प्रचण्ड, बाबुराम र नारायणकाजीबीच भेटवार्ता

प्रचण्ड, बाबुराम र नारायणकाजीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित प्रचण्डका भानिजको घरमा भएको भेटवार्तामा डा. भट्टराईको पार्टीलाई गठबन्धनमा सामेल गराउने, संयुक्त मोर्चा बनाएर चुनाव लड्ने, गोर्खाबाट जितको सुनिश्चितताको खोजी गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार बाबुरामले संयुक्त मोर्चा बनाएर साझा चिन्हमा चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन् ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा भट्टराई र श्रेष्ठ गोर्खाको एकै निर्वाचन क्षेत्रमा प्रतिश्पर्धी थिए । त्यतिबेला काँग्रेसको साथमा भटराई विजयी हुँदा वाम गठबन्धनका श्रेष्ठ पराजित हुनुपरेको थियो । आजको भेटवार्तामा आगामी निर्वाचनमा गोर्खाबाट दुवै नेताको जित कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको स्रोतको भनाइ छ ।

बाबुरामले हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए । देउवाले गठबन्धनका अन्य दलका नेतासंग सल्लाह गरेर खबर गर्ने जवाफ फर्काएको भनिएका बेला बाबुरामले आज प्रचण्डलाई भेटेका हुन् ।

यसअघि समाजवादी केन्द्र बनाउने भन्दै प्रचण्ड र बाबुरामको पटक-पटक भेटवार्ता भएको थियो । तर, तत्काल समाजवादी केन्द्र नबन्ने नेताहरुले बताइसकेका छन् ।

टिप्पणीहरू