पत्रकारको स्वास्थ्य बिमा

कृष्ण सेन (इच्छुक)को १८औं स्मृित दिवसको अवसरमा प्रेस संगठन नेपाल ताप्लेजुङले जिल्लामा क्रियाशील पत्रकारको स्वास्थ्य बिमा गरिदिने भएको छ । यो कोरोना लक्षित स्वास्थ्य बिमा भएको हुँदा पत्रकारलाई पनि हुन सक्ने कोभिड १९ को महामारीमा राहत पुगोस् भन्ने लक्ष्यले यो कोरोला लक्षित एकवर्षे स्वास्थ्य बिमा गराइएको प्रेस संगठन नेपाल ताप्लेजुङको विज्ञप्तिमा उल्लेख छ । यस बिमाका लागि ५० प्रतिशत रकम ताप्लेजुङका प्रतिनिधिसभा सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबाट र ५० प्रतिशत रकम प्रेस संगठन नेपाल ताप्लेजुङको आन्तरिक स्रोतबाट व्यहोरिने प्रेस संगठनले जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ नेपालमा पनि ०७७ जेठदेखि तीव्र गतिमा फैलन थालेको छ तराईका सबै जिल्लामा यो देखा परिसकेको छ भने पहाडी जिल्ला उक्लने क्रममा अगाडि बढिरहेको आजसम्म यो नेपालका ४५ जिल्लामा पुगेको तथ्यांकले देखाएको छ । नेपालको पूर्वमा रहेका सीमाका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमध्ये तराईमा पर्ने झापाबाहेक पहाडमा पर्ने इलाम, पाँचथर र ताप्लेजुङमा आजसम्म कोरोना भाइरसको गन्ध पाइएको छैन ।

ताप्लेजुङमा ८ गाउँपालिका र १ नगरपालिका गरी ९ वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा क्वारेन्टाइनका लागि बेड तयार गरिएका छन् । समय–समयमा तेस्रो मुलुक, भारत तथा अन्य जिल्लाबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्ने भनिए पनि कतिपय मानिस बस्न नमान्ने र बसेकाहरूबाट पनि नियम पूर्णरुपमा पालना नगर्ने गरेका कारण यदि भाइरस गाउँमा छिरे गाउँ सखाप हुन सक्ने स्थानीय बासिन्दाको गुनासो छ ।

ताप्लेजुङमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारी प्रयास भने निरन्तर भइरहेको छ । कोरोना नियन्त्रण र रोकथाम समितिको बैठक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा प्रत्येक दिन बसेर जिल्लाको कोभिड १९ का गतिविधिबारे छलफल हुने गरेको छ । आजसम्म ताप्लेजुङमा पीसीआर ५५ जनालाई परीक्षण गरिएको छ भने ५ सय २७ जनालाई आरडीटी परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा बसेकामध्ये सिदिङ्वा गापामा ५ जना र पाथीभरा याङ्वरक गापामा १ गरी ६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् भने अन्य सबै घर गइसकेका छन् ।

ताप्लेजुङका पत्रकार ९ जनाले आज पीसीआर परीक्षण गराएका छन् । हिजो १२ गते १२ जना पत्रकारले आरडीटी परीक्षण गराएका थिए भने भोलि १४ गते १० जना पत्रकारले आरडीटी परीक्षण गराउने नेपाल पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ ।

टिप्पणीहरू