महान्यायाधिवक्ता खातीमाथि बलात्कारी छुटाउन खोजेको आरोप

महान्यायाधिवक्ता खातीमाथि बलात्कारी छुटाउन खोजेको आरोप

महान्यायाधिवक्ता खम्मबहादुर खातीमाथि १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिलाउन खोजेको आरोप लागेको छ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतले आज प्रतिनिधिसभा बैठकमा उक्त आरोप लगाउनुभएको छ ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको कानुनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता थुप्रै आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले खातीलाई बर्खास्त गर्नुपर्ने माग पनि गरेका छन् ।

महान्यायाधिवक्ता खातीले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास गरेको,बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ मिलाएको,कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास गरेको बस्नेतको आरोप छ ।

त्यस्तै,भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको,बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिन खोजेकोलगायत अन्य आरोप लगाउँदै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराइएको छ ।

टिप्पणीहरू