सहकारी जोगाउन एमालेमा सल्लाह

सहकारी जोगाउन एमालेमा सल्लाह

हिसाबले भन्छ, ढुक्कसँग जित्ने ठाउँ जम्मा २१ छ । तर, बाहिर भन्नुपर्ने छ, ‘बहुमत हाम्रो आउँछ, सरकार पनि हाम्रै बन्छ ।’ आइतबार दिउँसो यस्तो दिक्दारी पोख्दै थिए, ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जम्मा भएका नेता–कार्यकर्ताले । उनीहरूको अर्को चिन्ता छ, ‘भएभरका सहकारी र वित्तीय संस्था डुब्ने र कार्यकर्तालाई डुबाउने भए ।’

देशभरिमा एमालेका नेता, कार्यकर्ता, र समर्थकको ठूलो पंक्ति सहकारी, सामुदायिक वन, गैरसरकारी संस्थामा जोडिएर पार्टी काममा लाग्ने गरेका छन् । अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामै १०–१५ अर्ब पुँजिगत सम्पत्ति भएका केही सहकारी समस्यामा पर्न लागेका छन् । त्यस्ता सहकारी त्यहाँ मात्रै १०–१२ वटा छन् ।

कुलेश्वरको गौतमश्री, ललितपुरको देउरालीजस्ता ठूला सहकारी बर्बाद भएपछि अरूलाई पनि थप समस्या पर्न नदिने उपाय खोज्दै त्यसदिन सहकारी विभाग प्रमुख तथा शाहीकालीन श्रममन्त्री कमल चौलागाईं, उपप्रमुखहरू निर्मल भट्टराई र अमृता सुब्बासहित पार्टी कार्यालयमा भेला भएका थिए । त्यसबेला कार्यालयमा उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेल पनि थिए ।

अर्कातिर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरू पालैपालो एमाले फर्किन थालेको हल्ला च्यासलमा व्यापक बनेको छ । कर्मचारी नेता तथा समाजवादीको पेशागत जिल्ला कमिटी अध्यक्ष भोलानाथ पोखरेल फर्किएपछि अब पूर्व सामान्य प्रशासन मन्त्री तथा उक्त पार्टीको मधेश प्रदेश इञ्चार्ज धर्मनाथप्रसाद साह पनि एक कार्यक्रमबीच एमालेमा फर्किन लागेको भनी एक नेताले कार्यकर्ताहरूलाई बताए । उनका अनुसार अर्का कर्मचारी नेता हरिकुमार श्रेष्ठ पनि यो टोलीमा छन् ।

स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ काठमाडौं महानगरपालिकाका कर्मचारी तथा पार्टीसम्बद्ध स्थानीय निकाय कर्मचारी संगठनका अध्यक्ष हुन् । उनले हालै श्रम मन्त्रालयले आवेदन माग गरेको वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि कोसिस गरेका थिए । तर, मन्त्रालयले प्रतिस्पर्धीमध्ये तीनजनाको सर्टलिष्ट बनाउँदा उनी फालिए । त्यही रिसमा पार्टी छोड्न लागेको एमालेका ती नेताले सुनाए ।

त्यस्तै, सम्मानित नेता झलनाथ खनालका भाञ्जेज्वाइँ दीपक सुवेदीले पनि पार्टी छाड्ने हल्ला छ । उनी दुग्ध विकास संस्थानका हाकिम हुन् । कृषि अनुसन्धान परिषद् (नार्क) का युनियन नेता कृष्णचन्द्र उप्रेती, शिशिरसहितका नेता पनि एमालेमा फर्किने चर्चा छ । एकीकृत समाजवादीका रामेछाप जिल्ला कमिटी अध्यक्ष तथा मन्थलीका निवर्तमान मेयर रमेश बस्नेत पनि एमाले फर्किने भनी भोलाले नाम टिपाएका छन् ।

यसरी कर्मचारीहरूले एमाले छाड्नेबारे १४ गते भक्तपुरमा सम्पन्न पेशागत महासंघको विस्तारित बैठकसम्म पनि गाइँगुइँ थिएन । २० गते केपी ओलीसँग हात मिलाउन पुगेका भोला पनि उक्त बैठकमा थिए ।

टिप्पणीहरू