लकडाउनमा देउराली « Jana Aastha News Online
Logo
१७ मंसिर २०७८, शुक्रबार
|  Fri Dec 3 2021

लकडाउनमा देउराली

प्रकाशित मिति :  १४ जेष्ठ २०७७, बुधबार १७:४७


यतिबेला सिंगो देश कोरोना कहरले लकडाउनमा परेको छ । गाउँलेको मौलिक समाजमा पुँजीवादले टेको लगाउने ठाउँ बनेको छ आजका गाउँले बजारहरू । त्यस्तै एक थियो, हाम्रो आधुनिक गाउँले देउराली बजार उर्फ देउराली डाँडा । देउराली चौबाटो हो, गाउँको एक चोक हो । गाउँले भेला हुने थलो हो । यहाँ एक स्कुल छ । केही दिनपहिले यही देउरालीमा जिल्लामा दुई गुट भएका कांग्रेसका लामा केसी समूहमा विभाजित नेताहरूको बथान एक हुल भएर एकै मञ्चमा नारिँदै देखा परेका थिए । त्यो बेलाबाट तातेको राजनीतिको गरमागरम बहस यो बेला भने सेलाएको छ । देउरालीका पसल बन्द छन् । विद्यालय बन्द छ, विद्यार्थी शून्य छन् । तर, जारी छ देउरालीको दैनिकी भने आज पनि उस्तै थियो पारि क्षितिज हिमलहरको सामीप्यमा उन्मुक्त हाँसो हाँसिरहेको छ । तल तल बेंसीतिर अविरल बगिरहेको त्रिशूली गंगा उस्तै थिइन् निर्मल र कञ्चन ।

बिहान सखारै भालेको डाँकोसँगै होइन, आर्लाम र मोबाइलको रिङटोनसँगै ब्युँझिन्छ यो देउराली आजभोलि । यहाँका जनहरू कतिपयचाहिँ पूर्वीय बतासको चिसो सिरेटोले कानमा सप्काएपछि मात्रै हाई काढ्दै ब्युँझिने गरेका छन् । रेडियो नेपालको शंखध्वनि मात्रै होइन, एकाबिहानै रेडियोहरूले नारायण पोखरेलको सप्ताह र बाइबलमा प्रभु येशूको पवित्र वाणीलाई मिर्मिरेको यो प्रहरमा कानै चिप्लो हुनेगरी फलाकिरहेका ध्वनिहरू गुन्जिरहेका थिए । आधारातमै उठेर रित्तो गाग्री बोेकेर पिप्ला पँधेरो र पात्ले पँधेरोतिर उछिनपछिन गर्दै कुद्ने जमाना होइन यो । अहिले त घर–घरमा काभ्रेलेकको पानी झरेको छ । मिटरको अंक हेरेर पैसा तिर्छन् र गाउँलेको दैलोमा गाग्री भरिन्छ । पानी बोक्ने ठेक्का पाएका महिलाले यही चोलामा मुक्तिको श्वास फेरेका छन् आजभोलि गाउँमा । तर, पँधेरामा हुने घण्टाको गफ हराएको छ, दौंतरी छुट्टिएको छ । यसका लागि अरु समय जुराउनुपर्ने आपत् पनि थपिएको छ । तर, यो लकडाउनले छोपेको बेला एकाबिहानै उठेर आँखा मिच्दै लखरलखर देउरालीतिर जानेहरूको घरमा चाहिं महिला अचम्भित छन् । लोग्नेमान्छे पनि यसरी घरमा थुप्रो लगाएर बसेको देख्दा श्रीमतीहरू चकित छन् । अझै घर आँगन सफाइदेखि बस्तुभाउ घाँसपानीको काममा समेत उनीहरूले आफूलाई राहत मिलेको देख्दा भने मनमनै यो कोरोना अझै बसिरहे पनि हुँदो हो जस्तो लाग्दै छ होला । तर, देउरालीमा जति चिया घरमै खान थालेपछि घरको काम बढेको छ । अर्को सास्ती उनीहरूलाई थपिएको छ झनै ।

हरेक दिन देउरालीमा एक पाइलो नटेकी निद्रा नलाग्ने समुदाय देउराली वरपर तलमाथि धेरै छन् । उनीहरूलाई चाहिँ यो लकडाउन जेल परेजस्तो लाग्दै छ । यहाँको एक दूध संकलन केन्द्र बन्द भएको छ । यो बन्दले गाउँलेको आम्दानीको मेलो मासिएको मात्रै कहाँ हो र ? घरमा लैनो भैँसी, गाई पाल्नेहरूका सुकेका ठेकी भाँडा पनि रसाउन थालेका छन् नि अचेल । मोही मागेर खान पाइन्छ अचेल । दूध, दही र मोहीको अधिक खपतले मान्छेहरू अलि रसिला भएका छन् । घ्यूको उत्पादनले खाली हर्लिक्सका सिसी भरिभराउ भएको छ घरघरमा । केही सानोतिनो खुद्रा किनमेलमा आएका केही गाउँले अनुहार देखाएर बिदा हुन्छन् । दुई पाथी दूधमा चार पाथी पानी मिसाएर चिया बेच्नेहरूलाई चाहिं यो बखत चियापसल र मसानघाट उस्तै लाग्दो हो । यस्तै यस्तैमा आकाशको घाम चुरोसाइकोडाँडा काटेर टाउकोमाथि आइपुग्छ र बिहानी ओझेल परेको संकेत मिल्छ ।

बेतपानी र घिमिरेटोलका जनहरूको भालुरुम्टोको गाउँबासीका खेती गर्नेहरूलाई उस्तै छ सास्ती उहीले बाजेको पालादेखि अहिलेसम्म । तर, रछ्यानको पाटो मासेर आएको सडकले बदलेको गाउँमा दिएको समृद्धिको उपहार हो गाउँले सडक । यो लकडाउन निरीक्षण गर्न एक लट पुलिसको सरकारी भटभटेले गस्ती गरेको देख्दा फेरि संकटकाल लाग्न खोजेको आभाष सजिलोसँग गर्न सकिन्छ । अर्चले गाउँलेलाई साँधीखोला तरेर आउन बन्देज छ । चार गाउँको गोठालो चार जना पुलिसले के पत्तो लाग्न सक्नु र बरै ? तैपनि आदेशको शिरोपर जारी छ । यता गाउँमा साउने पानी छल्न माइती गएजस्तो कोरोना छल्न शहरबाट गाउँ छिरेका लाहुरेहरूको उधुम छ । उनीहरू बिदा मनाउन हिँडेका अल्लारे प्रेमीजस्ता छन् । कतिलाई दशँै आएजस्तो रमाइलो छ । अनि कतिचाहिँ दशैँ आउने दिन गनेर रमाउने केटाकेटी बालपनजस्तो लकडाउन खुल्ने दिन गनेर शहर फर्कने दिन कुर्दै आँैला भाँच्दै छन् । बाह्रमुरे गैरीको खेतमा टन्न हिउँदे धान रोपिएको छ । शहरको सपनाहरूले बाँझिएको माइली कमिनीको खेतमा ढलीमली छ हाम्रो काकाका गोरुलाई पनि । अनि नोखनाथ काकाको भने घरखेत गर्ने दैनिकीलाई यो लकडाउनले भने फिटिक्कै छोएको छैन । जति देउराली बजारलाई छोपेको छ ।

शहरिया मनुवाहरू भने बन्धनमा परेको बँधुवा गाई फुकाउँदै उफ्रँदै नाचेजस्तो गाउँघरतिर नाँच्दै हिँडेका छन् । तर, शहरियाहरू चरुवा गाईवस्तुजस्तो मान्छे बधुवाजस्तो भएका छन् घरमा । कोरोनाको त त्रास मात्रै आएको हो गाउँतिर केबल हल्लै हल्लाको । कोरोनाभन्दा राहत भने साँच्चै आएको देखेको छ यो गाउँले । अस्ति भर्खरैजस्तो लाग्छ । भुइँचालो आएर गएपछि (०७२ मा) हो, यो राहतको राजनीति गाउँतिर पसेको चाहिँ । अब यो बेलामा पनि एक बाली भोट फकाउन राहतको राजनीति शुरु भएको छ गाउँमा । अरुबेला काम नलागे पनि भोलि–पर्सि भोट फकाउने बेला काम लाग्छ यस्ता बेला बखतका राहत भन्नेचाहिँ हाम्रो गाउँका नेताले राम्रो बुझेका छन् । त्यसैले उनीहरू को–कसलाई राहत दिने ? किन राहत दिने ? भन्नेचाहिँ कुनै तर्क थिएन । तर, त्योभन्दा गज्जब थियो राहत पाउनेको तथ्यांक । त्यो हेरेर अनेक बहस चल्न थालेको छ बसाइमा टोल–टोलपिच्छे । केदारबाले भोट हालेको कथाजस्तो । त्यो कथा कस्तो थियो भने केदार दाहाल थिए राजनीतिक सामाजिक अगुवा यो गाउँका । उनी बितेको धेरैपछि यो गाउँमा कांग्रेसले गाउँ अधिवेशन गरेको थियो । हार्ने पक्षले धाँधली भएको आरोप लगाएको थियो । छानबिन गर्दै जाँदा थाहा लाग्यो कि परलोक भएका केदारबाले पनि आएर एक भोट ठोकेको रेकर्ड पो फेला परेछ त्यसपछि छानबिन डिसमिस । यस्तै छ, राहत वितरणको तथ्यांक पनि भूकम्पदेखि कोरोनको राहतको राजनीतिमा । नभएका छोराछोरीदेखि भकरी भरी धान बिट मारेर राहत थाप्नेहरू र किर्ते काइते लिस्ट त कति भए होला कुन्नि त्यो हिसाब साँधीपिपलको चौतारोलाई मात्रै थाहा छ ।

राहत वितरणमा पनि सामाजिक दूरी पालना थियो । गाउँलेलाई चाहिं त्यो दूरी भूतको ओढारका कथाजस्तो लाग्ने । एक भाग लाएर सडक छेउमा राखेपछि टिपेर लाने । उहिले यो गाउँले राजनीतिको नायक खोज्नलाई झिल्टुङतिर नियाल्ने गर्थे तर आज राजनीतिको आशा यो बेला भने बाघखोरमा आएको गाउँले सिंहदरबारतिर ठाडो घाँटी लाएर हेर्नुपर्ने बेला भएको छ । त्रिशूलीमा अस्पताल छ तर गाउँलेलाई भने ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भनेजस्तो छ । आखिर गाउँमा स्वास्थ्यचौकी भन्दा प्रहरी चौकी राख्ने हतारो छ हेरौं के होला अब फेरि गाउँमा पुलिसचौकी ल्याउन जुलुस लाग्ला कि स्वास्थ्यचौकीको मागमा ? अलि राजनीतिका पाका मान्छेहरूको अनुमान छ, यो देउरालीको डाँडामा भोट हालेर ल्याएको यो गाउँको शासन उति फापेको छैन रे ! त्यही भएर यो पाला पनि ठेगान हुन नसक्ने कतिपयको ठहर छ । उहिले ०४५ सालमा होस् कि अहिलेको ०७४ सालमा यो डाँडामा भोट हालेर ल्याएको शासन उति टिक्ने छाँट छैन अहिले यही लख काट्न थालेका छन् ।

हरेक महामारी र विपत्तिले गाउँलाई दिएको दर्द कम्ती थिएन । कोही सुनाए कोहीले सुनाउन उचित ठानेनन् । विस्तारै भुलाउँदै गए पीडाहरू । पछिल्लो भोगाइ कसैको विस्मृतिमा ताजा छन् होलान् त ? भनेर हजुरआमाहरूको पुस्ताका कथा खोजी गरे भर्चुअल दुनियाँमा नभेटे पनि केही अगार्निक कुरा भने भेटियो । गाउँमा पहिला कांग्रेसको हाउगुजी आयो रे ! खसी काटेर खाए रे ! भैँसी फुकाएर लगे रे ! भन्ने मात्रै सुनेका थिए तर यो गाउँमा भने त्यो हाउगुजी आएनछ । त्यो कुरा रहेछ ०१७ सालको कांग्रेसको नाममा भएको लुटपाट आतंक । हैजा पनि आएको रहेछ उबेला । त्योभन्दा चर्कोचाहिँ विफर आतंक छाएको रहेछ यो गाउँमा । बा हजुरबाहरूको पुस्ताले सामना गरेको यो तथ्यको ५५ वर्षपछि यो समाजले गरेको अनुमान र सामाजिक सञ्जालबाहिर रहेको हजुरआमाहरूको तर्क र अनुभूति नियाल्दै थिएँ म ।

कुरा २०२१ सालको रहेछ । उबेला पनि अहिलेको लकडाउनजस्तो ओल्लो पल्लो टोलमा आउन जान प्रतिबन्ध थियो । गल्ली गौंडा बन्द गरेका थिए गाउँलेले । विफरले सताएको रहेछ यो गाउँमा ठूलाघरे कान्छो, बाँस्कोट साइला (बुद्धिसागर बाँस्कोटा) र तल्ला थोेके काइला (विष्णुहरि नेपाल)लाई । तीमध्ये नेपालथोकमा थिए दुई बिरामी ठूलाघरे कान्छो र बाँस्कोट साइलाचाहिँ । बाँस्कोटाहरू हुने–खाने परिवार चल्तीका थिए । बुद्धिविलासको नामै काफी थियो गाउँमा । उनले रातारात कान्छो छोरा पठाए लाल्टिन बालेर औषधि लिन र त्यही एक मात्र औषधिको भरमा जोगियो ज्यान बाँस्कोटा साइलाबाको ।

यो महामारीको प्रलयकारी रोग तल्लो गाउँतिर आउला भनेर चनाखो हुँदै पोखरीडाँडालाई लक्ष्मण रेखा बनाएका थिए तल्ला थोके काइला बाले । तर, विफर रोगले भने गाउँभरिमा उनै एकलाई सुताएर छोड्यो । तल्ला थोेके काइलाबा बिफरसँग जुधे र त्यो महामारीको काल कटाएर तंग्रेपछि हो रे ! मायालु बुहारी बोकेर गाउँबाट लापत्ता भएका आजसम्म फिरेका छैनन् बुढा । उता, ठूलाघरे कान्छोको तीन जना परिवार नै रोगले आक्रमण गरेको थियो । बा र छोरी विफरले परमधाम भए । आमा फिरेर आइन् त्यो काल कटाएर । ओखतीमुलोको उति जोहो नभएको समयमा गाउँमा पाइने केराको पातमा ओछ्यान लगाएर त्यही पात ओढाएरसमेत बिरामीलाई राख्ने गरेका थिए । त्यो केराको पातमा के छ अर्थ ? थेरापी वा आयुर्वेद पद्धति वा गाउँलेको लाटो बुद्धी उनै जानुन् तर मिहिनेती समुदायले भोगेको एक सास्तीको अनुभव हो ।

उहिले वस्तु विनिमयको आधार थियो । मेला पर्म परेली, पैँचो। नहुनेले हुनेसँग लिएर खान्थे । यो राहतको राजनीति थिएन र पनि गाउँले बाँचेका थिए । गाउँले समाजको प्रथालाई पुँजीवादी बजारले विस्थापन गर्न निरन्तर आक्रमणको प्रयास गरिरहेको छ । आयातीत सभ्यता र संस्कृतिले छोपेको गाउँ, यो लकडाउनको बेला मौलिकता फर्किन सक्छ होला त गाउँमा । हामी आफ्नै जमिनको माटोमा उभिन सक्छौँ । हो त्यसका लागि जनताको वास्तविक जनमानसमा सामाजिकसत्ता संस्कृति र उत्पादनको अभ्यास गर्ने उपयुक्त बेला हो यो । के हामीले नयाँ जनसमाज र संस्कार निर्माण गर्न केही पहल गर्छौं त ? समयको प्रश्न हामीतिर पनि सोझिएजस्तो लाग्छ । तर, त्यो बाटोमा हिँडाउने साहस गर्ने कसले ?

यस्तै दिन दैनिक र खोजमेलामा बस्दै गर्दा दिन ढल्दै गएछ । घाम पश्चिम पहाडतिर पहेँलो भएको थियो । घाँसे गोठाला फर्कंदै थिए घरतिर । शहरको जुलुसजस्तो बाँसको झाङमा सारौटेहरूको कोलाहल चल्दै थियो । पारिघरे दाइले बेलुकापख चिउरी गैरातिर बाघ करायो भन्दै गरेको हल्लाको त्रासमा माथिल्लो गाउँसम्म परेजस्तै छ यो गाउँमा कोरोनाको त्रास पनि । न देख्नु न सुन्नुको त्रासले त्राहिमाम छ गाउँ । घाम डुबेपछि झ्याउँकिरीको लयमा लय हाल्दै निदायो देउराली । फेरि ब्युँझिदैछ हरेक बिहानीको सुनौलो घाममा उही कथा र उस्तै कथाका नयाँ अध्याय बोकेर ।


प्रतिक्रिया दिनुहोस !