घट्ला सरकारी दरबन्दी ?

घट्ला सरकारी दरबन्दी ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने भएको छ । मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी संयन्त्रको दरबन्दी कटौती गर्न लागेको हो ।

सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै १५ दिनभित्र १० प्रतिशत दरबन्दी कटौतीको खाका पठाउन निर्देशन दिइएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने उल्लेख भएबमोजिम उक्त निर्देशन दिइएको बताइन्छ ।

साथै, निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप नगर्ने भनिएको छ । मन्त्रालयले भनेको छ, ‘बजेटमा व्यवस्था भएबमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडि बढ्ने क्रममा रहेको सन्दर्भमा त्यहाँ मन्त्रालय र अन्तर्गतका निकायमा दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र मन्त्रालयमा पेश गर्नुहुन अनुरोध छ ।’

त्यस्तै, प्रतिवेदनको खाका मन्त्रालयको इमेलमार्फत पठाउन आग्रह गरिएको छ ।

टिप्पणीहरू