पाँचथरको फिदिममा सुत्केरीको ‘रहस्यमय’ मृत्यु

पाँचथरको फिदिममा सुत्केरीको ‘रहस्यमय’ मृत्यु

पाँचथरको सदरमुकाम फिदिममा एउटी सुत्केरीको मृत्यु भएको छ । बिहान सुत्केरी भएकी ती महिलाको बेलुकी निधन भएको हो ।

जिल्लाको गणेशमान सिंह सामुदायिक अस्पताल पुर्याइएकी उनको गएराति थप उपचारको निम्ति जिल्ला बाहिर लैजाने तयारी गरिएको थियो । त्यो तयारी कार्यान्वयन नहुँदै फिदिम ६, शिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक) को मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

अस्ति राति २ बजे अस्पताल भर्ना भएकी उनी हिजो बिहान ८ बजे सामान्य तवरले सुत्केरी भएकी थिइन् । दिउँसो आफन्तहरूसँग भेटघाट गरेकी करिनाको बेलुकी स्वास्थ्य अवस्थामा एकाएक समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताए ।

बेलुकी शरीरमा रगतको मात्रा कम देखिएपछि पटक पटक उनलाई थप रगतसमेत दिइएको अस्पतालले जानकारी दिएको छ । तर,राति नै उनको निधन हुन पुग्यो ।

टिप्पणीहरू