झ्याप्प तपोवन

झ्याप्प तपोवन

केही दिन भयो, सीके राउत रजनीश आश्रम पुगेर रातो वस्त्र धारण गरेको तस्बिर भाइरल भएको । अहिले फेरि कुलमान घिसिंग रातो वस्त्रमा नाचिरहेको भिडियो भाइरल भएको छ । नृत्यमा उहाँको ठीक ठीकै पकड रहेछ । अलि अभ्यास गरे भांग्रा डान्स राम्रै गर्लान्जस्तो देखिन्छ ।

अहिले काठमाडौंमा कुलमानको नियमित उपस्थिति भएको पाइँदैन । झ्याप्प आउने, झ्याप्प जाने गरिरहेको हुन्छ । झ्याप्प गएपछि मान्छेले ‘लौ, कुलमान गएछ’ भन्ने गर्छन् ।

कुलमान गएछ भनेको सुनेर म छक्क पर्ने गर्थेँ, कहाँ गएहोलान् ? कुलमान वास्तवमा कहाँ जाने रहेछन् भन्ने कुरा त अहिले आएर पो थाहा भयो । उहाँ त ओशो तपोवन पो जाने रहेछ । तपोवनमा नृत्यरत दृश्यसहितको भिडियो हालै रिलिज पनि भएको छ । नृत्य गर्दा रातो वस्त्रमा थिए ।

भनिन्छ, ‘सम्भोग से समाधि तक’ पुस्तकका लेखक श्री ओशोको वनमा जाँदा रातो नीलोको कुरै छोडौं, वस्त्रै नलगाए पनि केही फरक पर्दैन । शायद कुलमानजी ध्यानको त्यो चरणमा अझै पुग्नुभएको छैन होला जहाँ वस्त्रको आवश्यक हुँदैन ।

तर उहाँ यसरी तपोवनतिर नृत्य गर्न जाँदा सर्वसाधारण जनता भने मर्कामा परेका छन् । उहाँ झ्याप्प यता आउँदा, उता झ्याप्प जाने भयो । उहाँ झ्याप्प यहाँबाट जाँदा फेरि झ्याप्प उता आउने । शायद उहाँ यता आउन थालेकै कारणले हुनुपर्छ, नगरमा बिजुलीको यो झ्याप्प झ्याप्पवाला खेल अलि बढी हुन थालेको छ । कुलमानजी, कहिले तपोवानबाट फर्किनुहुन्छ होला हँ ? घरमा काम त गर्नुप¥यो नि !

टिप्पणीहरू