एमाले ब्रुस लि,निर्वाचन आयोग ढ्यापढ्याप पार्ने अम्पायर ?

एमाले ब्रुस लि,निर्वाचन आयोग ढ्यापढ्याप पार्ने अम्पायर ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा बहुमत ल्याउने दावी पटक-पटक गरिरहनु भएको छ । एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट पुगेर उहाँले दुई दिनअघि त्यस्तै दावी दोहोर्याउनु भयो ।

सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँटका लागि कार्यदल नै बनाएर अघि बढेपछि ओली गठबन्धनप्रति आक्रामक हुनुहुन्छ । मंसिर ४ को निर्वाचनमा अध्यक्ष नेपाल उम्मेदवार बन्ने चर्चा चलिरहेको रौतहट पुगेर उहाँले नेपालको मात्र नभएर गठबन्धनको चर्को आलोचना गर्दै आफ्नो दलले बहुमतल ल्याउने बताउनुभयो ।

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,’ओलीले भन्नुभएको थियो, ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’ तर, ओलीले भनेजस्तो एमालेले बहुमत ल्याउने दावीलाई गठबन्धनले धक्का दिने देखिएको छ ।

१६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल मिलाएको खण्डमा गत प्रतिनिधिसभा निर्वाचनमा ठूलो बनेको दल यसपटक तल झर्ने सम्भावना छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामहरुले त्यो संकेत दिइसकेको छ ।

“ब्रुस लिलाई यता हान्छन्,उता हान्छन् । कहिले पछार्छन् । कहिले के गर्छन् । रगतपच्छे पार्छन् । ठ्याक्क चाहिएका बेला ब्रुस लिले थपक्क उठाउँछ,फनन्न घुमाउँछ । उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई । हामीले पनि चाहिएका बेला उत्तानो पारी पच्छारेर निर्वाचन आयोगलाई भन्ने हो,ल तीन पटक ढ्यापढ्याप पार ।’

तर, एमाले अध्यक्ष ओली गठबन्धन भए पनि आफूहरुलाई पराजित गर्न नसक्ने जसरी प्रस्तुत भैरहनु भएको छ । कार्यकर्तामा उत्साह भर्न समकालीन नेतामा उहाँ अग्रस्थानमा हुनुहुन्छ । गठबन्धन भएको खण्डमा त्यसलाई परास्त गर्न उहाँको दलले चुनाव जित्न सक्ने जुनसुकै व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको देखिएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनमा जित्ने उम्मेदवार पार्टीको प्रमुख एजेन्डा भएको बताउनु भएको छ । चारैतिरबाट एमालेलाई घेराबन्दीमा पारिएको भन्दै त्यसलाई तोड्न पार्टीभित्र एकमत हुनुपर्ने उहाँको भनाइ छ ।

त्यसो त चुनाव आउन साढे तीन महिनाभन्दा लामो समय छ । यसबीच देशको राजनीति कता जान्छ भन्न सकिने अवस्था छैन । कुन दलको कता तालमेल हुन्छ र कसले कहाँ जित्छ भन्ने फैसला जनताको हातमा भएकाले अहिले नै परिणामबारे किटान गरेर भन्न हतार हुन्छ नै,तर पछिल्लो अवस्था एमालेलाई सहज भने देखिंदैन ।

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी,जनता समाजवादीलगायतका दलसँग तालमेल गर्दा त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्ने छ । त्यसैले निर्वाचन अगावै गठबन्धन भत्काउनु एमालेको पहिलो रणनीति हुने निश्चित प्राय: छ ।

एमालेले तराईमा सिट संख्या बढाउने गरी लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरिरहेको छ । तर,अब त्यो सम्भावना पनि लगभग सकिएको विश्लेषण हुन थालेको छ । लोसपासँग नेपाली कांग्रेसले कुराकानी गरिरहेको छ र छलफल सकारात्मक भएको दुबैतिरका नेताहरुले बताइसकेका छन् । स्थानीय चुनावमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको भए पनि उसको मत देखिएन । आफ्नो पार्टीबाट फुटेर गएको दल राप्रपा नेपालसँग तालमेल गरेपछि राप्रपा एमालेसँग बिच्किएको छ ।

यसअघिको संघीय निर्वाचनमा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउँदा काँग्रेस पराजित भएको थियो । त्यसैले यसपटक पनि राप्रपासँग तालमेल हुनसक्ने बालकोट निकटका एक नेताले बताए । तर, सार्वजनिक समारोहमै आफूलाई ओलीले ‘बाच्छो’ भनेर अपमान गरेको महसुस गरेका लिङ्गदेन टेढिएकाले एमाले पंक्ति ढुक्क भने छैन ।

घेरावन्दीमा परेको एमाले अहिले गठबन्धनसँग एक्लै लड्न आफूहरु तयार रहेको र ‘ब्रुस्ली’ स्टाइलले जित्ने बताइरहेको छ । अध्यक्ष ओलीले फिल्ममा ब्रुस्लीले पहिला कुटाइ खाए पनि पछि खेलमा फर्किएको दृष्टान्त अघि सारेर एमाले पनि चुनावी मैदानमा फर्कने दाबी गरिरहनु भएको छ ।

सोमबारको कार्यक्रममा उहाँले भन्नुभएको थियो, ‘ब्रुस्लीसँग कहिले, कहिले मोटा-मोटा, अग्ला-अग्लाहरूले खेलेको देख्नुभएको छ ? त्यो रिङमा खेलेको देख्नुभएको होला नि ब्रुस्लीसँग ? ब्रुस्लीलाई हान्छन्, यता हान्छन्, उता हान्छन् । कहिले पछार्छन् । कहिले के गर्छन् । रगतपच्छे पार्छन् । ठ्याक्क चाहिएका बेला ब्रुस्लीले थपक्क उठाउँछ, फनन्न घुमाउँछ । उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई । हामीले पनि चाहिएका बेला उत्तानो पारेर पछारेर निर्वाचन आयोगलाई भन्ने हो, ल तीन पटक ढ्यापढ्याप पार।’

ओलीले भनेजस्तो एमाले ‘ब्रुस्ली’ बन्न सक्छ कि सक्दैन त्यो भने चुनावी नतिजाले नै देखाउने छ ।

टिप्पणीहरू