यस्तो थियो मन्त्री र सचिवहरुको मोबाइलमा बिहानै आएको म्यासेज

यस्तो थियो मन्त्री र सचिवहरुको मोबाइलमा बिहानै आएको म्यासेज

आज बिहान सबेरै अर्थमन्त्री जनार्दशन शर्माको मोबाइलमा एउटा म्यासेज आएको आवाज बज्यो । म्यासेज खोलेर हेरेपछि लेखिएको थियो, ‘म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’

अर्थमन्त्री जनार्दन शर्मा मोबाइलमा आएको उक्त म्यासेजलाई पटक पटक पढ्न थाल्नुभयो । उनै मन्त्रीहरु, सिंहदरबारभित्रका मुख्य सचिवदेखि सचिवसम्म सबैलाई आज बिहान एकै प्रकृतिका म्यासेजका कारण हैरानी र सास्ती खेप्न बाध्य भएका हुन् । तारन्तार उस्तै प्रकृतिका म्यासेज आएपछि ठूलाबडाको हैरानी बढेको बताइन्छ ।

आजै त्यस्तो म्यासेज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कानुनमन्त्री गोविन्द बन्दीको मोबाइलमा पनि आइरह्यो । आन्दोलनरत नायव सुब्बाहरुले यी र यस्तै प्रकृतिका सात वटा म्यासेज बनाएर तारन्तार मन्त्रीदेखि मुख्यसचिव, सामान्य प्रशासन र अर्थ मन्त्रालयका सचिवलाई पठाएका हुन् ।

त्यसरी पठाइएकामध्ये अर्काे म्यासेजको प्रकृति भने यस्तो छ ः माननीय ज्यू, नायव सुब्बालगायत राजपत्र अनंकित कर्मचारीको वृत्ति विकास खोई ? काम गर्दा सँधै नासु तर तर झार्नुपर्ने सँधै आँशु । राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस् । तहगत प्रणाली लागू गरियोस्, बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस् । बढुवा प्रतिशत घटाउने ? आन्तरिक परीक्षा हटाउने ?

साढे तीन वर्षदेखि अलपत्र पारिएको र आगामी निर्वाचन अगावै ल्याउने तरखर गरिएको कर्मचारीको मूल कानुन संघीय निजामति ऐन र हालैमात्र क्याबिनेटले निर्णय गरेको कर्मचारीहरुको नयाँ तलवमानमा आफूहरुमाथि अन्याय गरिएको भन्दै सुब्बा र खरिदारहरु आन्दोलित छन् । उनै सुब्बाहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत हिजो सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका थिए । आज मन्त्री, मुख्य सचिवदेखि सचिवसम्मलाई म्यासेज पठाइएको आन्दोलनको अगुवाई गरिरहेकामध्ये एक प्रकाश भट्टराईले जनआस्थालाई जानकारी दिए ।

टिप्पणीहरू