संवैधानिक परिषद् सात सदस्यीय बनाउन माओवादीको माग

संवैधानिक परिषद् सात सदस्यीय बनाउन माओवादीको माग

नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् सात सदस्यीय बनाउन माग गरेको छ । माओवादी सांसद गंगाकुमारी बेलबासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्थाको माग गरेकी हुन् । उनले परिषद्मा राष्ट्रियसभाका उपाध्यक्षसमेत सदस्य रहने गरी संवैधानिक परिषदमा सात सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख गरि छ सदस्यीय संवैधानिक परिषद् गठन हुन्छ । आज राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बेलबासेले संविधान संशोधन गरेर सात सदस्यीय बनाउन उपयुक्त हुने बताएकी हुन् ।

‘संवैधानिक परिषदमा संविधान नै संशोधन गरेर भए पनि सात सदस्यीय व्यवस्था गर्न म माग गर्दछु,’ उनले भनिन्, ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख रहने व्यवस्था छ । यसमा राष्ट्रियसभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् ।’

संवैधानिक परिषदसम्बन्धी विधेयक सभामा छलफल भइरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराएकी छन् । परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन सात सदस्यीय बनाउन उपयुक्त हुने उनको भनाइ छ ।

टिप्पणीहरू