नाम जासुस, काम छुसछुस

नाम जासुस, काम छुसछुस

फेरि अर्को भाँडभैलो चल्दैछ, गुप्तचरमा । किन चाहियो ? कुनै तर्क छैन, तर एउटा एआइजीको दरबन्दी नथपी नहुने चटारो छ । सरकारको नीति तथा कार्यक्रमले मितव्ययिता अपनाउनका लागि १० प्रतिशत दरबन्दी कटौती गर्ने भनिसकेपछि पनि राष्ट्रिय अनुसन्धान विभागतर्फ भने दरबन्दी थप्ने खेलो मौलाएको हो । यस्तो भएपछि प्रहरी र सशस्त्रले पनि एआइजीसहितका दरबन्दी माग गरिसकेको छ । सशस्त्रले मात्रै ४५ सय दरबन्दी थप्न खोजेको छ ।

अनुसन्धान विभागको हकमा एआइजीको दरबन्दी थप्न संगठनात्मक संरचना (ओएनएम सर्भे) गरेर सोमबार प्रधानमन्त्री कार्यालयका सचिवको टेबुलमा बुझाइएको छ । सरकारी नीतिअनुसार गुप्तचरमा १० प्रतिशत दरबन्दी मिलान अर्थात् २ सय २३ वटा कटेपछि मात्रै एकजना एआइजी थप हुनुपर्ने हो । ‘गुप्तचरमा एआइजी थप्नै पर्ने कारण के हो ?’ अर्थ मन्त्रालयमा यससम्बन्धी कागजात पुगेपछि एक सहसचिव भन्दै थिए, ‘कि नीति तथा कार्यक्रम च्यातेर फ्याँकिदिऔँ, कि त्यसअनुसार दरबन्दी रोकौँ ।’ स्मरणीय छ, ओएण्डनएम भएर पनि अर्थको राजश्व समूहकै ७ जना कर्मचारीको बढुवा भएको छैन ।

यसअघि परराष्ट्रमा पनि शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी (दुबसु) ले डेढ सय दरबन्दी थप्न खोजेका थिए । त्यसमा अर्थ र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि बसेनन् । सामान्य सचिव सुरेश अधिकारी त बिदामै बसिदिए । यो काम नसकेर दुबई जापानको राजदूत चलाउन गइसके । अहिले फत्ते गर्न गुप्तचरमा गुप्तरूपमा कसका लागि दरबन्दी थपिँदै छ भनेर अर्थमा प्रश्न उठेको छ । यदि यो दरबन्दी स्वीकृत भएमा हुतराज थापा बढुवा हुने सम्भावना छ ।

तर, अर्का बलिया प्रतिस्पर्धी छन्, ओम जोशी । कुलदेव थापा ३ दिनका लागि एआइजी भएर अवकाशमा गइसकेका छन् । उनी गएपछि हुतराजसहित हरिहर पौडेल, सुनिल ढकाल, ओम जोशीहरू एआइजीका दावेदार हुन् । ओम जोशीका लागि प्रधानमन्त्रीनिकटस्थ नेतासहित सुदूरपश्चिमका प्रायः नेताहरूको दबाब छ । हुतराजलाई बनाउन प्रचण्ड, जनार्दन शर्मादेखि कृष्णबहादुर महरासम्म लागेका छन् । भनिन्छ, यो दरबन्दी सिर्जना गरिएकै हुतराजका लागि हो, ओमका लागि हुँदै होइन । तर, भदौको १३ गतेसम्म आलटाल भयो भने यी सबै घर जान्छन् र दरबन्दीको मामिला नै समाप्त हुन्छ ।

यदि साँच्चै नै गुप्तचरमा दरबन्दी थपियो भने विगतको बढुवामा बञ्चित भएका कर्मचारीहरू मुद्दा हाल्न ठिक्क परेर बसेका छन् । उनीहरू सरकारी नीति तथा कार्यक्रमको हवाला दिँदै मुद्दा हाल्न कस्सिएका हुन् । थप दरबन्दीमा अहिले बढुवा हुने एआइजीले हालका आइजी यदु खरेलको अवकाशपछि पूरै समय ३ वर्ष र अर्काे एआइजीले पनि त्यसरी नै संगठन चलाउन पाउनेछन् ।

उता, गुप्तचरले चलाउने भनी इजरायलबाट ल्याएको टेलिफोन ट्यापिङ डिभाइस भण्डारमा थन्किएको छ । कुलदेव र यादव रेग्मी गएपछि अपरेशन विभाग खाली छ । विभागको प्रशासन भने सुनिल ढकालले हेरेका छन् । त्यस्तै, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासीमा थेग्नै नसक्ने गरी तस्करी बढेको छ । यस्तो बेला त्यहाँका डिआइजी सुमन वैद्यलाई काठमाडौंमा दौडधुप गराइएको छ ।

तस्करीकै बढोत्तरी मधेश प्रदेशमा पनि छ । त्यहाँ ओम जोशी छन् । यस्तै, हेटौँडा बसेर हरिहर पौडेलले बागमतीमा गुप्तचरको कमाण्ड चलाएका छन् । गण्डकीमा हाकिम खाली हुँदा इन्स्पेक्टर कँडेलले पूरै प्रदेश चलाएका छन् । कर्णालीमा टेकेन्द्र कार्की र सुदूरपश्चिममा मधु कार्की खटिएका छन् ।

टिप्पणीहरू