बाँच्नुको औचित्यबारे सुसाइड नोट लेख्दै कम्युनिस्ट नेताद्वारा आत्महत्या « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

बाँच्नुको औचित्यबारे सुसाइड नोट लेख्दै कम्युनिस्ट नेताद्वारा आत्महत्या

प्रकाशित मिति :  २६ श्रावण २०७९, बिहीबार १७:२०


दुर्गम बस्तीमा रही कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र मकवानपुर जिल्लामा पहिलोपटक तामाङ समुदायका वकिल कल्याणविक्रम घलानले आत्महत्या गरेका छन् । ५२ बर्षीय घलान नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य थिए ।

थाहा नगरपालिका-७ मा बसोबास गर्दै शिक्षण पेशामा आबध्द रहेका घलानले अस्ति साउन २४ गते मङ्गलवार साँझ घर नजिकै लप्सीखोला जाने बाटोनेर गुराँशको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । केही महिनादेखि डिप्रेसनको औषधी सेवन गरिरहेका घलान कृषि कर्ममा पनि आबद्ध थिए । स्थानीय इन्द्रायणी माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकका रुपमा कार्यरत घलान साउन २४ गते विद्यालयमा आफ्नो ड्युटी सकाएर घर फर्कने क्रममा झुन्डिएका हुन् ।

उनले सुसाइड नोटमा बाँच्नुको औचित्य भन्दै दुई बुँदा लेखेको पाइएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं युवा नेता किरणमान बलले बताउनुभयो । बाँच्नुको औचित्य भन्दै घलानले सुसाइड नोटमा लेखेका छन्–‘यो देशमा सांसद र मन्त्री बन्नु,देश जनताको सेवा गर्नु र छोराछोरीको उन्नति र प्रगति हेर्नू ।’ यति लेखेर उनले आत्महत्या गरेको र राजनीति एवं पारिवारिक अवस्थाका कारण त्यस्तो बाटो रोज्नुपरेको चर्चा भएको छ ।

बाँच्नुको औचित्य भन्दै घलानले सुसाइड नोटमा लेखेका छन्–‘यो देशमा सांसद र मन्त्री बन्नु,देश जनताको सेवा गर्नु र छोराछोरीको उन्नति र प्रगति हेर्नू ।’

स्रोतका अनुसार कोरोनाकालमै घलानले आफ्नै जग्गामा बाख्रापालन शुरु गरेका थिए । बैँकसँग ऋण लिएर अनुदानसमेत पाइने आशामा बाख्रापालन शुरु भए पनि सोचेजस्तो सफलता मिलेन । यही बीचमा कान्छा छोरा कोरिया गए पनि स्वास्थ्य अवस्था कमजोर बनेपछि काम गर्न नसकेर फर्किए । जेठो छोरो परिवारसहित काठमाडौँमै बस्छन् । ‘साथीभाइसँग घर परिवार, आर्थिक अवस्था,राजनीतिक अवस्थालगायत सबै कुरा गर्दै जीवनदेखि दिक्दार लागेको पटक पटक सुनाउँदै आएका रहेछन्’, युवा नेता बलले भन्नुभयो–‘समाजवादीकै बागमती प्रदेश सदस्य रामचन्द्र बलले केही दिनअघि मात्रै काठमाडौँ लगेर उपचार गराई डिप्रेसनको औषधी समेत चलाएर घर फर्काएका रहेछन् ।’

त्रिभुवन विश्व विद्यालयबाट एमए, बीएड र एलएलबी पास गरेका घलान तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य थिए । नेकपा फुटेर पुनः एमाले र माओवादी बनेको र केपी ओलीले संसद विघटन गरेको घटनापछि उग्र रुपमा ओलीको आलोचक बनेका थिए । कानूनका विद्यार्थीले कानून मिचेको हेर्न सक्दैन भन्दै उनले स्थानीय स्तरमा संसद विघटनको बिरोध गर्दै समाजवादी रोजेका थिए ।

उनको पार्थिव शरीरमा आज बिहिबार हेटौँडा ४ स्थित कर्रातटमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे, उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने,स्थायी कमिटी सदस्य ललित बस्नेत,केन्द्रीय सदस्य मुनु सिग्देल,जिल्ला अध्यक्ष सूर्यचन्द्र न्यौपानेलगायतले श्रध्दाञ्जली अर्पण गर्नु भएको थियो । घलानको निधनले सिंगो मकवानपुरको तामाङ समुदाय र कम्युनिष्ट आन्दोलनले क्षति ब्यहोर्नुपरेको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !