तैं चुप मै चुप

तैं चुप मै चुप

अन्ततः अर्थमन्त्रीको सिसिटिभी फुटेज भेटिँदै भेटिएन । सिसिटिभी छ, त्यसभित्रको फुटेज छैन । अरु जम्मै दृश्य छ, जुन दृश्य चाहिएको हो त्यहीचाहिँ छैन । सिसिटिभीले पनि कहिलेकाहीँ कमालै गर्दो रहेछ । खोज्न त खुबै खोजेको हो ।

तर भेटिएन । कसरी भेट्नु ? हराएको भए पो भेट्नु । फुटेज नभेट्टाई भएन भनी शुरु शुरुमा प्रमुख प्रतिपक्षी एमाले खुबै कराएको थियो । तर पछि अचानक के भयो कुन्नि, एमाले चुप लाग्यो । अहिले पनि चुपै छन् ।

जतिबेला सरकारको सिसिटिभी फुटेज हराइरहेको थियो, ठीक त्यति नै बेला उता एमालेको एम. अधिकारी पनि हराइरहेका थिए । उता सिसिटिभी फुटेज खोजे जस्तै यता एम. अधिकारीलाई पनि खुबै खोज्ने काम भयो ।

अरुभन्दा पनि सत्तारुढ दलका नेता–कार्यकर्ता त्यो काममा लागेका थिए । तर त्यो पनि भेटिएन । एम. अधिकारीलाई सार्वजनिक गर भनेर सत्तारुढ दलका नेताहरूले खुबै आवाज उठाए ।

तर, ती पात्र सार्वजनिक भएनन् । यतिबेला सत्तारुढ दलका नेताहरूलाई पनि के भएको हो कुन्नि, उनीहरू एम. अधिकारी नभेटिएकोमा चुप छन् । कोही बोलिरहेका छैनन् ।

सिसिटिभी फुटेज हराएकोमा एमाले चुप छ । एम. अधिकारी हराएकोमा सरकार चुप छ । तैं चुप मै चुप भनेको यही त होला नि, हैन र ?

टिप्पणीहरू