माधव नेपालको जिल्लाका मान्छे भित्र्याउन ओली भोलि रौतहट

माधव नेपालको जिल्लाका मान्छे भित्र्याउन ओली भोलि रौतहट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि रौतहट जानुहुने भएको छ । उहाँ गौरमा आयोजना गर्न लागिएको आमसभा तथा अन्य पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश कार्यक्रममा सहभागी हुन त्यता जान लाग्नुभएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरमा ओलीले अन्य पार्टी छाडेकालाई एमालेमा प्रवेश गराउने मुख्य कार्यक्रम छ । सोही कार्यक्रमलाई लिएर रौतहटमा एमालेका नेता तथा कार्यकर्ताबीच पोष्टरबाजीको प्रचार तीब्र भएको छ ।

नेकपा माओवादी केन्द्र छाडेर एमाले छिरेका नेता प्रभु साहको टिमले ‘गौर चलु,गौर भरु’ को नारा व्यापक बनाएको छ । प्रभु साहलगायत एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाह,जिल्ला इञ्चार्ज उपेन्द्र साह,जिल्ला अध्यक्ष त्रिभुवन साहले केपी ओलीको फोटोसहित व्यापक प्रचार गरेका छन् ।एमालेकै अर्काथरि नेता तथा कार्यकर्तामध्ये केन्द्रीय सदस्य उध्दव रेग्मी,संघीय सांसद रेखा झा, संविधानसभा सदस्य बबन सिंहले पनि ओलीको फोटोलाई सामाजिक सञ्जाल रंगाउनमा प्रयोग गरेका छन् । भोलि अध्यक्ष ओली गौर आउन लागेको सुईंको प्रेस चौतारी नेपाललाई समेत नदिएको भन्दै एमाले निकट पत्रकारहरुले जिल्ला नेतृत्व र प्रभु साहको आलोचना गरेका छन् ।

“गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्तासहित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का सय जनाभन्दा बढी नेता,कार्यकर्ता भोलि ओलीको हातबाट टीका लगाएर विधिवत रुपमा एमाले प्रवेश गर्ने कार्यक्रम छ ।”

ओली गौर आउने कार्यक्रमलाई लिएर एमालेबीच दुई धार स्पष्ट रुपमा देखा परेको छ । गत स्थानीय निर्वाचनमा एमाले उम्मेदवार हराउन सहयोग गर्ने समूहलाई प्रभु साहसहितको टोलीले बोकेर हिँड्न थालेपछि अर्का पक्षीय नेता तथा कार्यकर्ता साह एण्ड कम्पनीबिरुध्द खनिएका हुन् ।

एमाले रौतहट जिल्ला उपसचिव रुपेश पटेल र प्रदेश सदस्य सचिदानन्द साहलाई कारवाही गर्नुपर्ने भन्दै साहनिकट नेताहरु मैदानमा उत्रेपछि एमालेका स्थानीय नेताहरु साहविरुध्द लागेको स्पष्टसँग देखिन्छ । जिल्ला कमिटीका सचिव र उपसचिवबाहेक सबैजना पदाधिकारी पूर्व माओवादी हुन् । उनीहरुले आफूविरुध्द लाग्नेलाई विभिन्न बहानामा पछाडि पार्ने काम गरेको एमाले रौतहटमा चर्चा छ ।केही दिन पहिले जिल्लाको मध्यभागमा अवस्थित गरुडामा सम्पन्न अखिल नेपाल महिला संघको जिल्ला अधिवेशनमा पनि माओवादीबाट प्रवेश गरेका नेताहरुले पुरानालाई पत्तासाफ गर्ने भनेको एमालेवृत्तमा चर्चा छ । एमाले विद्यार्थी नेतासमेत रहेकी आरती भण्डारीे प्रदेशसभामा समानुपातिक सदस्य बन्नैको लागि साहको इशारामा चल्ने गरेको आरोप लागेको छ । अखिल नेपाल महिला संघमा पनि पूर्व माओवादी नेताहरुले बर्चश्व कायम गरेको रौतहटमा व्यापक चर्चा छ ।

साहविरुध्द खरो रुपमा उत्रने गरेकी संघीय सांसद रेखा झाले उनको हेपाहा प्रवृत्तिविरुध्द चर्को आवाज उठाउँदै आएकी छन् । अहिले रौतहटमा प्रभु साह प्यानल कुनै पनि हालतमा एमालेको आधिकारिक समूहलाई सिध्याउने अभियानमा लागेको नेता तथा कार्यकर्ताको बुझाइ छ । आउँदो संघीय तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि अवस्थामा भाडाका मान्छे बटुलेर भए पनि आफू निकटलाई उठाउने प्रपञ्च रचेको भन्दै रौतहटमा साहको आलोचना बढेको छ ।

साह विरोधी नेता तथा कार्यकर्ता भने पराजितै हुनु परे पनि आफ्नै पार्टीका उम्मेदवारलाई मैदानमा उतार्नुपर्ने अडानमा देखिन्छन् । साहले रौतहट क्षेत्र नम्बर १ मा गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्तालाई मैदानमा उतार्न भोलिको आमसभा आयोजना गरेको भन्नेहरु पनि छन् । पाँच वर्षअघिको संघीय निर्वाचनमा निर्वाचित पूर्वमन्त्री अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गत स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको आरोप लाग्दै आएको छ ।

सोही कारण गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्तासहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका (लोसपा) का सय जनाभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए । उनीहरु भोलि ओलीको हातबाट टीका लगाएर विधिवत रुपमा एमाले प्रवेश गर्ने कार्यक्रम राखिएको छ । स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकालाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप छ ।

सांसद बाबुलालले एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवार भएका भतिज शम्भु साहलाई सघाएको उनीहरूको आरोप छ । दुर्गा भगवती गाउँपालिकामा अध्यक्षको उम्मेदवार भएका माओवादी केन्द्रका शम्भु सिंहलाई पनि संघीय सांसद अनिल झाले अप्रत्यक्ष रूपमा सहयोग गरेको उनीहरूले बताए । सोही असहयोगले आफूहरू पराजित भएको उनीहरूले बताउँदै आएका छन् । त्यही झोंक फेर्न उनीहरुले भोलि ओलीको उपस्थितिमा एमाले प्रवेश गर्ने भएका हुन् ।

टिप्पणीहरू