गाईजात्रे विवाद

गाईजात्रे विवाद

यो वर्ष नेपाली क्यालेण्डरमा गाईजात्राको तिथि विवाद आएको रहेछ । पञ्चांग समितिले गाईजात्रा र जनैपूर्णे एकै दिन पर्ने तिथि निकालेपछि यो विवाद उत्पन्न भएको छ ।

त्यसैले धर्मावलम्बीहरू अन्योलमा छन् । गाईजात्रा र जनैपूर्णे एकै दिन मनाउने कि छुट्टाछुट्टै मनाउने ? कोही भन्छन्, अब गाईजात्रा शनिवार मनाउनु पर्छ । कोही भन्छन्, शुक्रवार मनाउनु पर्छ । धर्मभिरुहरूको विवाद चुलिँदो छ ।

वास्तवमा यो विवाद गरिरहनुपर्ने विषय नै होइन । नेपालजस्तो देशमा गाईजात्रा जस्तो पर्व कहिले मनाउने भनेर किन विवाद गर्ने ? यो त जहिले मनाए पनि हुन्छ । नेपालमा गाईजात्रा सधैँ मनाइरहेको छ ।

त्यसैले तपाईंलाई इच्छा लाग्छ भने सधैँ मनाए हुन्छ । एक दिन मनाए पनि हुन्छ, दुई दिन मनाए पनि हुन्छ । मन लाग्छ भने गाईजात्राकै सप्ताह लगाए पनि हुन्छ । गाईजात्रा मनाउन हाम्रोमा तिथि निकालिरहनु पर्दैन । बाह्रै महिना गाईजात्रा हो ।

देशमा सधैँ मनाइरहेको गाईजात्रा जस्तो पर्व मनाउन पनि शुक्रवार कि शनिवार भनेर पर्खिनु पर्छ ? गाईजात्रा त हाम्रो सदावहार पर्व हो । जुन बेला मनाए पनि हुन्छ । मनाउनुस् । गाईजात्राको मंगलमय शुभकामना !

टिप्पणीहरू