बालबालिकाको स्वास्थ्यमाथि गम्भीर खेलबाड

बालबालिकाको स्वास्थ्यमाथि गम्भीर खेलबाड

प्रायः स–साना केटाकेटीले पसलमा गएर किनेर खाने भनेकै २/४ रुपैयाँ, ५/१० रुपैयाँ पर्ने चकलेट (मिठाइ), चिप्स, अमिलो (पाउँ), जुस इत्यादि नै हुन् । गाउँटोल–शहरबजार जताततै पाइने यस्ता खानेकुराको गुणस्तरमा भयंकर हेलचेक्रयाईं देखिएको छ । यो कलिला बालबालिकाको स्वास्थ्यमाथि गम्भीर खेलबाड हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा चितवनको संयुक्त बजार अनुगमन समितिले हिजो नारायणगढका केही पसलमा निरीक्षण गरेको थियो । भरतपुर–२ मा मिलनरोडभित्र बालकुमारी सब्जीमण्डी जाने बाटोमा रहेका पसलमा चेकजाँच गर्दा अधिकांश बालबालिकाले खाने, रुचाउने त्यस्ता चीजहरु प्रायः अनुज्ञा नभएको, डुप्लिकेट, म्याद नाघेको, कमसल तथा अखाद्य वस्तु प्रयोग गरी बनाइएका गुणस्तरहीन अर्थात् खान अयोग्य पाइएको हो ।

अनुगमन टोलीले सार्भी टे«डिड्डबाट डब्बामा मिल्क क्रन्चेज लड्डुज लेखिएको केराउमिठाइ, मिन्जा हत्तोरी चिप्स, म्याङ्गो चकलेट, महालक्ष्मी र शुभलक्ष्मी ब्राण्डका पाउँ एवम् अर्कै ब्राण्डको म्याद नाघेको स्टिकरमाथि रंगिला पाउँ लेखेर टाँसिएको त्यस्तै डल्लो अमिलोलगायत सामान जफत गरेको छ । अनुगमनको क्रममा वरपरकै केही पसलबाट पहाडी एवम् गोधुली ब्राण्ड र गोरखा कालिका अमिलो उद्योग नामको नक्कली चुक अमिलो पनि थुप्रै परिमाणमा बरामद गरिएको छ ।

माँ कालिका स्टोर्स, आकाश सप्लायर्स र सुमन स्टोर्सबाट ती नक्कली चुक बरामद भएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादवनाथ आचार्यले जानकारी दिए । पी एण्ड पी स्टोर्सबाट त्यस्ता केही डब्बा नक्कली चुकसहित लेबल नभएको छुर्पी र म्याद नाघेका केही पुष्टकारीसमेत जफत गरिएको उनले बताए ।साइट्रिक एसिड हालेर बनाइएका नक्कली चुकअमिलो स्वास्थ्यको निम्ति हानिकारक हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् । बालबालिकालाई खानसमेत नेपाल सरकारले मान्यता नदिएको नक्कली, कमसल र गुणस्तरहीन वस्तुहरुको उत्पादन तथा बिक्री–वितरण भइरहेको डरलाग्दो स्थितिप्रति उनले भने, ‘अभिभावकहरुले आफ्ना बालबच्चालाई त्यस्ता चीज किनिदिनु भएन, किन्न दिनुभएन । कसरी हुन्छ उनीहरुलाई यस्ता अखाद्य वस्तु प्रयोगमा निरुत्साहित गर्नुपर्यो ।’

अनुगमन टोलीमा सहभागी उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णुप्रसाद भुसालले बालबालिकाको स्वास्थ्यमा गम्भीर खेलबाड गर्दै खानेकुराका नाममा बजारमा यस्ता थुप्रै चीज बिक्री–वितरण भइरहेको भन्दै यसलाई प्रशासनले कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताए । अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय चितवनका सई नवराज लामिछानेलगायत भरतपुर महानगरपालिका र कृषि ज्ञान केन्द्रका प्रतिनिधि एवम् केही पत्रकारको सहभागिता थियो ।

चालु आर्थिक वर्षमा आज पहिलो बजार अनुगमन भएको बताउँदै सहायक सिडिओ शर्माले पुनः बजार अनुगमनलाई तीव्रता दिइने बताए । जफत गरी ल्याइएका नक्कली, गुणस्तरहीन खाद्यवस्तु नष्ट गर्ने, बिक्रेतालाई दण्ड जरिवाना गरी सप्लायर्स र उद्योगमाथि पनि कारबाही चलाइने उनले बताएका छन् । तर कतिपयको वैध उद्योग नै नरहेको तथा स–साना कोठामा भित्रभित्रै सामान उत्पादन गरेर बेचबिखन गर्ने उत्पादकहरुलाई पक्रिन गाह्रो हुने जानकार बताउँछन् ।

टिप्पणीहरू