काभ्रेमा बाँदर लागेको भन्दै बानेश्वरमा कुरा उठाए गोकुलले

काभ्रेमा बाँदर लागेको भन्दै बानेश्वरमा कुरा उठाए गोकुलले

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले बाँदर र बँदेलले काभ्रेका किसानलाई हैरान पारेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले त्यहाँको दशौं हजार रोपनीमा लगाएको अन्नबाली बाँदर र बँदेलले नोक्सान पारेको बताए ।

तर,त्यसको रोकथामका लागि सरकारले केही नगरेको गुनासो गर्दै भने,‘स्थानीय पालिकामा भन्यो बजेट आएको छैन भन्छन्,प्रदेशमा भन्यो संघले बजेट दिँदैन,संघमा कुरा गर्यो विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिँदैन । किसानलाई पेन्सन दिन्छु भनेर सरकारले घोषणा गरेको पनि डेढ महिना बित्यो । अब तिनले के पाउँछन् ?’

उनले संघीयताको औचित्यमाथि पनि प्रश्न उठाएका छन् । संघीयता खारेजीको पक्षमा वकालत गर्दै आएका बाँस्कोटाले प्रदेश सरकार जनताले फेला नपारेको र कर्मचारी अभावले स्थानीय तहमा कामै नहुने अवस्था रहेको गुनासो गरे । उनले संघीयता आन्दोलनको माग नभएको समेत दावी गरेका छन् ।

टिप्पणीहरू