एउटा गरिब चेलीको पशुतुल्य जिन्दगी

एउटा गरिब चेलीको पशुतुल्य जिन्दगी

दक्षिण अफ्रिकी महिला सराह बार्टमान युरोपेलीका निम्ति मनोरञ्जनको साधन यसर्थ बनिन् किनकि उनको नितम्ब अस्वाभाविक रूपमा ठूलो थियो । उनी त्यो क्षेत्रकै सबैभन्दा पुरानो (१ लाख ५० हजार वर्षअघि नै अस्तित्वमा आइसकेको) आदिवासी शिकारी जाति खोइसानकी थिइन् । आमा मर्दा सानै थिइन् भने केही समयपछि बाबु पनि अर्को आदिवासीको हातबाट मारिए । त्यो बेला दक्षिण अफ्रिका डचहरूको नियन्त्रणमा थियो । त्यसैले गरिब सराहको बाल्यकाल तिनैको कृषिफार्ममा काम गर्दै बित्यो । गहनाका नाममा जम्माजम्मी आमाले दिएको कछुवाको खोल राखिएको नेकलेस थियो जुन मृत्युको समय पनि घाँटीमै रह्यो ।

एक दिन डच व्यापारी पिटर सिजरसँग भेट भयो । उनले सराहलाई केपटाउन लिएर गए । त्यहाँ उनले धोबीको धन्दासँगै दुई वर्ष उनै पिटरको घरमा काम गरिन् । त्यसपछि पिटरका भाइ हेनरिकको घरमा धाइआमाको काम गरिन् । उनी हेनरिकका बच्चालाई स्तनपानसमेत गराउँथिन् । त्यो बेलासम्म दुई सन्तानको आमा बनिसकेकी थिइन् । उनको प्रेम एकजना सिपाही हेन्द्रिक भान जोङसित थियो । केपटाउन नजिकको अस्पतालमा एक जना आइरिस चिकित्सक काम गर्थे– अलेक्ज्याण्डर दुनलोप । उनले सराहलाई युरोप गएर स्टेज शोमार्फत पैसा कमाउन सुझाए । तर, सराहले हेनरिक सिजर आफूसँगै युरोप जान माने जाने नत्र नजाने अडान लिइन् । हेनरिकले पनि शुरुमा दुनलोपको कुरा सुनेनन् तर पछि माने र सन् १८१० मा हेनरिक सराहलाई लिएर लण्डनतिर उडे ।

सैनिक चिकित्सक दुनलोपले सराहलाई देख्नेबित्तिकै उनको स्टेज शोमार्फत अकुत पैसा कमाउने योजना बनाइसकेका थिए । उनी जिराफको छाला अवैध रूपमा युरोप पैठारी गर्ने व्यवसायमा पनि संलग्न थिए । लण्डनमा उनका एजेन्ट थिए– बुलोक । उनले बुलोकलाई खोइसान जातिकी एउटी युवतीलाई लण्डन पठाएको छु, जसको शारीरिक बनोट अचम्मको छ, उनलाई प्रयोग गरी धन कमाउन सकिने जानकारी दिए र केही समयपछि आफू पनि युरोप पुगे । उनीहरू लण्डनकै महँगो मानिने स्थान ड्युक स्टेटको सिंगै घर भाडामा लिएर बस्न थाले । त्यहाँ उनीहरू तीन जनासहित दुनलोपले अवैध तरिकाबाट युरोप पु¥याएका दुई जना अश्वेत दास पनि बस्थे ।

दुनलोपले नजिकैको एजिप्सियन हलमा सराहलाई प्रस्तुत गर्न थाले । दुनलोपको सोच थियो, गोराहरू अश्वेत महिलाको शरीरका भोका हुन्छन्, त्यसमाथि सराहको असाधारण ठूलो नितम्ब हेर्न अवश्य तयार हुन्छन् । भयो पनि त्यस्तै । ४ फुट १० इञ्च मात्र कद भएकी र २२ वर्षीया सराहलाई हेर्न गोराहरू तँछाडमछाड गर्न थाले । केही समयमै सराह ‘होटेन्टोट भेनस’ को रूपमा चर्चित बनिन् । होटेन्टोट खोइसान जातिको पुरानो नाउँ हो भने भेनस प्रेम र सौन्दर्यकी देवी हुन् । विस्तारै सराह लण्डन मात्र होइन, युरोपभरि प्रख्यात भइन् । गोराहरू उनलाई मञ्चमा सर्वांग नांगिएर प्रस्तुत होउन् भन्ने चाहन्थे तर सराहले कहिल्यै त्यसो गर्न मानिनन् । उनी मञ्चमा पातलो एकसरो कस्सिएको लुगा लगाएर प्रस्तुत हुन्थिन् । उनी चाँडै वैज्ञानिक अनुसन्धान र कामुक प्रक्षेपणको विषय बनिन् । उनलाई सबैले ‘मानिस र जनावरबीच हराएको सम्बन्ध’ को रूपमा लिए । बेलायतमा सन् १८०७ मा मात्र दास उन्मूलनसम्बन्धी कानुन पारित भएको थियो । सराहको प्रस्तुतिलाई डचहरूले पुनः दासप्रथा भिœयाउने कोशिशको रुपमा लिएर सडकमा प्रदर्शन हुन थाल्यो ।

दुनलोप र हेनरिकविरुद्ध अदालतमा मुद्दा दायर भयो । सराहको चाहनाविपरीत उनको शरीरलाई व्यापारको वस्तु बनाइएको आरोप लाग्यो । तर, यी सबैले सराहको प्रस्तुतिलाई नै सघाए । जताततै उनको माग हुन थाल्यो । सराह युरोप पुग्नुअघिसम्म आफ्नो मुलुकबाट बाहिर नगएका युरोपेलीलाई अश्वेत अफ्रिकी युवतीबारे खासै थाहा थिएन । उनीहरू अश्वेतहरूलाई मान्छे नै मान्दैननथे । त्यसैले जब सराहलाई देखे, उनको भद्दा स्तन, मोटा मोटा तिघ्रा र अस्वाभाविक रूपमै ठूलो यौन अंग देखेपछि अचम्ममा परे अनि पैसा तिरेर टिकट काटी उनलाई हेर्न तँछाडमछाड गर्न थाले ।

सन् १८१४ मा हेनरी टेलर नामक एक जना फ्रान्सिसीले सराहलाई पेरिस झिकाए र जनावरलाई तालिम दिने जिन रिउक्सको हातमा बेचिदिए । जिन व्याले नृत्य पनि सिकाउँथे । उनले पेरिसको प्रसिद्ध नाट्यघर रोयल पालेसेमा सराहलाई १५ महिना प्रस्तुत गरे । त्यहाँ उनको जीवन दासजस्तै बन्यो । फ्रान्सिसी वैज्ञानिकहरूको ध्यान कतै सराहको भगोष्ठ (स्त्री योनीका दुईतिरको डिल) अन्य अफ्रिकी खोइखोइ आदिवासी स्त्रीहरूको जस्तो लामो र ठूलो त छैन ? भन्नेतिर गयो । किनभने फ्रान्सिसी समुद्रीयात्री फ्राँस्वा लेभालान्टले आफ्नो पुस्तकमा खोइखोइ जातिको विचित्र योनीबारे उल्लेख गरेका थिए । यसैबीच प्रकृतिविद् र शरीर विज्ञान परिषद्का अध्यक्ष जर्ज सुभियर सराहलाई भेट्न पुगे । पेरिसका धेरै चित्रकारको मूल विषय नै बनिन् सराह ।

सन् १८१५ मा उनको शरीरको परीक्षणसमेत गरियो । परीक्षणमा सहभागी विशेषज्ञ फ्रेडरिख सुभियर (जर्ज सुभियरका भाइ) का अनुसार त्यस क्रममा सराहलाई नांगिन विवश पारियो र नांगो चित्रकला तयार पारियो । उनलाई पछि प्राइभेट पार्टी र निजी कार्यक्रममा प्रस्तुत गर्दै पशुवत् व्यवहार गरियो । अझ एउटा फोटोमा त उनको घाँटीमा कुकुर बाँध्ने फलाम बाँधेको समेत पाइयो । एउटी गरिब अफ्रिकी युवतीलाई सार्वजनिक ठाउँमा प्रदर्शन गरेर युरोपेलीले धेरै धन कमाए, मनोरञ्जन लिए तर सराह गरिबको गरिब नै रहिन् ।

सराहलाई गोराहरूले चिडियाघरको जनावर जसरी प्रयोग गरे । फलामे पिँजडामा कैद गरेर ब्रिटेन, आयरल्याण्ड, फ्रान्स र बेल्जियममा प्रदर्शन गरे । धनी परिवारको शयनकक्षको शो पिस बनाए । उनी दर्शकको इच्छामुताविक ओहोरदोहोर गर्थिन्, बस्थिन्, उभिन्थिन् र घुँडा टेकेर बस्थिन् । दर्शक उनको शरीरमाथि उपहास गर्थे, यौन अंग छुन्थे, सुम्सुम्याउँथे, नितम्बमा चिमोटेर मनोरञ्जन लिन्थे । यौनजन्य दुव्र्यवहार गर्थे । यस्तो गर्नेमा पुरुष मात्र हुन्नथे, महिला पनि हुन्थे । पछि हुँदाहुँदै गोराहरूले सराहलाई उनको अस्वाभाविक नितम्ब हेर्न घर–घरमै बोलाउन थाले । घरको कोठामा २–४ जना पुरुष बसेका हुन्थे । सराहको शरीर हेर्ने र छुने बहानामा शारीरिक सम्बन्ध राख्न विवश पार्न थाले । यसरी विस्तारै उनी बेश्या नै बनिन् । पछि उनलाई बिफर रोग लाग्यो । निमोनियाबाट ग्रस्त बनिन् । यौनरोग सिफलिस लाग्यो र सन् १८१५ को डिसेम्बर २९ मा मृत्यु भयो । त्यतिबेला उनी २६ वर्षकी थिइन् ।

मृत्युपश्चात पनि गोराहरूले उनको शरीरबाट मनोरञ्जन लिन र शरीरलाई अध्ययनको विषय बनाउन छाडेनन् । पेरिसमा सन् १९७५ सम्म पनि सराहको योनी, मस्तिष्क, कंकाललाई सबैले हेर्न पाउने व्यवस्था थियो । सन् १९९४ मा दक्षिण अफ्रिकामा नेल्सन मण्डेला राष्ट्रपति बने । त्यसपछि बल्ल उनले सराहका ती अंग फ्रेञ्च सरकारसित फिर्ता मागे । शुरुमा फिर्ता दिन आनाकानी गरियो । र, मृत्यु भएको १ सय ९२ वर्षपछि सन् २००२ को अगस्त ९ मा उनैको जन्मस्थान पूर्वी केपटाउन पु¥याई अस्ति (हाड) जमिनमुनि गाडेर अन्तिम संस्कार गरियो । सराहको जीवनीमा धेरैले पुस्तक लेखेका छन्, सिनेमा बनाएका छन् । तीमध्ये सन् २०१० मा प्रदर्शित चलचित्र ‘ब्लैक भेनस’ एउटा हो । सराहलाई युरोपेलीले अति कामुक स्त्रीको रूपमा पनि हेर्ने गरेका छन् ।

टिप्पणीहरू