माओका नीतिअन्तर्गत कम्युनिष्टलाई कज्याउँदैछ कांग्रेसले

माओका नीतिअन्तर्गत कम्युनिष्टलाई कज्याउँदैछ कांग्रेसले

– इ. नन्द बञ्जाडे, पूर्वसहसचिव

निजामती सेवामा झण्डै साढे तीन दशक बिताएर सहसचिव पदबाट अनिवार्य अवकाश पाएका नन्द बञ्जाडे अहिले रूपन्देहीको सियारी गाविस–४ मा मस्त्य तथा कृषि फाराम चलाइरहेका छन् । पुल्चोक क्याम्पसको ०३८ सालमा स्ववियु सभापति, ०४४ मा कोषाध्यक्ष चलाएका उनी ०३९ साल फागुन २९ गते ओभरसियरतर्फ अस्थायी जागिरे नियुक्त भएका हुन् । ०४७ मा स्थायी इञ्जिनियर नियुक्त भएका उनी ०६४ मा उपसचिव (डिइ), ०७६ मा सहसचिव (सुपरिण्टेण्डेण्ट इञ्जिनियर) हुँदै अवकाशमा गए । नेपाल इञ्जिनियर्स एशोसिएशन बाग्मती प्रदेशको निवर्तमान सभापतिसमेत रहेका उनी ०३३ सालको कोके कालमा प्रदीप नेपालसँग चिनजान भएर गोपिरमण उपाध्यायहरूकै पदचाप पछ्याउँदै राजनीतिमा लागे । तत्कालीन मालेको हाइकमाण्डका सिपी मैनाली, जीवराज आश्रित, माधव नेपालहरूलाई आफ्नै कोठामा सेल्टर दिएर सो पार्टीको पोलिटब्युरो बैठक बसालेको स्मरण गर्छन् । दुई पटक गरी ६ महिना जेल बस्दा झापा आन्दोलनका बन्दीसँग त्यहीं भेटघाट र चिनजान भयो । ०४० सालमा पोखरामा हुँदा झण्डै साढे पाँच सय तलब थाप्थे । वामदेवको हेडक्वार्टरका लागि मासिक २ सयका दरले दुई वर्षसम्म भाडा तिरिदिएको अझै सम्झन्छन् । हिजो यसरी हुर्काएको पार्टीको दुर्गति देख्दा चिन्ता प्रकट गर्छन् र कम्युनिष्ट नेताप्रति खरो टिप्पणी गर्दै आएका छन् ।

– हरि गजुरेल

इञ्जिनियर एशोसिएसनको केही महिनाअघि सम्पन्न निर्वाचनमा वामपन्थीको किन बिजोग भयो ?

– नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भएलगत्तै जनवर्गीय संगठनमध्ये सबैभन्दा पहिला एकीकृत भएको संगठन थियो त्यो । समग्र वाम, एक ठाममा हुँदा जसरी ०७४ को निर्वाचनमा डबल नेकपाको लहर आएको थियो, त्यही पूर्वसन्ध्यामा भएको निर्वाचनको रापताप हाम्रो चुनावमा प¥यो । इतिहास हेर्ने हो भने डेमोक्रेट र प्रोगेसिभ इञ्जिनियरबीच मात्रै प्रतिस्पर्धा हुने गरेको छ तर हालै सम्पन्न निर्वाचनमा चाहिँ नेकपाकालीन इञ्जिनियरहरू टुटफुट भई तीन वटा संगठन बनेको स्थिति छ ।

लेफ्टहरू मिल्न नसक्नुको परिणाम डेमाक्रेट इञ्जिनियरहरूले जित हासिल गरेका छन् । नेताहरू आफ्ना दम्भ, अहं र स्वार्थका कारण फुट्नु एउटा कुरा तर बौद्धिक भनिएका इञ्जिनियरहरू पनि राजनीतिक प्रभावमा पर्नु अचम्मको कुरा । इञ्जिनियरहरू मिलेर निर्वाचन लड्ने पुरानो परम्परा त्यागेका कारण जे हुनु थियो त्यही भयो । ओली, प्रचण्ड र माधवको अपराधको नतिजा एनईएमा प¥यो ।

विभिन्न भ्रातृसंगठनका निर्वाचनमा एमालेको हार हुन थालेको छ । के हो अबको शृंखला ?

– पत्रकार, वकिल, डाक्टर जो आफूलाई बौद्धिक वर्ग भन्छन्, ती संगठनका निर्वाचनमा समेत अपवित्र गठबन्धन भए । अप्राकृतिक गठबन्धन धेरै समय टिक्नेवाला छैन ।

हालै सम्पन्न स्थानीय चुनावले दिएको सन्देश के हो ?

– पहिलो, अहिले पनि नेपालमा वामपन्थी जनमत ठूलो छ भन्ने मतले देखाएको छ । वाम दल टुक्रा–टुक्रा भएर उठ्दा पनि संख्या र मतको हिसाबले एक नम्बरमा छन् । हिजोको नेकपा अहिले पनि बहुमतमा छ । दोस्रो सन्देश, नेताहरूले आफ्ना हनुमान र लौराहरूलाई उठाउँदैमा जितिने अवस्था अब रहेन भन्ने कुरा काठमाडौं, धनगढी र धरानको परिणामले दिएको छ ।

यो सचेत जनताको सचेत विद्रोह हो । कैयौं कांग्रेस, एमाले, माओवादी समर्थक जनताले बालेन, हर्क साम्पाङ र हमालहरूलाई जिताएका छन् । बुद्धि भएका नेताहरूलाई जनताले ठूलो सन्देश दिएका छन् कि तिमीहरूका स्वेच्छाचारी निर्णय अब हामीलाई स्वीकार्य हुने छैन ।

आगामी प्रदेश र संघीय चुनावको भावी नतिजा कस्तो आउला ?

– त्यसबेला चारवटा परिदृश्य स्पष्टसँग देखा पर्नेछ । अन्तिम समयमा आएर वाम दलबीच गठन्धन वा तालमेल हुन सक्छ तर यदि, नेताहरूको दम्भ, अहं, स्वार्थले नमिल्ने अवस्था आएको खण्डमा अहिलेको गठबन्धन कायमै रहनेछ । यो अप्राकृतिक गठबन्धन नहुनुपर्ने हो तर यसकै सम्भावना बढी देखिँदै छ । वामहरूलाई विभाजित गरेर आफ्नो दुनो सोझ्याउने रणनीति छ कांग्रेसको । चीनमा माओ त्सेङले जापानविरुद्ध लड्दा देशभक्त सबै शक्तिलाई एकजुट गराउनुभएको थियो ।

जापानिजहरूसँगको लडाइँ सकिएपछि पनि अरु सबै राष्ट्रिय शक्तिलाई एक गर्नुभयो । माओको त्यो रणनीति अहिले कांग्रेसले राम्रोसँग सदुपयोग गरेको छ । त्यसकारण कांग्रेसलाई मैले नेपाली कांग्रेस (माओवादी) भन्ने गरेको छु । जबकि यो रणनीति अहिलेको प्रमुख प्रतिपक्षी एमालेले अख्तियार गर्नुपर्ने थियो । अर्को विकल्प भनेको कांग्रेसले एमाले, नेकपा माओवादी र समाजवादी पार्टीबीचको दूरी बढाइरहने र भदौ अन्तिमतिर काँग्रेस भित्रको अन्तरबिरोधलाई देखाएर चलाखीपूर्वक गठबन्धनको विपक्षमा निर्णय गर्ने ।

यदि कांग्रेसले चलाखीपूर्वक त्यो विकल्पमा गयो भने वाम गठबन्धन नहुने र अहिलेको गठबन्धन पनि कायम नरहने स्थिति बन्न सक्छ । त्यसो भएमा अहिलेका चतुर राजनीतिज्ञ प्रचण्डले अर्को खेल खेल्नुहुनेछ । पहिलो परिदृश्यअनुसार भएमा वामपन्थी बहुमतको सरकार बन्नेछ । यही गठबन्धन भएमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्नेछ भने एमालेको हरिबिजोग हुने दिन आउँछ ।

त्यस्तो स्थिति बनेमा एमालेले प्रत्यक्षतर्फ बढीमा २० सिट जित्नेछ । काँग्रेसले तेस्रो परिदृस्य बमोजिम गठबन्धनका शक्तीहरूलाई धोका दियो भने चर्चामा रहेको समाजबादी केन्द्रू बनाउन प्रचण्ड माधव बाबुराम र उपेन्द्रहरूको पार्टी बाध्य हुन्छन र त्यस पछि एमाले, काँग्रेस र त्यो समाजबादी केन्द्रका बीचमा त्रिपक्षिय प्रतिस्पर्धा हुन्छ र को पहिलो दोस्रो र तेस्रो शक्ति हुन्छ भन्न सकिन्न।

केपी ओली वाम तालमेलका लागि तयार हुनुहोला र ?

– कमरेड केपी ओलीको सद्बुद्धि चाँडो पलाओस् । उहाँमा रहेको दम्भ चाँडो सकियोस् । मेरो जेलमेट भएका कारण उहाँसँग यति अपेक्षा राख्ने हक छ मसँग । उहाँको दम्भ न्यूनीकरण हुने हो वा एमाले नेताहरूले यो दम्भमाथि प्रश्न गर्न थाल्ने हो भने मलाई लाग्छ केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बसेको खण्डमा नेताहरूले उहाँलाई चुनौती दिनु हुनेछ । त्यही डरले नै हो, अहिलेसम्म उहाँले सबै निर्णय सचिवालयबाटै गराइरहनुभएको छ । उहाँ सबैखाले कमिटीसँग डराइरहनुभएको छ ।

उहाँले यो दम्भ त्यागेर ठूलो छाती बनाउनुपर्छ । केपी ओली, प्रचण्ड र माधव नेपालसहितका तीन जना नेताले वाममोर्चा बनाउने, आफूहरू नेतृत्वबाट बिदा हुने र वाममोर्चाको संसदीय दलले जसलाई नेता बनाउँछ उही अगुवा भएर मोर्चा सम्हाल्ने बाटो लिएको खण्डमा निःसन्देह वामपन्थीको सरकार बन्नेछ । यदि, त्यसो हुन नसकेको खण्डमा वाम आन्दोलनको इतिहासमा यी तीन पात्र कलंक वा खलनायकका रूपमा परिणत हुनुहुनेछ ।

हिजो वामतालमेल हठात् किन गरियो ? फेरि किन नेकपा विभाजन हुने ठाउँमा पुग्यो ?

– ०७५ साल जेठ ३ गते जुन एकता भयो त्यसको पूर्वसन्ध्यामा २ गते दुई जना नेताबीचमा गोप्य सम्झौता भएको थियो । दुई वटा बिरालालाई साक्षी राखेर (दूधको साक्षी भनेझैं) त्यो सम्झौता गरिसकेपछि लुकाउनुपर्ने कारण केही थिएन तर कपाली तमसुक लुकाइयो । त्यहाँ प्रचण्ड र केपी ओलीले आधा–आधा कार्यकाल सरकार चलाउने बुँदा रहेछ । केपी ओली सम्झौताबाट ब्याक भएपछि त्यो कुरा मिडियामा आयो । अन्तरविरोध चर्किएपछि दोश्रो पुस्ताका सदस्यहरू (स्थायी समितिका सदस्य) को अथक प्रयासबाट अर्को सम्झौता भयो ।

एक जनाले प्रधानमन्त्री, अर्कोले पार्टी अध्यक्ष चलाउने । त्यो सम्झौता पनि कागजी खोस्टो सावित भयो । नेताहरू वचनमा टिक्न सकेनन् । फेरि अन्तरविरोध शुरु भयो । यो राजनीतिक बेइमानीमा दुई जना नेताकै गल्ती हो । कम्युनिष्ट पार्टीमा अढाई अढाई वर्ष आलोपालो गरेर सरकार चलाउने लिखित सम्झौतालाई किन लुकाइयो रु यो त तस्कर वा कालो धन्दा गर्नेहरूको बीचमा हुने सम्झौता जस्तो भएन रु अढाई वर्ष पार्टीलाई जानकारी नगरी जुन सम्झौता गर्नुभयो त्यो नै पार्टी विभाजनको मुख्य कारक हो ।

तपाईंकै गृहजिल्लामा घनश्याम भुसालको स्थिति के होला ?

– कुन व्यक्तिको अवस्था के हुन्छ अहिले भन्नु आवश्यक ठान्दिनँ । वाम मोर्चा बन्दा सुखद परिणाम आउँछ । बहुमत निःसन्देह आउँछ । कथं चौथो बिकल्प अर्थात काँग्रेस, एमाले र समाजबादी केन्द्र बीच त्रिपक्षीय निर्वाचन हुन गयो भने काँग्रेस पहिलो तर दोस्रो र तेस्रो को हुन्छ भन्न सकिन्न। सबैभन्दा हरिबिजोगचाहिँ एमालेकै हुने हो । अहिलेको गठबन्धन कायम रहेको खण्डमा एमालेका शीर्षस्थ नेताले चुनाव जित्दैनन्, लेखेर राख्नुहोस् ।

हाम्रा सरकारी निकाय कर्मचारीले भन्दा बढी बिचौलियाले चलाउँछन् भन्ने सुनिन्छ । तपाईले आफ्नो कार्यकालमा त्यस्तो भोग्नुभयो ?

– विकसित मुलुकका मन्त्रीसमेत भ्रष्टाचारमा डामिएका खबर सुन्न पाउँछौँ । राजनीतिक नेतृत्व, प्रशासक र बिचौलियाको नेक्सस विश्वका प्रायः सबै देशमा हुने गर्छ । जुन देशमा अनुशासन छैन त्यहाँ भ्रष्टाचारको बिगबिगी हुन्छ । अझै प्राविधिक क्षेत्रमा ठेकेदार यस्ता पावरफुल छन् कि उनीहरूले नियमावलीलाई समेत आफूअनुकूल संशोधन गर्ने हैसियत राख्छन् । जागिरको समयमा यस्तो धेरै पटक देखेका छौं ।

निजामती सेवा र राजनीति दुवैप्रति सर्वसाधारणको नजर सकारात्मक छैन । यो रसातलबाट निजामती क्षेत्रलाई कसरी उकास्ने ?

– ३७ वर्ष निजामती सेवामा बिताएँ । कर्मचारीलाई मानिसले आलोचना गर्छन् कि तिमीहरु २४ सै घण्टा राज्यको नोकर हो । ७७ जिल्लामा जहाँ खटायो त्यहाँ जानुपर्छ । यसरी कर्मचारीको जिन्दगी नै राज्यले आफ्नो नियन्त्रणमा राख्छ भने उसको स्वास्थ्य, सन्ततीको शिक्षा दीक्षा, आवास, दैनिकी चल्ने गरी तलब दिनुपर्छ कि पर्दैन रु अहिलेको तलब स्केलले कर्मचारी कसरी बाँच्न सक्छ त ?

राजनीति र कर्मचारीतन्त्रबीच सम्बन्धचाहिँ कस्तो पाउनुभयो ?

– राजनीतिक आस्थाकै कारण कैयौं पटक कर्मचारीको सरुवा हुने गर्छ । नेताको आडमा अवसर पाइरहने कर्मचारी पनि छन् । यस्ता मान्छे दशदेखि १५ प्रतिशत छन् । ८० प्रतिशत कर्मचारी इमान्दारीपूर्वक काम गर्छन् । दुर्गम जिल्लामा बसेर इमान्दारीपूर्वक काम गर्नेहरू पनि छन् । कर्मचारीतन्त्रलाई एकदमै जेनेरलाइज गरेर आरोपित गर्नु ठीक होइन । प्रधानमन्त्री कार्यालय र मन्त्रीहरूको सचिवालयले मात्र भ्रष्टाचार वा अनियमितता नगर्ने हो भने ५० प्रतिशत भ्रष्टाचार आफैँ कम हुन्छ ।

कर्मचारीतन्त्रमा क्षमतावान् मान्छे नभएकै हुन् वा भएर पनि उनीहरूको क्षमताहरूको उपयोग राज्यले गर्न नसकेको हो ?

– एउटा तहका कर्मचारी र हरेक पार्टीको केन्द्रीय कमिटीका सदस्यलाई एकातिर राखौँ । उनीहरूको इमान्दारीको निष्पक्ष रिसर्च गरोस् कसैले । त्यसमा कर्मचारी अब्बल ठहरिन्छन् । मैले निजामती सेवामा झण्डै साढे तीन दशक काम गर्दा मेरो मन्त्रालयमा सम्मान गर्नलायक दुई/तीन जना मन्त्रीबाहेक अरु कोही भेटिनँ ।

टिप्पणीहरू