स्वास्थ्य बिमा गठबन्धन सरकारले ‘कोल्याप्स’ पार्न लागेको एमाले सांसदको आरोप

स्वास्थ्य बिमा गठबन्धन सरकारले ‘कोल्याप्स’ पार्न लागेको एमाले सांसदको आरोप

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम सरकारले सिध्याउन लागेको भन्दै आपत्ति जनाउनु भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको आरोप लगाउनु भएको छ ।

एचआइभी एड्स सङ्क्रमित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्न खोजिएको भन्दै अधिकारीले सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गर्नुभएको हो ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विमितहरूबाट ११ अर्ब रुपैयाँ संकलन भएको बताउँदै अधिकारीले उक्त कार्यक्रमलाई सरकारले अप्ठेरो अवस्थामा पुर्याएको आरोप लगाउनुभएको छ । सरकारकै कारण सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान स्वास्थ्य बिमा कार्यक्रमको सेवा बन्द गर्ने अवस्थामा पुगेको उहाँको ठहर छ ।

अधिकारीले, ‘ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूको सरकारले हुर्मत लिन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ । तत्कालीन एमाले सरकारले लागु गरेको एक मात्र समाजवादउन्मुख कार्यक्रम स्वास्थ्य बिमा गठबन्धन सरकारले ‘कोल्याप्स’ पार्न लागेको उहाँको भनाइ छ ।

टिप्पणीहरू