नेपाल प्याब्सनको बक्यौता शुल्क उठाउने तयारी

नेपाल प्याब्सनको बक्यौता शुल्क उठाउने तयारी

निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सन वीरगञ्जले बक्यौता शिक्षण शुल्क उठाउन नपाउने भन्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । वीरगञ्ज महानगरपालिकाले बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनशायले जारी गरेको सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै प्याब्सनले उक्त धारणा राखेको छ ।

संस्थागत विद्यालयहरुको सञ्चालक तथा अन्य सरोकारवालाहरुसँग कुनै छलफल नगरी बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले सूचना जारी गरिएकोमा प्याब्सनले आपत्ति जनाएको छ ।
उक्त सूचनाले सम्पूर्ण अभिभावकलाई दिग्भ्रमित पार्दा विद्यालय र अभिभावकबीच फाटो ल्याउने काम भएको उसको ठहर छ ।

उसले शुल्कका कारण विद्यार्थीहरुको परीक्षा छुट्नु वा छुटाउन हुन्न भन्ने विषयमा सबै सदस्य विद्यालयहरु प्रतिबद्ध रहेको पनि बताएको छ ।

यसअघि अधिकांश अभिभावकले मासिक रुपमा शिक्षण शुल्क नबुझाई परीक्षाको समयमा भुक्तानी गर्ने भएकाले बक्यौता रकम तिर्न र उठाउन गाह्रो भएको जारी विज्ञप्तिमा उल्लेख छ । समयमै शुल्क नबुझाउँदा दैनिक सञ्चालन खर्च, मासिक तलब, घरभाडा र शिक्षकहरुलाई तलब दिन ग्राहो परेको उनीहरुको भनाइ छ ।

संस्थागत विद्यालयहरूमा आश्रित महानगरका करिब चार हजार शिक्षक तथा कर्मचारीहरूलाई एकदेखि तीन महिनासम्मको तलब सुविधा समेत दिन नसकिएको प्याब्सनले उल्लेख गरेको छ ।

टिप्पणीहरू