अर्काको सम्पत्ति कसरी खान सक्छन् मान्छेहरू !

अर्काको सम्पत्ति कसरी खान सक्छन् मान्छेहरू !

तानसेन नगरपालिका–९ दमकडास्थित ३ करोडभन्दा बढीको जमिन किर्ते नाता प्रमाणित गरी खान खोज्ने गिरोहको प्रयास असफल भएको छ । चन्द्रबहादुर घर्तीको नाममा रहेको ५ रोपनी जग्गा माथागढी गाउँपालिका ३ का सन्तविर घर्तीले किर्ते नाता प्रमाणित गरी आफ्नो नाममा बनाउने षड्यन्त्र असफल भएको हो ।

तानसेन ९ का चन्द्रबहादुरको जग्गामा माथागढी २ रूपसेका सन्तविर घर्तीलाई रूपसेका वडाध्यक्ष जनक रिजेल, गाउँपालिका अध्यक्ष सन्तोष थापा र तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीले किर्ते कागजात बनाउन सहयोग गरेको रहस्य खुलेको छ । चन्द्रबहादुर भीमबहादुर र मेखली घर्तीका एक मात्र सन्तान हुन् । बाबु भीमबहादुर घर्तीको २०२० सालमा मृत्यु भएपछि आमाले दोस्रो विवाह गरिन् ।

मेघली घर्तीको दोस्रो श्रीमान् मनवीर कुमालको २०५० साल अगाडि नै मृत्यु भयो भने आमाको ०६६ सालमा मृत्यु भएपछि ५ रोपनी जमिनमा किर्ते नाता प्रमाणित गर्ने गिरोहको नजर परेको थियो । चन्द्रबहादुर ०३८ सालदेखि बेपत्ता छन् ।

०३२ सालमा आएको नापीले उक्त जग्गा उनैको नाममा नाप जाँच गरेको थियो । चन्द्रबहादुर घर्तीको हकवाला कोही छैनन् । यसैलाई अवसर बनाएर जग्गा खान कतैबाट हक नलाग्ने रूपसेका सन्तवीर घर्तीले मनगढन्ते कुरामा फर्जी कागजात बनाएका हुन् ।

नामसारी हुने अन्तिम चरणमा पुगेको जग्गा स्थानीय तहमा आएका नयाँ जनप्रतिनिधिलाई मालपोत कार्यालयबाट जारी भएको सूचनाले झस्काएको तानसेन नगरपालिका– ९ का अध्यक्ष राजेशकुमार अर्याल बताउँछन् । गिरोहले खान खोजेको जग्गा तानसेन नगरपालिका– ९ को मदनपोखरा स्वास्थ्यचौकीसँग जोडिएको छ ।

मालपोत कार्यालयको श्रेस्ताअनुसार ४ रोपनी, ५ आना, २ पैसा, ३ दामको जग्गा चलन चल्तीको मूल्यअनुसार ३ करोडभन्दा बढीमा बिक्री हुन्छ । विगतका जनप्रतिनिधिले अगाडि बढाएको प्रक्रिया सामाजिक न्याय र प्रलचन विपरीत भएकाले गल्ती कमी कमजोरीलाई सच्याउँदै नयाँ शिराबाट अगाडि बढाएको वडा कार्यालयको भनाइ छ ।

मौजुदा कानुनअनुसार कुनै व्यक्ति अपुताली परेको खण्डमा उसको सम्पत्ति स्थानीय सरकारको स्वामित्वमा रहने प्रावधानअनुसार आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया अगाडि बढाएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।

टिप्पणीहरू