युद्धको पीडा : कसलाई सोध्ने,कसले भन्ने ?

युद्धको पीडा : कसलाई सोध्ने,कसले भन्ने ?

उत्तरपूर्वी युक्रेनको खार्किभमा अहिले उखरमाउलो गर्मी छ । स्थानीयवासी घरभित्रै थुनिएका छन् । कतिपय युक्रेनी मृत्यु छल्न दोस्रो मुलुक भागिसकेका छन् । जताततै त्रास छ, रूस–युक्रेन युद्धले भयावह रूप लिएको छ ।

युक्रेनमाथि रूसी आक्रमण तीव्र छ । दिनदिनै सयौँ निर्दोष नागरिकले युद्ध–मैदानमा ज्यान गुमाइरहेका छन् । युद्धको सबैभन्दा ठूलो भुमरीभित्र रूमल्लिएका छन्-बालबालिका । आकाशबाट खसिरहेका रूसी रकेटका कारण उनीहरु त्रसित र भयभित देखिन्छन् । उनीहरु पनि मृत्युको एउटा मार्गमा हिँडिरहेका छन् ।

त्यहाँ धेरैले अकालमै ज्यान गुमाइरहेका छन् । रूस–युक्रेन युद्धमा हरेक दिन दुई युक्रेनी बालबालिकाको हत्या भइरहेको छ । कतिपयको परिवार छुट्टिएको छ । भविष्यमाथि पीडादायी बादल मडारिएको छ । युक्रेनी बालबालिका मानसिक रूपमा विछिप्त भएका छन् । उनीहरु न स्कूल जान सक्छन्,न घरछेउमा खेल्न नै सक्छन् । उनीहरूभित्र पनि युद्ध–आतंक झुण्डिएको छ ।

जीवनभरका लागि एउटा नमीठो दाग बनेको छ– रूस–युक्रेन युद्ध । तैपनि युक्रेनी बालबालिकाले रूसविरूद्ध बदलावको भाव राख्ने गरेको युक्रेनी अधिकारीहरु बताउँछन् । उनीहरूले कलिलो उमेरमा शिक्षा,जोश र मित्र गुमाएका छन् । आधा वर्ष भइसक्यो विद्यालय टेकेका छैनन् । कैयौँ सपनाहरू नमेटिने घाउ बनेका छन् । साथीभाइहरू सदाका लागि बिदा भएका छन् । एक तिहाइभन्दा बढी युक्रेनी बालबालिका युद्ध चर्किए यता आफ्नो घर छाड्न बाध्य भएका छन् ।

धेरै बालबालिका दुई वा तीन पटक विस्थापित भएका छन् । किनभने युक्रेनको भूमि बिस्तारै गुम्दै छ । सन्तानको रोदन देखेर सबैभन्दा धेरै चिन्तित आमाहरु देखिएका छन् । उनीहरुको चित्कार र प्रार्थना सर्वत्र गुञ्जिएका छन् । त्यस्तो चित्कार प्रसूति वार्ड,घरदेखि अस्पतालसम्म हुने गरेको छ ।

उनीहरुको एउटै कामना छ– ‘शिशुले सम्झन सक्ने उमेर नपुग्दै युद्ध समाप्त होस् । युक्रेनमाथि थप पीडा नथपियोस् ।’

हिजोआज युक्रेनीजनको भविष्य मात्रै हराएको छैन, खेल्दै गरेका बालबालिका पनि एकाएक हराइरहेका छन् । बेपत्ता बच्चाबच्चीको खोजी गर्दा पछि सग्लो अवस्थामा भेटिँदैनन् । खार्किभ रोइरहेको छ । आमा–बुबाहरु दुःखी छन् । रूसी रकेट आक्रमणबाट १३ वर्षीय दिमित्रीले ज्यान गुमाएका छन् । उनकी १५ वर्षीया दिदी गम्भीर घाइते भएकी छन् । ती बालक आफ्नो घरछेउको गल्लीमा मारिएका हुन् । प्रायः आमा–बाबुसँगै दौडन्थे, दिमित्री । तर त्यो दिन दिदीसँग खेल्न पुगेछन् । जब दिदी–भाइ सडक पार गर्दै थिए, रूसी रकेट बिस्फोट भयो ।

दिमित्रीको मृत्युले बालबालिकाको दैनिकीमाथि चिन्ता थपेको छ । आमाबुबा बिस्फोट भएको स्थानमा दौडे । छोराको शव भुइँमा पल्टिएको थियो । आमा आफ्नी घाइते छोरीलाई लिएर अस्पताल पुगिन् । बुबा शवको छेउमा घुँडा टेकेर छोराको हात समाती बसे । एक घण्टाभन्दा बढी सिसाका टुक्राले भरिएको सडकमा घुँडा टेकेर मृत शरीर हेरिरहेको एउटा तस्बीरले संसार हल्लाएको छ । सन्तान गुमाएका अभिभावकको कहालीलाग्दो कथालाई प्रष्टसँग देखाएको छ । द्वन्द्वग्रस्त क्षेत्रका मानिस अनेकौँ पीडाभित्र बाँचिरहेका छन् । युद्धले सबैलाई सकाउने निश्चित छ । किनकि एउटा घर भत्किँदा तिनका प्रियजन गुमेका छन् र एउटा जीवन खोसिएको छ ।

टिप्पणीहरू