प्रचण्ड अहिले भर्खर जापान प्रस्थान, प्रधानसेनापतिको अस्ट्रेलियाबाट आगमन

प्रचण्ड अहिले भर्खर जापान प्रस्थान, प्रधानसेनापतिको अस्ट्रेलियाबाट आगमन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको लागि त्रिभुवन विमानस्थलबाट भर्खर प्रस्थान गर्नुभएको छ । उहाँ चढेको आरए ४३३ नम्बरको जहाजले अहिले नारितातर्फ उडान भरेको छ ।

जापान जान लाग्नुभएका अध्यक्ष दाहाल र अष्ट्रेलियाबाट फर्कनुभएका प्रधानसेनापति प्रभुराम शर्माबीच विमानस्थलको विशिष्ट कक्षमा भेट भएको छ । भेटमा प्रधान सेनापतिले प्रचण्डसँग अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डसँग कुनै सन्धि सम्झौता र महत्वपूर्ण निर्णय नभएको र हस्ताक्षर समेत नगरेको बताउनुभयो ।उहाँले अधिकांश एसियाली मुलुकका सैनिक प्रमुखहरुसँग भेट भएको,नाटोका प्रमुखको पनि उपस्थिति रहेको बताउँदै चिनियाँ जनमुक्ति सेनाका प्रमुखसँग भेट भएको सन्दर्भ पनि उल्लेख गर्नुभएको छ ।

शर्मा अष्ट्रेलियाबाट सिंगापुर हुँदै आजै राती काठमाडौं आउनुभएको हो । सोही समयमा विशिष्ट कक्षमा उहाँहरुबीच भेट भएको हो । संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आजै बसेको बैठकले इण्डो प्यासिफिक कमाण्ड सम्मेलनमा भाग लिन गएको भन्दै सेनापतिलाई बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डले भेट हुनासाथ उहाँलाई ‘के के भो लौ भन्नोस्’ भनेर सोधेपछि प्रधानसेनापति शर्माले उक्त कुरा बताउनुभएको स्रोतको दाबी छ । सेनापति शर्मा सिंगापुर एयरलाइन्सको उडान नम्बर SQ442 बाट आउनुभएको हो ।अध्यक्ष प्रचण्डसँग छोरी गंगा दाहाल र रमेशकुमार मल्ल पनि सँगै जानुभएको छ । उहाँहरुलाई बिदाइ गर्न मन्त्रीहरु पम्फा भुसाल, देवेन्द्र पौडेल विमानस्थल जानुभएको थियो । त्यसैगरी नेताहरुमा नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, ओनसरी घर्ति,वर्षमान पुन,देव गुरुङलगायत थुप्रैको उपस्थिति थियो । यसैगरी कामु प्रधान न्यायाधीश दिपककुमार कार्कीलाई कोभिडले समातेर १०३ डिग्री ज्वरोसमेत आएको खबर छ ।

टिप्पणीहरू