बर्डफ्लू प्रभावित किसानलाई राहत, कर्मचारीलाई प्रोत्साहन भत्ता

बर्डफ्लू प्रभावित किसानलाई राहत, कर्मचारीलाई प्रोत्साहन भत्ता

सरकारले बर्डफ्लू प्रभावित किसानलाई राहत दिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यस्ता किसानलाई क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने जानकारी दिएको छ ।

मन्त्रालयले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिने सम्बन्धी मापदण्ड २०७९‘ मा उक्त व्यवस्था गरेको हो । सरकारले उपलब्ध गराएको राहत पाउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित जिल्ला दररेट निर्धारण समितिले क्षति निर्धारण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

सो समितिले प्रत्येक आर्थिक वर्षको साउनभित्र प्रचलित बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्दछ । समितिका सदस्य सचिवले उक्त दररेटको जानकारी भदौ मसान्तसम्ममा पशुपन्छी विभाग र प्रदेश सरकारको पशुपन्छी विकास हेर्ने मन्त्रालयमा पठाइसक्नुपर्ने मापदण्डमा भनिएको छ ।

मापदण्डअनुसार पन्छी नष्ट गरिएको ३० दिनभित्र राहतका लागि आवेदन दिनुपर्ने छ । राहतका लागि उपलब्ध हुने रकम प्रदेशको पशुपन्छी हेर्ने मन्त्रालयमा विनियोजन हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बर्डफ्लू नियन्त्रणका लागि खटिएका कर्मचारीलाई सरकारले प्रोत्साहन भत्ता पनि दिने निर्णय गरेको छ ।

टिप्पणीहरू