बाबु आमाको झोंकमा निर्दोष छोराछोरीको ज्यान जान थाल्यो

बाबु आमाको झोंकमा निर्दोष छोराछोरीको ज्यान जान थाल्यो

राजधानीको तारकेश्वर नगरपालिका २, पदमसालको एउटा घरभित्र गत सोमवार एकै परिवारका चार जना मृत भेटिए । बिहान परिवारका कोही पनि बाहिर ननिस्केको र घरमा भित्रबाट चुकुल लगाएको पाइएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको प्रहरीले ढोका फोडेर हेर्दा ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र आठ वर्षीय छोरा आशिक विभत्स तरिकाबाट हत्या गरिएको अवस्थामा फेला परेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा १२ वर्ष कुवेत बसेर चार वर्षअघि मात्रै नेपाल आएका दिनेश र श्रीमती सुनिताको सम्बन्ध राम्रो नभएको बताइन्छ । अन्ततः त्यसबाटै उत्पन्न विवादले विभत्स पारिवारै सखाप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपी हालसम्म शव पोष्टमार्टमको अन्तिम नतिजा भने आइसकेको छैन ।

प्रहरीले घटनास्थलबाट १० पेज लामो सुसाइड नोटसमेत फेला पारेको छ । नोटमा दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेपछि आफू आत्महत्या गर्न बाध्य भएको व्यहोरा उल्लेख गरेको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनु्सार सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको, छोराछोरीलाई आफूले धेरै माया गर्ने भएकाले सँगै (हत्या) लानुपरेको उल्लेख गरेका छन् । यसअघि श्रीमान र श्रीमतीबीचको विवादका कारण दिनेश र सुनिता तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेका थिए ।

यस्तै घटना गत असार ९ गते चितवनमा पनि भयो । छ वर्ष दुबई बसेर आएका ३९ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया रुष्मा आचार्य घिमिरेको धारिलो हतियार प्रहार गरी हत्यापछि आफूले पनि आत्महत्या गरेका थिए । उनले तीन तला माथिबाट हाम्फालेर आत्महत्या गरेका हुन् । उनीहरुबीच पनि लामो समयदेखि पारिवारिक बेमेल थियो । सोही बेमेलको उजुरी लिएर उनीहरू पनि पटक पटक प्रहरी कार्यालयसम्म पुगेका थिए ।

पोष्टमार्टमको रिपोर्टपछि प्रहरीले कृष्णले श्रीमतीको हत्यालगत्तै आत्महत्या गरेको पुष्टि गरेको छ । दुई वर्षअघि २०७७ भदौ २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारीले ३४ वर्षकी पत्नी सम्झना र १६ वर्षे छोरा सुशान्तको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका थिए । उनले घरमा पालेको कुकुरलाई समेत विष खुवाई मारेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । आर्थिक अवस्था बिग्रिँदै गएपछि सुदीपले परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको प्रहरीको निश्कर्ष छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभर ३१ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यसमध्ये धेरैले परिवार तथा नातागोताको हत्या गरेपछि आफूले आत्महत्या गरेको देखिन्छ । परिवारको हत्यापछि आत्महत्या गर्नुको मुख्य कारण आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष र परस्त्रीसँग नाजायज सम्बन्धहरु रहेको पाइन्छ ।

आर्थिक वर्ष २०७४–७५ देखि २०७८–७९ को पाँच वर्षमा हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । विष सेवन, आगोमा जलेर, झुण्डिएर, हाम्फालेर, करेन्ट लगाएर, हातहतियार तथा औंजार प्रयोग गरेर आत्महत्या गरेको प्रहरीको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७४–७५ को एक वर्षमा पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७५–७६ मा साढे चार सय बढी अर्थात् पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेको तथ्याङ्कमा देखिन्छ ।

त्यसैगरि आर्थिक वर्ष २०७६–७७ मा आत्महत्याको संख्या बढेर छ हजार दुई सय ४१ पुगेको छ । आर्थिक वर्ष २०७७–७८ मा सात हजार एक सय १७ र आर्थिक वर्ष २०७८–७९ मा छ हजार सात सय ९२ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो पाँच वर्षमा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या ३१ हजार दुई सय २१ पुगेको छ ।

प्रहरीका अनुसार पछिल्लो समय हत्यापछि आत्महत्याजस्तो जघन्य अपराध समाजमा क्रमशः बढ्दै गएको देखिन्छ । पछिल्ला कहालीलाग्दा र विभत्स हत्या पनि त्यसैको निरन्तरता भएको प्रहरीको ठहर छ ।

टिप्पणीहरू