यस्तो हुन्छ कहिलेसम्म ?

यस्तो हुन्छ कहिलेसम्म ?

नेपाल प्रहरीको सिपाहीको आवेदनमा छनोट भएर तालिम कुरेर बसेको नवजवानलाई एकाएक विपनामै श्रद्धाञ्जली दिनुपरेको कहालीलाग्दो काण्ड घटेको केही घण्टा होइन, केही दिन बितिसकेका छन् ।

यो देवकोटाको मुनामदनजस्तो पनि भएको छैन, यहाँ मदनरुपी नवराज विक कुनै कालगति वा हिउँको थुप्रोमा घुसारिएर मरिरहेका छैनन् तर घाइते मदनलाई बचाउनुपर्ने दायित्व जसरी मुनामदनमा भोटका एक वृद्धले गरेका छन्, विडम्बना यहाँ त नवराजलाई आफैँले घाइते बनाउँदै, लाठी र मुंग्राले लखेटीलखेटी टाउको फुटाएर तैरिन नसक्ने अवस्थामा जबर्जस्ती भेरीमा हालिएको छ ।

प्रेमको परिभाषाको सिद्धान्त हारेको हो कि जितेको छुट्याउन गाह्रो भइरहेको छ । माओवादी जगजगी कालमा रुकुम साँच्चिकै सांस्कृतिक रुपान्तरणको उद्गमस्थल थियो । अहिले त्यही उद्गमस्थलमा प्रेम प्रकरण जघन्य हत्याकाण्ड हुनु आफैंमा लाजमर्दो छ । अखबारमा सुनिएझँै यो अन्यायपूर्ण आक्रमण आफ्नो भलिबल खेलको कौशलता देखाएपछि प्राप्त भएको प्रेम र जीवनमा आएकी प्रेमिकालाई दुलही बनाउन जाजरकोट, भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक आफ्ना १९ जना साथीसहित रुकुम, चौरजहारी नगरपालिका–८ की मल्ल थर की प्रेमिकाको घर पुग्दा मानवताविरोधी र अहंकारी प्रतिवाद सिकार भएर आफ्ना निर्दोष साथी टीकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढासँगै सदाका निम्ति अस्ताएका छन् भने सन्दीप विक र गोविन्द शाही भेरीको खोचमा बेपत्ता छन् ।

आखिर कहिलेसम्म यो वर्गको आँसु, पसिना र रगतमाथि खेलबाड भइरहन्छ ? हाम्रो देश नेपालमा छुवाछुत कसुर र सजाय ऐन २०६८ लागू भइसकेको परिस्थितिमा पनि यस्ता घटना हुनुले समाज कता दौडँदै छ भन्ने प्रश्न तेर्सिएको छ । कतै छुवाछुतमुक्त राष्ट्र घोषणा, कतै कागजमा मात्र सीमित भएको त होइन ?

सामन्ती र संकीर्ण सामाजिक अभ्यासको यो प्रक्रिया जनवादी शिक्षा पाएका वडाध्यक्ष घटनास्थलमा पुगेका असइ र परेट खेलेर हुर्किएको सिँगो गाउँले रोक्न नसक्दाको परिणामले घटेको यो सामूहिक हत्याकाण्डले राष्ट्रिय रूपमा ठूलो बहस पैदा गरेको छ, नयाँ संविधान जारी भइसकेपछि पनि राज्य र सरकार चलाउनेहरूले नयाँ युगको कृत्रिम उद्घोष गरेर काठमाडौंका बिजुलीका पोलमा आफ्ना तस्बिरले रंगिन त बनाए तर समग्र देश र समाज भने ब्लाक एन्ड ह्वाइट नै रहेछ भन्ने कुरा भेरीको तीरमा घटेका सामाजिक रुपान्तरणविरुद्ध भएको सामूहिक नरसंहारसँगै एउटा चोखो प्रेमको दुःखद अवसानले पुष्टि गरेको छ ।

टिप्पणीहरू