सहायक श्रीमानलाई अन्तर्राष्ट्रिय अवार्ड

सहायक श्रीमानलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालको दुर्गम भेगमा कायम रहेको बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको छ । अमेरिकाको एटलान्टामा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिभलमा उक्त फिल्मलाई उत्कृष्ट ठहराइएको छ ।

हिजो आयोजित समारोहमा को–हजबेन्डलाई उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्रदान गरिएको छ । अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले नेपाल र नेपालीका लागि उक्त अवार्ड गर्वको विषय भएको बताएका छन् ।

उनले भने,‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीचको प्रतिस्पर्धामा जित्नु आफैँमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर उच्च बनाउने विश्वास लिएको छु ।’

उनका अनुसार यो डकुमेन्ट्रीले हालसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मीनेटको डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन भएको हो । हुम्लामा अझै पनि घरका सबै दाजुभाइसँग एउटी युवतीले विवाह गर्ने अनौठो चलन छ, जसलाई छोटो डकुमेन्ट्रीमा उतारिएको छ ।

टिप्पणीहरू