दुःखमाथि झन् अपमान खप्टिएको त्यो दिन

दुःखमाथि झन् अपमान खप्टिएको त्यो दिन

भनिन्छ, हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ । जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौँ/चिच्याउँछौँ, ‘डिप्रेस’ हुन्छौँ । तर, अगाडि रहेका अरु तीनवटा खुला ‘द्वार’ देख्दैनौँ ।

सानैमा आमा बितेपछि उपचारका लागि बुबाले मलाई काठमाडौँ ल्याउनुभयो । पोलियोले सताएको रहेछ । दुई वर्षसम्म उपचार गराउँदासमेत २० को १९ भएन । निको नभएपछि एक मात्र सहाराको रूपमा रहेका बुबाले काकाको साथ लगाएर छाड्नुभयो । बुवा त आफ्नो हुनुभएन नै, काका झन् आफ्नो हुने कुरै भएन । उहाँले पनि छाड्नुभएपछि मेरो बालमस्तिष्कले केही कुरा सोच्नै सकेन ।

अभावै अभावका पहाडबीच हुर्किएँ । थाहा छैन, मलाई जन्म दिने आमा कस्तो हुनुहुन्थ्यो । उहाँको तस्बिरसमेत देखेको छैन । आफन्तले त्यागेपछि अन्ततः पुगियो धोबीघाटस्थित अनाथ आश्रममा । त्यहीं अन्य टुहुरा बालबालिकासँगै बसेर औपचारिक शिक्षा, संस्कार र औषधोपचार पाएँ र २३ वर्षको उमेरमा निस्किई बाहिर काम गर्न थालेँ । त्यसपछि शुरु भयो दुःखका दिन । धेरै समय धर्मपुत्र भएर घरको काम गरियो । जेनतेन गुजारा चलाइरहेको थिएँ ।

काम गर्दै जाँदा आफन्तजस्ता साथी पाएँ र तिनैको सहयोगमा ४० वर्ष पुग्नै लाग्दा रच्चुसँग बिहे गरेपछि जीवनले नयाँ मोड लियो । मलाई, मेरो रोग र व्यथालाई बुझ्ने, आफूलाई भन्दा पनि बढी माया गर्ने, जस्तोसुकै परिस्थितिमा साथ दिने श्रीमती पाएँ । श्रीमतीले नै काम गरेर दुई जनाको जीविकोपार्जन गरिन् । त्यसपछि दुई जना मिलेर ठेलामा मःम बेच्न थाल्यौँ तर हाम्रो मुलुकमा गरिब र गरिबीलाई नै धेरै नियम कानुन लाग्छ । पालिका र नगर प्रहरीले बाटोमा मःम बेच्न दिएनन्, सटर खोलेर व्यापार गरौँ, पैसा थिएन ।

त्यही समयमा श्रीमती गर्भवती भइन् । घरमै बसेर मैनबत्ती, अगरबत्ती बनाउन थाल्यौं । श्रीमतीले अफिसमा लगेर बेच्ने काम गरिन् । त्यसपछि दुःखसुख गरेर पसल खोल्यौं । दुःख र अभावसँग जुधेर गुजारा चलाइरहेका हामीले ०६५ सालमा छोरा जन्मायौं । तर, छोरा जन्मजात सुस्तमनस्थितिको, त्यहीमाथि थपियो ब्लड क्यान्सर । ३ महिनासम्म आइसियुमा राखेर घर ल्याइयो । बिरामी भइरहने भएकाले काम गर्नु कि बच्चाको केयर गर्नु ? सुस्तमनस्थितिको ऊ अहिले १३ वर्ष पूरा भयो ।

तीन वर्षसम्म अस्पतालमा रोएरै बिताइयो । भन्छन् दुुःखीलाई भगवान्ले पनि दुःखै मात्र थपिदिँदा रहेछन् । विभिन्न संघसंस्था र साथीभाइको सहयोग र आफूले मिहिनेत गरेर कमाएको पैसाले छोराको उपचार गर्न सफल भयौं । अहिले छोरा क्यान्सरमुक्त भएको छ तैपनि बाबुआमा छोराको स्वास्थ्यप्रति सचेत छौं । महिनैपिच्छे चेकअपको लागि अस्पताल पुग्छौँ । समर्पण हो उसको नाम ।

सुस्तमनस्थितिका बालबालिका पढ्ने विद्यालयमा पढ्छ । आफ्नो खुट्टा नचले पनि र छोराको अवस्था खराब भए पनि मैले जीवनमा हिम्मत हारिनँ । सुनेको थिएँ, सबथोक खानू, हरेश कहिल्यै नखानू । अझै अहिले पठाओले अवसर दिएपछि आत्मविश्वास झनै बढेको छ ।

नगर प्रहरी र पालिकाले अति दुःख दिएपछि ऋण काढेर, सटर भाडामा लिई चिया पसल खोलेका छौं नख्खुमा । श्रीमतीले चलाउँछिन् । म पठाओ राइडरको रूपमा काम गर्छु । चार वर्ष हुन लाग्यो काम शुरु गरेको । पोलियोको कारण खुट्टाले काम गर्दैन । खोच्याउँदै स्कुटर भए ठाउँमा पुग्छु र बैसाखीको सहाराले यात्रा गर्छु ।

शारीरिक अपांगता भएका व्यक्ति हिँड्न सक्दैनन् तर आत्मविश्वासले नै हो मसहितका पाँच जना अहिले अरुलाई गन्तव्यमा पु¥याउने पेशामा आबद्ध भएर आम्दानीको स्रोत पनि बढाइरहेका छौं । आफू हिँड्न नसके पनि हामी अरुलाई गन्तव्यमा पु¥याइरहेका छौं ।

यो अवधिमा थुप्रै तीता–मीठा अनुभव सँगालेको छु । राइडरका रूपमा काम थालेको पहिलो दिन नै दाँतमा ढुंगा लागेझैं भयो । जाउलाखेलमा यात्रु लिन गएको थिएँ तर ती यात्रु मेरो स्कुटरमा चढ्न मानेनन् । तपाईं अपांग हुनुहुँदोरहेछ भनेर राइड क्यान्सिल गरे । त्यो अपमानले शुरुमै निराश भएँ । एक सातासम्म घरबाटै निस्किन सकिनँ । फेरि एक जनाले गलत व्यवहार ग¥यो भन्दैमा सबैले गर्दैनन् भन्ने अलिकति साहस र हिम्मत जुटाएँ र हिँडेँ ।

धेरै व्यक्ति मेरो स्कुटीको पछाडि बस्नुहुन्छ र गन्तव्यमा ओर्लिएपछि भन्नुहुन्छ– हामीसँग दुबै हात खुट्टा सग्ला भएर पनि केही गर्न सकेका छैनौं तर तपाइले त हामीलाई पनि प्रेरणा दिनुभएको छ । कतिपय मनकारी यात्रु गन्तव्यमा पुगेपछि झर्नुहुन्छ र हौसला थप्नुहुन्छ । हामी छौं, परेका बेला सहयोग गर्छौं भन्नुहुन्छ ।

आफ्नो कामलाई निरन्तरता दिनुहोला भनेर हौसला र ऊर्जा थप्नेहरू पनि देखिनुभएको छ । केहीले चाहिँ गल्लीगल्लीमा बोलाएर उल्टै गाली गरेर पठाएका पनि छन् । यस्ता घटनाले बिचलित बनाएन । यो चार वर्ष मैले पैसा कम र आत्मविश्वास ज्यादा कमाएको छु । आखिर मनमा जतिसुकै पीडा भए पनि काम गर्ने जोश र हिम्मत चाहिन्छ ।

पठाओबाट दैनिक १ हजारदेखि १५ सयसम्म आम्दानी थपिएको छ । यसले गर्दा जीवनमा दुःखको छायाँ अलि पातलो भएको छ । पठाओमा अहिले सयौं राइडर जोडिएर आम्दानी गरिरहेका छन् । हामी फरक क्षमताका पाँच÷सात जना चालक छौं । पठाओले राइडरसँग २० प्रतिशत कमिसन लिँदै आएको छ । हामी फरक क्षमताका चालकलाई कम्तीमा ५ प्रतिशत मात्र छुट गराइदिनुहोस् भनेर अनुनय–विनय ग¥यौँ तर मागको सुनुवाइ भएन ।

अहिले पसलबाट कमाइ भएको पैसाले जीविकोपार्जन गर्दै आएका छौँ भने पठाओ को पैसा छोराको स्वास्थ्योपचार र पढाइमा खर्च गर्छाैं । कुनै पनि गन्तव्यमा पुग्न आफ्नो पाइला अगाडि बढाउनुपर्छ । कर्मबिना गन्तव्य भेट्टाउन निकै मुश्किल हुने गर्छ । त्यसैले कर्म गर्नु एक सफल जिन्दगीको अस्त्र हो ।

जो–कोहीले यो कुरालाई स्वीकार गर्नुपर्छ । दुःखबाट टाढा भाग्न हुँदैन । दुःख भनेको सुख दिने पहिलो बिन्दु हो । जसले आज दुःख गर्न सक्छ, परिश्रम गर्न सक्छ उसैले भोलि सुन्दर जिन्दगी पाउने हो । आफ्नो जिन्दगी सुन्दर बनाउने वा कुरूप बनाउने त आफ्नै हातमा छ ।

– पुनम मिश्र

टिप्पणीहरू