कालापानीमा विदेशी फौजले बुलडोजर चलायो,सरकार चूप लाग्यो : भीम रावल

कालापानीमा विदेशी फौजले बुलडोजर चलायो,सरकार चूप लाग्यो : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले कालापानीमा विदेशी फौजले बुलडोजर चलाउँदासमेत सरकार मौन रहेको आरोप लगाउनुभएको छ । आज राजधानीमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले सीमारक्षाको विषयमा गठबन्धन सरकार संवेदनशील नरहेको उल्लेख गर्नुभएको छ ।

नेता रावलले सुस्ता,कालापानी, सन्दकपुरलगायत मुलुकका ७७ स्थानमा सीमा अतिक्रमण भएको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्या समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार नेपालले आफ्नो सीमानामा नियमन गर्न ढिलो भइसकेको छ ।

नेता रावलले वर्तमान सरकार संविधानमा उल्लेखित कानूनलाई पूर्ण बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागि परेको अर्को आरोप पनि लगाउनुभएको छ । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको र यो संविधान विपरित भएको उहाँको जिकीर छ

पछिल्लो नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने उहाँको आशंका छ । रावलको भनाइ छ, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर,विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ,त्यो हुनु हुँदैन ।’ अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु नै मुलुकलाई विखण्डन गर्ने तत्व भएको उहाँको आरोप छ ।

टिप्पणीहरू