्द्र शाहले पढेको वक्तव्य बल्खूको रुखमुनि बसेर मैले ड्राफ्ट गरेको हुँ’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबीको वास्तविकता जनआस्थाले फेला पारेको छ । उहाँले बोलेभन्दा विपरित थियो, ०६३ वैशाख ११ को परिदृश्य ।

०६२/६३ को जनआन्दोलनको बलमा संसद पुनस्र्थापना भई ‘जनताको नासो जनतालाई नै फिर्ता’ गर्ने तत्कालिन राजा ज्ञानेन्द्र शाहको उक्त संबोधनसँग बरु अहिले ओलीसँगै रहनुभएका उपाध्यक्ष विष्णु पौडेलको साइनो थियो, तर ओलीको भूमिका रत्ति पनि थिएन । स्रोतका अनुसार, एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाई भेट्न राजाका प्रमुख निजी सचिव पशुपतिभक्त महर्जन त्यसदिन बिहान भरतमोहन अधिकारीको निवासमा पुगेका थिए ।

माधवसँग पशुपतिभक्तको प्रश्न रह्यो, ‘अब के गर्दा ठीक होला त हजुर ?’ माधवले भन्नुभयो, ‘संसदको पुनस्र्थापना नै हो । योभन्दा अर्को कुनै उपायले आन्दोलन मत्थर हुनेवाला छैन । यदि त्यसो नगर्ने हो भने आज साँझ पाँँच लाख जनताले नारायणहिटी घेर्दैछन् । बल प्रयोग भयो भने रक्तपात हुन्छ । जनता मर्न तयार छन्, तर शाही शासन सहन्नन् ।’

कुरा सुनेर पशुपतिभक्त एकछिन घोत्लिए । अनि, सोधे, ‘रेस्टोरेशन (संसद पुनस्र्थापना) भ्यालिड (वैधानिक) हुन्छ त ?’ फेरि माधवले भन्नुभयो, ‘राजालाई चाहिएजतिका सबै कुरा वैधानिक हुने, जनतालाई चाहिएका कुरा गर्दा अवैधानिक भन्ने हो भने कतैबाट मिल्दैन । स्थिति मुठभेडतिर जान्छ । राजालाई सोध्नुस्, मुठभेड गर्ने कि रेस्टोरेशनमा जाने ?’ भद्रताका साथ पशुपतिभक्तले भने, ‘म यो कुरा सरकारलाई बिन्ती गर्छु !’

यति कुराकानी भएपछि पशुपतिभक्तले माधवका स्वकीय सचिव यादवचन्द्र शर्मा (हाल बागमती प्रदेश प्रमुख) सँग फ्याक्स नम्बर मागे । उनी हिँडेपछि माधव, झलनाथ बसेर तयार पारिएको ड्राफ्टलाई विष्णु पौडेलले कम्प्युटरमा टाइप गर्नुभयो । अनि, माधवले गिरिजाप्रसाद कोइरालालाई सुनाउनुभयो । गिरिजाले सबै सुनेपछि ‘ओके, गो अहेड’ भनेर फोन राख्नुभयो । यही कुरा आन्दोलनरत सातदलीय गठबन्धनका अरु नेतासहित दिल्लीमा रहेका प्रचण्डसम्मलाई सुनाउनुपर्ने थियो । ती काम माधवले गर्नुभयो । यतिबेलासम्म अबेर भइसकेको थियो । साँझ पशुपतिभक्तले फोन गरे, यादवचन्द्रलाई ।

त्यसपछि उक्त ड्राफ्टलाई पशुपतिभक्तले दिएको फ्याक्स नम्बरमा हालियो । केही समयपछि खबर आयो, ‘सरकार (राजा) बाट ठीक भन्ने हुकुम बक्सेको छ, यसमा हाम्रो (दरबारको) फम्र्याट हालेर संबोधन बक्सन्छ ।’ जवाफमा माधवले ‘ल, हेरौँ न त’ भन्नुभयो । साँझ नेपाल टेलिभिजनबाट सोही ड्राफ्टका आधारमा राजा ज्ञानेन्द्रको संबोधन आयो । यी सबै प्रकरणमा रुखको मात्र हैन केपी ओलीकै समेत छायाँको अत्तोपत्तो थिएन ।

बरु, उहाँ त जनआन्दोलन गर्ने, गणतन्त्रको एजेण्डा बोक्नेजस्ता काम नै गलत भएको भनी अन्तर्वार्ता दिन र भाषण गर्नैमा व्यस्त हुनुहुन्थ्यो । माओवादी अध्यक्ष प्रचण्डले पनि भर्खरै जापान पुगेर त्यहाँ हालै मारिएका पूर्वप्रधानमन्त्री सिञ्जो आबे नेपाल आएको र आफूले २–३ चोटी भेटेको झूठो दाबी गर्नुभयो । यसमा दुनियाँ हाँसे । यसरी नेपालका नेताहरू ठाउँ र परिस्थितिअनुसार जे मन लाग्यो बोलेर आफ्नो उचाई घटाउने काम गर्दै रहेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस !