गणतन्त्रको क्षितिजमा मूर्छित सपना « Jana Aastha News Online
Logo
१८ मंसिर २०७८, शनिबार
|  Sat Dec 4 2021

गणतन्त्रको क्षितिजमा मूर्छित सपना

प्रकाशित मिति :  १५ जेष्ठ २०७७, बिहीबार १२:१८


क्षितिजको एक कुना रातो थियो । त्यही क्षितिजले दिएको उज्यालोले पृथ्वीमा नयाँ हलचल शुरु हुँदै थियो । वातावरण रातो तातोमा पनि परिणत हुँदै थियो । अहिले सम्झँदा लाग्छ, त्यो समय जता हे¥यो उतै रातो, जता टेक्यो त्यतै तातो । सामान्य घरधन्दाको जीवनयापनभन्दा युद्धभित्रको प्रत्येक सिपाहीले जिउने जीवन अवश्य पनि कठिन र चुनौतीपूर्ण हुन्छ । त्यो स्वाभाविकै हो ।

राप र तापको बीचमा खोजिएका खुशीहरू पनि असाध्यै प्यारो लाग्छ आजकाल । अनकन्टार दूरदराजका बस्तीमा पुग्दा भेटिने आमा बाबाहरूले दिएको आशीर्वादका शब्दले अहिले पनि मन मस्तिष्कमा बेस्मारी ठोकिरहेको छ । त्यही आमा बाबाहरूले खाने गाँस काटेर दिएको खानाले पालिएका जनमुक्ति सेना हामी । एक रात भए पनि तातो ओछ्यानमा सुत भनेर ओछ्यान छाडिदिएकाहरूको साक्षी म । तमाम तमाम बाबा आमाहरूको सपना हो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी र जनमुक्ति सेना ।

१२ वर्षपहिले आजकै दिन निकै खुसी उल्लासको दिन म त्यो दिन सम्झन्छु । भित्र कता–कता छुट्टै तरिकाले मन पोलेको पनि आभाष थियो । कारण त्यो दिन घोषणा गर्नका लागि वा लोकतान्त्रिक गणतन्त्र ल्याउन युद्धमा होमिएका परिवारका हामी ३ जनामध्ये म जीवित छु । जनयुद्ध लडेको सिपाही आफ्नो प्रिय र हजारौं सहयोद्धाको कुर्वानीले ल्याएको गणतन्त्र ।

अहो ! अब त मेरा प्रियजन र सहयात्रीहरूको आत्माले पनि शान्ति पाएको होलाजस्तो आभास पनि गरेँ । आफ्नै आँखाले नदेखे पनि कहीँ–कतैबाट तिनका आत्माले देखिरहेको होलाजस्तो अनुभूत भयो । रुन्चे मुख लगाएर कोठामा गएँ, मेरा प्रियजनहरूको रगतले लत्पतिएको शरीर खाडलमा पुरिँदै गरेका फोटोहरू हेरेँ, मूर्छित पीडामा पनि खुशीको अनुभूति गरेँ ।

म अस्थायी शिविर चितवनमा थिएँ । मेरा कमाण्डरहरूले मलाई गणतन्त्रबारे जसरी प्रशिक्षित गराए, एउटा गणको नाइके हुनुको हैसियतले मैले पनि मेरा सदस्यहरूलाई त्यसैगरी प्रशिक्षित गरेँ, सदस्यहरूको अगाडि उभिएर गणतन्त्र नेपाल जिन्दावाद भनेँ, उनीहरूलाई पनि भन्न लगाएँ ।

त्यो बेला गणतन्त्रको नारा लगाउने मेरा कतिपय कमाण्डरहरू पनि मजस्तै अहिले अर्काको देशमा श्रम–पसिना बेच्न बाध्य छन् । जोसँग व्यक्तिगत स्वार्थ थिएन । थियो त केवल वर्गीय स्वार्थः ‘जिते सिंगो संसार, हारे एउटै जीवन’ वर्ग मुक्तिको खातिर ।

हामीले हजारौंको बलिदान, त्याग, रगत, पसिना बगाएर ल्याएको गणतन्त्रले नेपालका आमनेपालीको जनजीवनमा परिवर्तन आउनेछ । स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी हुनेछ । कोही नेपाली भोक, शोक र रोगले मर्न पर्दैन । हो, यही र यस्तै सपना थिए गणतन्त्र घोषणा भएका दिन मेरा मनभरि ।

सिन्धुपाल्चोकको चौतारा अन्तिम मोर्चापछि जनमुक्ति सेनालाई ७ वटा मुख्य शिविर र २८ सहायक शिविरमा थन्काइयो । त्यो पछि शाही सेना र जनमुक्ति सेनाहरू आमने–सामने भएर अहो ! भन्ने लडाइँ भएन । १२ बुँदे बृहत् शान्ति सम्झौतापछि देशमा शासन व्यवस्था फेरियो । राजतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भयो । व्यक्ति वा संस्थामा निहित अधिकार जनताको तहसम्म पुग्छ भनियो । जनतामा पनि आशा थियो, विभिन्न कालखण्मा भएका आन्दोलनले उपलब्धि हासिल गर्न नसकेको अवस्थामा यो पटक केही उपलब्धि हुन्छ भनेर ।

देखिने खालका धेरै उपलब्धि भए । देशले संविधान पायो । स्थानीय निकायले जनप्रतिनिधि पाए, देशमा संघीय शासन पद्धति लागू भयो । गाउँ गाउँमा सिंहदरबार पु¥याउने नारा पनि गज्जबले घन्कियो । तर, अहिले जनताले अनुभूत गर्ने कुराचाहिँ शून्य !

गणतन्त्र घोषणा भएपछि नेपाल सरकारले १२ वर्षमा गरेको देखिने काम भनेको गणतान्त्रिक देश नेपालका शासकद्वारा भारतले अतिक्रमण गरेको भूमिलाई नक्सामा उतारेर नक्सा सार्वजनिक गर्नु । यसको परिणाम के हुन्छ त्यो हेर्न बाँकी नै छ । १२ वर्षमा यही काम देखाएर यो वा त्यो बहानामा सत्ताको वरिपरि रमाइरहेका मस्त निद्रामा परेका शासकहरू हुन् नेपालका ।

म पनि आज आमनेपालीले जस्तै १२औं गणतन्त्र दिवस मनाउने तरखरमा छु । मनभित्र उल्लास जागेको छ । आफैंले लडेर ल्याएको गणतान्त्रिक देश नेपालभन्दा निकै पर पराइ देशमा आप्रवासी भएर दिनरात कटाउँदै गर्दा सम्झिन्छु के मैले लडेको लडाइँ यसरी नै परदेशमा भासिनलाई थियो ?

देशले गणतन्त्रको दीपावली मनाउँदा मलाई पनि त रहर छ आफ्नै देशमा सन्तोषसाथ गणतन्त्रको दियोमा तेल थप्न । भनिन्छ, सन्तोषम् परम् सुखम्’ मान्छे पराइ घरमा सन्तोष मान्न सक्दैन म पराइ देशमा छु । देशलाई दुख्दा मलाई पनि दुख्छ । देशलाई घोच्दा मलाई पनि त चसक्क हुन्छ ।

देश अहिले पनि बेस्सरी दुखिरहेछ जसरी वर्षौंदेखि दुखिरहेको छ । आधारातमा देशका सपनाले घोच्छन् मलाई पनि र औडाहा बनाउँछन् ।
साँच्ची १२ वर्षअघिको त्यो गणतन्त्र कसका लागि । आफैं लडेर ल्याएको गणतन्त्र । तर, कसलाई सोधु निर्धक्कसँग कसका लागि आएको हो ? भनेर ।

गणतन्त्रको घेराभित्र उभिँदै गर्दा मैले आफैंलाई निकै पटक दुखाएकी छु । हिजो कसका लागि भनिएको थियो गणतन्त्र र आज कसका लागि मात्रै भयो ? सत्ताको बिलासितामा रमाइरहेकालाई मैले यो प्रश्न सोध्न पाउने कि नपाउने ? सोधेर पनि जवाफ पाइएला ? कसले देला जवाफ, तिनले जसले गणतन्त्र प्राप्तिका लागि भनेर आन्दोलनको नेतृत्व गर्दै आन्दोलनकै रापमा हिँडाएर स्वार्थ पूरा गरेपछि वर्ग फेरे ? या तिनले देलान् जसले यो वा त्यो बहानामा क्रान्तिकारी आफ्नै सहयोद्धा पंक्ति र जनतामाथि गद्दार गरिरहेका छन् । उनीहरू म र मजस्तै जनताका प्रश्नले न कहिल्यै पोलेको थियो र न कहिल्यै पोल्नेछ । खैर, म मेरा प्रश्नको जवाफको अपेक्षा राख्दिनँ अहिले ।

पिँढीको डिलमा बसेर छोराछोरीको वियोगमा रोइरहेका वृद्ध आमा बाबा, युद्ध मोर्चामा सँगै लड्दा लड्दै सहादत प्राप्त गरेको जीवनसाथीहरूको अन्तिम चित्कार, मनमुटुभरि असीम पीडाको भारी बोकेर तिम्रो अपुरो सपना म पूरा गर्नेछु भनेर सिन्दूर पुछिएका मजस्तै विधुवा चेलीको चित्कारको मात्रै प्रतिनिधित्व गरेको हुँ । यदि, यही दिन देख्नु थियो भने किन राज्य या विद्रोही पक्षको नाममा अनाहक मारियो हजारौं निर्दोष नागरिक ? के अहिलेको यही व्यवस्थाका लागि त्यो युद्ध, त्यो विद्रोह, त्यो क्रान्ति आवश्यक थियो ? अनाहकमा ज्यान गुमाएका १७ हजार जनताको बलिदान केका लागि थियो ? जुन वर्गका लागि आउनुपर्ने थियो गणतन्त्र त्यो वर्गका लागि आएको हो त ? मलाई थाहा छ यी असरल्ल प्रश्न अनुत्तरित छन् । अनुत्तरित नै रहनेछन् ।

युद्धको मोर्चा सम्हालेको सिपाहीलाई दुश्मनको क्याम्पमा धावा बोलेर विजय हासिल गर्नुभन्दा अर्को खुशीको आभास कमै हुन्छ सायद । त्यो दिन र आजको दिन सम्झन्छु, हिजो उन्माद उल्लास मनाउने म किन आज त्यो खुशी मनाउँदा उल्लास छैन ? मेरो रातो र तातो इतिहासमा मलाई कुन कुराको कमी भयो ? मैले नजिकबाटै मेरो प्यारो इतिहासको कुन चिज चुम्न सकिनँ ?

अप्ठ्यारा दिनमा हामीसँग हिँड्न तयार मान्छे थोरै हुन्थे तर आज बाटो निकै फराकिलो र पिच भइसकेको छ त्यही पनि मलाई हिँड्न सहज अनुभूति छैन । अझ भनौं म त्यो बाटोमा हिँड्न सकेकै छैन । मजस्तै कैयौँ सर्वसाधारणले अनुभूति नगरेको बाटोमा म के नयाँ अनुभूति गरौँ र ?

नेताले ठूलो सभाहलमा गणतन्त्रबारे बोलिरहँदा मलाई पनि उनीहरूलाई जस्तै उद्वेलना पैदा हुन्छ । अनि मुठी कसेर ‘जिन्दावाद’ भन्न मन लाग्छ । म चिच्चाएर कराउन खोज्छु ‘गणतन्त्र जिन्दावाद’ । अनि फेरि सम्झन्छु हुम्ला, जुम्लाका जनताले सिटामोल खान नपाएर मरेका । कोरोनाको कहरमा क्वारेन्टाइनमा रहेको युवा उपचार नपाएर मरेको । भर्खर अंकुराउँदै गरेको प्रेमलाई कथित जातको नाममा मारिएका युवा नवराज विकको हत्याको समाचारले भक्कानो फुट्छ मनमा । गणतान्त्रिक सरकार जय ! कथित विभेदकारी समाज सिर्जना गर्न बोकेका तिम्रा सपनालाई पनि जय ! जय ! जय !

गणतन्त्र घोषणा भएपछि पनि साठी लाख युवालाई बेचेर तिनको रगत–पसिना बगाएर भित्रिएको रेमिट्यान्सले बेप्रवाह रमाउने शासकहरू तिमीहरूको राष्ट्रवाद ‘जिन्दावाद’ राष्ट्रवाद धेरै महँगो कुरा हो जुन दुई÷चार जना चौतारीमा जम्मा गरेर कुर्सीमा बसेर गरिने भाषण होइन ।

शैलुङ र महाभारतका माइली, साइलीहरूको गुन्यु फेर्न रहर पूरा नभएको गणतन्त्रमा म के रमाउनु ? जुठे र कालेहरूले आङमा च्यातिएको टालो नफेरिएको व्यवस्थामा म के खुशी हुनु ? सत्तामा आसीन र तिनका आसपासलाई मात्रै भएको अथाह खुशीमा मजस्तै श्रम गर्ने वर्ग पर्दैनन् । अनि म कहाँ उज्येलित हुन सक्छु र मुस्कुराउने कोशिश गर्नु ?

म त्यतिबेला खुशी हुनेछु जतिबेला श्रमजीवी वर्ग खुशी हुनेछन् अर्थात् भोकले छट्पटाउँदा छट्पटाउँदै छातीमा नाम्लो तेस्र्याएर मर्ने सूर्यबहादुरहरू जस्तैले फेरि पेटमा अन्न नपरेर मर्नु पर्दैन । भोकले अर्को सूर्यबहादुर तामाङलाई शहीद नबनाउने दिन आओस् अनि उस्तै जोश उस्तै लाभासहित उही जनमुक्ति सेनाकै ऊर्जासँगै म बोल्नेछु मुठ्ठी कसेर ‘गणतन्त्र नेपाल जिन्दावाद !’

अँ १२ वर्षे गणतन्त्रको उल्लासको कुरा गर्दै थिएँ । मलाई पनि रमाउन त मन छ नि ! भोकभोकै सूर्यबहादुर तामाङहरू मर्दा मलाई केको हर्षबढाइँ हुनु ? मैले बोकेको वर्गीय मुक्ति र जातीय मुक्तिको नारा नारामै रुमल्लिएर मेरै युद्धको गर्भमा जातकै कारण नवराजहरू लखेटी–लखेटी मारिँदा मलाई केको उल्लास हुनु ?

ठ्याक्कै यतिखेर भोको पेटमा अन्न र नांगो आङमा टालो भन्दै जनयुद्धमा होमिँदा देखेका मेरा जम्मै सपना मूर्छित छन् । अँ, चेतनाका विगुल फुक्ने कति नारा र वर्गीय दुस्मनलाई ध्वस्त पारेका राइफलका निशाना अर्धचेत छन् । ती सबै सपना पनि उराठिलो मरुभूमिको किनारमा विलिन छन् अहिले । कस्तो बिडम्वना, मेरो वर्गीय मुक्तिका सपना जो मलाई निदाउन दिँदैनथे ती अहिले उराठिलो बगरको किनारमा मूर्छित छन् ।

घनघोरको सपना थियो मेरो पनि गणतान्त्रिक नेपालमै बसेर समाज र देशका लागि थप योगदान दिने । रगत बगेको माटोलाई चुम्दै बाँकी रहेको परिवर्तनको अपूरा काम पूरा गर्ने । विडम्बना, कैयौँपटक बम गोलीले थिलिएको शरीर फेरि आफैंले लडेर ल्याएको गणतन्त्रमा अन्तिमपटक आफ्नै पार्टीका नेतावाट नराम्रोसँग हुत्याइएपछि म गणतन्त्रको नाम मात्र जपेर बस्न सकिनँ ।

मेरो युद्धले जन्माएको गणतन्त्र हुर्कंदै थियो । मलाई हरियो पासपोर्ट प्यारो पटक्कै थिएन । तर, ५ वर्ष पुग्दा नपुग्दै मलाई त्यही गणतन्त्रले लखेटेको हो ।

काठको फलैंचामा बस्दै गर्दा याद गरेका हरफ अहिले पनि स्मृतिमा छन् । त्यो दुःख कष्टको समय थियो मेरा लागि । सुख क्षणभरमै बिर्सिन्छ मान्छे दुःख जुनीभर सम्झन्छ । दुःख थियो र त ताजै छन् ती सबै दृश्य । गजबको कठघरा छ तिम्रो गणतन्त्रमा वादी, प्रतिवादी, दोषी र आरोपी सबै मै हुँ ।

गणतन्त्र घोषणा भएको १२ वर्षमा ११ जना प्रधानमन्त्रीले शासन सत्ता सम्हाले । बाह्र वर्षमा ११ पटक मन्त्रिमण्डल विघटन भए । तर, माफपाऊँ, कुनै एक जना नेताले पनि देश र जनताबारे गरेको राम्रो कामको लिस्ट उतार्न सकिनँ मैले । यो मेरा लागि घनघोर पीडा हो । देशका आम शोषित पीडित नागरिकको विडम्बना हो । के देश दुख्दा नेताहरूलाई कहिल्यै दुखेन ? किन ? जनता दुःखमा हुँदा नेता र तिनका आसेपासे खुशी नै भइरहे । जनता दुःखमा हुँदा नेतालाई लाभ हुन्छ हो ? हुँदैन भने जनताको दुःखलाई किन नेताले दलाल भ्रष्टाचारी तस्करीसँग होली वाइनको चुस्कीमा साटे ? जनताको दुःखमा विजयोत्सव मनाउने नेताको शरीरमा कुन रगत बग्छ होला ?

अप्ठ्याराहरूमा जिम्मेवारीपूर्वक अभिभावकीय भूमिका निभाउनुपर्ने गणतन्त्र नेपालका शासक निर्धक्क लास गनेर राजनीति गरिरहेका छन् । झण्डै आधा वर्ष पहिला छिमेकमा आतंक मच्चाएको कोरोना संक्रमणविरुद्ध रोकथाममा लाग्नुपर्ने बेला सत्ता र शक्ति हत्याउने चुतिया खेलमा मस्त छन् । कसैको आयु बढाइयो, कसैलाई युद्धमा हारेपछिको सिपाहीजस्तो रुझेको बिरालो बनाएर लास गन्न लगाइयो ।

नाम मात्रको गणतन्त्रले जनताका संकट नसुन्दोरहेछ । नाम मात्रको गणतन्त्रले जनताको क्रोध रोदन पीडा र अभाव महसुस नगर्दो रहेछ । हामीले लडेर ल्याएको गणतन्त्र आलंकारिक परेछ । जसले नेतालाई महसुस गरिरह्यो जनतालाई कहिल्यै गरेन । गणतन्त्र ज्युँदो त छ तर लासझैं । हुकुमी शैलीको गणतन्त्रको १२ वर्ष हो यो ।

सरकार तिम्रो भाषण र घोषणालाई हेर त त्यो गरिबको मृत्युले कति गिज्याएको छ । तिम्रो गणतन्त्रलाई हेर त त्यो दलितले लासले कति खिल्ली उडाएको छ । तिम्रो शासनलाई हेर त त्यो रोगले कसरी गिजोल्दै छ । म र मजस्तै लामबद्ध योद्धाको उम्लँदो रगतको बलमा तिमीले बोलेका थुप्रै आश्वासन मात्र व्यवहारमा ल्याइदेउ न । मैले भनेकी हैन सरकार, आफंैले भनेका कुरा पूरा गरेनौ भने सयौँ सूर्यबहादुर तामाङका लासले तिमीलाई नंग्याइदिनेछन् । किन थाहा छ ? किनभने जब भोको पेटले विद्रोह गर्छ नि अनि आगो ओकल्न सक्छ ।

आउँदो वर्ष १३ वर्षे गणतन्त्रलाई जिन्दावाद भन्न पाऊँ । आफंैले लडेर ल्याएको प्रिय गणतन्त्र नेपाल तिमीलाई शुभकामना !


प्रतिक्रिया दिनुहोस !