घरमा भेट्न बोलाएर प्रेमिकाका बाबुले प्रेमी भकुरे

घरमा भेट्न बोलाएर प्रेमिकाका बाबुले प्रेमी भकुरे

दाङमा प्रेमिका भेटन गएका एक युवकमाथि निर्घात कुटपिट भएको छ । प्रेमिका सीता (परिवर्तित नाम) भेटन गएको समयमा राजपुर गाउँपालिका–३, खरदरियाका १९ वर्षीय मन्साराम यादवमाथि कुटपिट भएको हो ।

साउन २१ गते प्रेमिकाले फोन गरेर बोलाएपछि मन्साराम साइकल चढेर राति ९ बजे भेट्न गएका थिए । रातको समयमा तीन किलोमिटर टाढा प्रेमिकाको घरमा पुगेका उनलाई त्यहिँ आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रेमीकाको घर नजिक पुग्नासाथ सीताका बाबु पाटेश्वर यादवसहितका युवाहरुबाट मन्साराम गोदिएका हुन् । उनीहरुले धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा गहिरो चोट पुग्ने गरी कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।

केसीका अनुसार कुटपिट गर्ने पाटेश्वर शिक्षक पनि हुन् । साथै मन्साराम र किशोरी एउटै विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । शिक्षक यादवले आफ्नी छोरी र मन्सारामबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाएर भेट्न बोलाई कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू