रुकुम घटनाको चौथो शव भेटियो

रुकुम घटनाको चौथो शव भेटियो

गत वैशाख १७ गते राति प्रेमिका भगाउने गरी जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँबाट नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । ठकुरी युवतीसँग ३ वर्ष चलेको भनिएको प्रेम चक्करलाई विवाहमा परिणत गर्न खोज्दा उनी प्रहरीमा त्यतिबेलै ठक्करमा परेका थिए ।

युवतीका बुबासँगको विवाद हात हालाहालको अवस्थामा पुग्दा केही गाउँले युवाको कुटाइसँगै प्रहरीमा बुझाइएका थिए उनी । एक रात चौरजहारीस्थित प्रहरी खोरमा बसेका उनी लडकडाउनमा अर्काको गाउँ नपस्ने सर्तमा आमाको जिम्मा लगाइएका थिए । प्रेमिका लिन आउँदा पाएको कुटाइ, जातभातको नाममा खाएको तथानाम गाली, प्रहरीसम्म पुग्दा सुन्नुपरेको लकडाउन उल्लंघनको आरोप नवराजलाई बिझेको थियो । उनलाई समातेर कुट्ने स्थानीय र प्रहरीलाई बोलाउने जनप्रतिनिधिप्रति बदलाभाव थियो र देखाइदिन चाहन्थे साँचो प्रेम कसैले टुटाउन सक्दैन भनेर । १० गते शनिबारका दिन जसरी पनि अस्ति आफूलाई कुट्नेलाई ठिक पारेरै पनि केटी भगाउने भन्दै नवराज फेरि केटीको गाउँ सोती पुगे, १८ जना थप साथी लिएर । जाजरकोट र सोती जान बनाइएको पुल नतर्दै युवतीका आफन्तलाई खबर पुगेको थियो, ‘१८÷२० जना आएका छन्, गाउँमा केही नराम्रो गर्छन् कि !’ भनेर ।

स्थानीय रेशम मल्ल भन्छन्, ‘५ बजेतिर गाउँ पसेको हुन्, अस्तिना आएको बेला हातपात गर्नेमध्ये विनोद मल्लको घर खोज्दै थिए । उनको घर लिन आएकी भनिएकी युवतीको घरभन्दा अलिकति पर पर्छ । विनोदको घर पुगेर सोधे, घरमा छैन भनेपछि नम्बर मागे । उनकी आमाले साथी भए त नम्बर तिमीहरू सँगै हुनुपर्ने भनिन् । उनीहरू केहीबेर युवतीको घरभन्दा अलि तल रहेको डाँडामा बसे । फेरि बाटोमा झरेर नाउलामा पानी पिए । ती युवतीको आमाले केटाको संख्या बढी देखेपछि वडाध्यक्षलाई खबर गरिन् । वडाध्यक्षले पुलिसलाई खबर गरेछन् । एककान दुईकान हुँदै जाजरकोटबाट केटाहरू ठूलो संख्यामा आएको भन्दै गाउँले जम्मा भए । छोपेर प्रहरीमा बुझाउने भन्दै बाटोमा झरे । कालेगाउँ पुलमा पनि मान्छे थिए, उनीहरू पाल्लोपट्टिका भएकाले के रै’छ भन्दै हेर्न आएका थिए । यताबाट गाउँले ओर्लिए । केटा अत्ताल्लिएर भेरी नदीतर्फ गए, गाउँलेले पिछा गरे, केहीलाई समातेर प्रहरीलाई बुझाए, केही हामफाले । त्यहाँका स्थानीय अरूको पनि भनाइ ठ्याक्कै यस्तै छ ।

यता, जाजरकोटबाट आएका केही युवाको भनाइमा कसैको घर सोध्दै हिँडेका थिएनन् । नवराजकै गाउँले साथी सुदीप खड्का भन्छन्, ‘हामीलाई देख्नेबित्तिकै केटीको आमाले जोडजोडले चिच्याउँदै गाली गरिन्, ‘डुम’हरू कसकी छोरी बुहारी उठाउन आए फेरि भन्दै कराइन् । हामी त डरायौँ, गाउँले एकैछिनमा चारैतिर जम्मा भए । हामीलाई यो प्रेम सम्बन्धबारे पहिलेको अवस्था थाहा थिएन, केटीको घर नपुग्दै फर्कियाँै । फर्कन लाग्दा सारा गाउँलेले लखेट्न थाले, हातमा ढुंगामुडा थिए । पर पुलमा मान्छे थिए । भाग्दै गयौँ, लखेट्दै गए । कसैलाई छोपे, केही भेरीमा हाम फाल्यौँ ।’

गाउँलेको समूहले करिब आधा घण्टासम्म ढुंगामुढा गर्दै लखेटेको नवराजसँगै गएका अर्का युवा सरोज भँडेलले बताए । उनीहरूले टार्गेट पारेका थिए नवराजलाई । ढुंगाले हानेर मारेपछि भेरी नदीमा फालिदिएको उनको दाबी छ । आफूहरूले नदीमा हामफाले पनि ढुंगामुढा गर्न नछाडेको उनको भनाइ छ । हामीमाथि आक्रमण भइरहँदा प्रहरी पुगिसकेको थियो । कुट्नेहरू देख्दादेख्दै हामीलाई नै समायो, कुनै पनि एक्सन लिएन । गाउँलेलाई केही गरेन, हामीलाई ल्याएर चौरजहारी आयो ।

मृतक गणेश, टिकाराम र नवराज

२० वर्षीय नवराज विक र १७ वर्षीया मल्ल थरकी ती युवती अन्तरजातीय प्रेम सम्बन्धको कारण नवराजसँगै चार जनाको ज्यान गएको छ । चारै जनाको शव भेरी नदीमा भेटिएको हो । अझै दुई जना बेपत्ता छन्, आफन्तजनले ज्यूँदो हुने आशा मारिसकेका छन् ।

नवराजले न घरमा दुलही ल्याए, न त घर फर्किए । उनलाई साथ दिन सँगै गएका अन्य ३ जनाको ज्यान गयो । नवराजको शव शनिबार राति चौरजहारी–१ का टीकाराम विकको शव आइतबार र गणेश बुढाको शव सोमबार भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको छ । उनको शव चौरजहारी–१ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् ।

भेरी नगरपालिका–११ गोविन्द शाही र वडा नंं. ४ का सन्दीप विक बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको टोलीले उनीहरूको खोजी गरिरहेको छ ।

मृतकका परिवारले सोही वडाका अध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले लखेटीलखेटी मारेको आरोप लगाएका छन् । उनीहरूले घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै मंगलबार जाजरकोट प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको र रुकुम प्रहरीको कार्यक्षेत्राधिकार परेकाले रुकुम पठाइएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । रुकुम पश्चिमको प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान शुरु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले त्यहाँका वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा, आमा, दाइसहित १२ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जनाएको छ ।

सोतीका गाउँलेले लखेटी लखेटी भेरीमा हामफाल्न बाध्य पारेको प्रहरीको प्रारम्भिक बुझाइ छ । तर, भेरीमा फेला परेको लासको अवस्था हेर्दा मारेरै फालेको मृतकका आफन्तजनको दाबी छ । डुबेर मरेको भए शव फुलेको हुनुपर्ने, टाउको र निधारमा गहिरो चोट नहुनुपर्ने उनीहरूको भनाइ छ । दलित समुदायका युवा र ठकुरी समुदायकी युवतीको प्रेम सम्बन्धको कारण रुकुम पश्चिममा भएको घटनाले यतिबेला सडक र संसद् तातिएको छ ।

घटनास्थल भेरी नदी

टिप्पणीहरू