नख्खु जेलबाट नाइकेलाई जेलरको गाडीमा भगाइयो

नख्खु जेलबाट नाइकेलाई जेलरको गाडीमा भगाइयो

ललितपुरको नख्खु कारागारभित्र नाराबाजी भएको छ । आज बिहान पौने ११ बजेदेखि कैदी बन्दीहरु बिद्रोहमा उत्रेका हुन् ।

कारागारको नयाँ ब्लकमा रहेको सुधारगृहका आन्तरिक प्रशासन नाइके सन्तोष गुरुङ,आइते तामाङ, प्रदीप थपलिया र नारायण थापाले कैदीबन्दीहरुमाथि चरम आर्थिक शोषण,दमन र अनियमितता गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

‘राज्यकोषबाट पाउने सेवा सुविधा तथा भित्र खोलिएको क्यान्टिन, किराना पसल,मासु पसल,कफी सप, जिम खाना,मेसमा उनीहरुको मनोमानी भएपछि आन्दोलनमा उत्रिएका हौं,’ एक जना कैदीको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ ।

गुरुङ,तामाङ,थपलिया र थापाले नाइके,भाइ नाइके,शिक्षक आदिमा आफूखुशी पैसा लिएर नियुक्ति गर्ने गरेकोमा निष्पक्ष छानबिनको माग गर्दै हिजोबाट आन्दोलन भएको हो । उनीहरुले आज केहीबेर नाराबाजी गरेका छन् ।

पीडकको आरोप लागेका नाइके चौकिदार सन्तोष गुरुङलाई आन्दोलनकारीबाट जोगाउन कास्की जिल्ला कारागारका जेलर सुवाषकुमार लामिछानेको सरकारी गाडीमा त्यहाँबाट अन्यत्र लगिएको छ ।

नख्खु कारागारको सिआरसी ब्लकमा ५६१ जना,नयाँ ब्लकमा ४६२ र डिआरसी ब्लकमा ५२३ जना गरी कूल १४ सय ४६ जना कैदीबन्दी रहेको जेल प्रशासनले बताएको छ ।

टिप्पणीहरू