आफ्नै मान्छेहरूसँग किन असुरक्षित ?

आफ्नै मान्छेहरूसँग किन असुरक्षित ?

भएभरका मान्छे ‘खास–खास’ छन् । तर, आफ्नाकै भर नभएपछि के लाग्छ र ? यो दुःख हो, एमाले अध्यक्ष केपी शर्मा ओलीको । उहाँले मंसिर १४ गते चितवन महाधिवेशनमा मध्यराति लिष्ट पढेर बनाउनुभएका मान्छेहरु नै पार्टीका केन्द्रीय सदस्य, पोलिट्व्युरो, स्थायी कमिटी सदस्य र पदाधिकारी छन् ।

तर, तिनका बीचमा कुनै विषयको सल्लाह, छलफल र निर्णय गर्नुपर्ने भयो भने साढे सात महिनादेखि उनीहरुलाई पनि सामना गर्ने हिम्मत राखिएको छैन । जबकि, महाधिवेशनमा ओली आफैँले राति साढे तीन बजे उठेर, पार्टीकै निर्वाचन आयोगलाई जानकारी नदिइकन बनाएको कमिटी हुन् ती ।

तर, आज उहाँलाई न पोलिट्व्युरो, न स्थायी कमिटी, केही चाहिँदैन । किनभने, हिजो माधव, झलनाथ, वामदेवहरुले जसरी नै निकटस्थले आलोचना गर्ने पो हुन् कि भन्ने पीर छ ।

दुःख अरु पनि छन् । जस्तो, स्थानीय चुनावको परिणाम भनेर पार्टीबाट एउटा विवरण पेश हुन्छ, निर्वाचन आयोगबाट अर्कै रिपोर्ट आउँछ । भर्खरै निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा एमालेका नेता–कार्यकर्ताले भनेजस्तो समग्र मतमा ऊ सबभन्दा ठूलो दल होइन भन्ने कुरा छर्लङ्ग हुन्छ ।

फेरि एमालेभित्र कस्तो देखिन थालेको छ भने, नेता–कार्यकर्ताहरुले आफूहरू एक–एक भेट्दा ओलीको व्यक्तिवादको विरोध नै गर्छन् । तर, सामूहिक रुपमा भन्दैनन्, भन्न सक्दैनन् । किनभने, कतै सांसद, मन्त्रीको नम्बर कट्छ भन्ने पीर सबैलाई छ ।

त्यसमाथि एमालेको नेतृत्वमा हुनेहरुले १५–२० वर्षदेखि कुनै आदर्शलाई नपछ्याएर मनलाग्दी गर्दै रहेको आरोप छ । त्यसबीचमा पार्टीभित्र एउटा पुस्ता मज्जाले स्थापित भएको छ । उसलाई थाहा छ– कोसँग कसरी बोल्दा स्थापित होइन्छ ।

उहाँ कम्युनिष्ट पार्टीको नेताका रुपमा प्रधानमन्त्री त बन्नुभयो । तर, माक्र्सवादसम्बन्धी कतिवटा प्रशिक्षण चलाइए ? बरु उल्टै ठोरीमा रामको मन्दिर बन्यो । पशुपतिमा जलहारी राखियो ।

तर, गरिवले उपचार र शिक्षा पाएनन् । कोभिड र त्यसले ल्याएको महामारीमा जनताले स्वास्थ्य सेवा पाएनन्, बरु ओम्नी समूहका नाममा अर्बौंको घोटालाबाजी चल्यो । प्रधानमन्त्रीत्वकालमा विभिन्न जिल्लामा विपन्न वर्गका बालबालिकाको अभिभावकत्व ग्रहण गरियो ।

आज तिनीहरुको चिहिलविहिल छ । बरु, ‘व्यक्तिवादी’ भनिएको नेपाली कांग्रेसले सामूहिक छलफल गर्छ, सामूहिक जोखिम उठाउँछ । त्यस्तो काम माओवादी र एकीकृत समाजवादीले पनि गरेका छन् । तर, एमालेमा बैठक–छलफलबाट हैन, बालकोटबाट निश्कर्षमा पुग्ने चलन जारी छ भनिँदै छ ।

टिप्पणीहरू