तपाईं नै ‘राजा’ बने हुन्न रवीन्द्र सर ?

तपाईं नै ‘राजा’ बने हुन्न रवीन्द्र सर ?

– दीपक खनाल

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो विवेक प्रयोग गर्दै हृदयेन्द्र शाहलाई राजा बन्न हार्दिक मंगलमय शुभकामना दिनुभएको छ । जुलाई २९ अर्थात् साउन १३ गतेको फेसबुक स्टाटसमा उहाँले यस्तो शुभकामना दिनुभएको हो ।

उहाँलाई २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले यस्तो निश्कर्षमा पु¥याएको हो । यही स्टाटसमार्फत उहाँले ‘बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ’ भन्दै एउटा भय देखाउनुभएको छ । यस्तो संकट टार्न संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राख्नुपर्ने उहाँको धारणा छ ।

धेरै वर्षपहिलेदेखि ‘भूमध्यरेखा’ मा खुले पनि ५ वर्षअघि पार्टी राजनीतिमा प्रवेश गर्दा रवीन्द्र यसरी प्रष्ट खुल्नुभएको थिएन । उहाँ नेपालको राजनीतिक माहोललाई पर्ख र हेरको रणनीतिमा प्रयोग गरिरहनुभएको थियो । अझ त्यतिबेला लोकतान्त्रिक संघीय गणतन्त्रप्रति पनि खुलेर विमति जनाउनुभएको थिएन । अहिले पनि गणतन्त्र र संघीयताप्रति सैद्धान्तिक बिमति छैन तर पछिल्लो चरणमा संघीयता खारेजीलाई एजेण्डा बनाउनुभएको छ र अहिले राजतन्त्र फर्काइने निश्चितै भए झैँ हृदयेन्द्रलाई राजा नै बन्न निर्धक्क शुभकामना दिनुभएको छ ।

उहाँ राष्ट्रको चिन्ता र जनताको मायाले नै नेपाल फर्केर राजनीतिमा होमिनुभएको होला । अझसन्तानलाई समेत राजनीतिमा लगाउँछु भनेर लेख्नुभएको थियो पत्रकारितामा छँदैै । सन्तानलाई राजनीतिमा लगाए नलगाएकोबारे यो पंक्तिकार अपडेट छैन । २० वर्ष विदेशमा पत्रकारिता गरी नेपाल फर्केर राजनीतिलाई नजिकबाट नियाल्नुभएका रवीन्द्रले देशमा बदलिँदो विकृति, विसंगतिप्रति चिन्ता व्यक्त गर्नु स्वाभाविक नै हो । हो, राजाहरू धेरै भए । बहुदलीय व्यवस्था र गणतन्त्रमा झन् छोटे राजाहरूको बिगबिगी बढ्यो । यसमा धेरैलाई चित्त बुझेको छैन ।

के इतिहासलाई फर्काउन सकिन्छ ? राणालाई फेरि प्रधानमन्त्री बनाउन सकिन्छ ? आइए, बिए पास गरेकाे व्यक्तिले एमए, एमफिल, पिएचडी गर्ने हाेइन र ? बिए, आइए, एसएलसीतिर झर्दै प्ले ग्रुप र नर्सरीमा भर्ना हुने हाे र ?

सर्वसाधारण मानिस त देशको बिग्रँदो अवस्थाप्रति चिन्तित छन् भने यस्ता विषयमा चिन्तनमनन गर्नु रवीन्द्रको राजनीतिक धर्म नै हो । उहाँले भनेजस्तै देशमा परनिर्भरता बढेको, भएका संस्था भ्रष्ट र कमजोर भएको साँचो नै हो । सबै देशभक्त नेपाली यस्ता विषयमा चिन्तित नै छन् । तर यो व्यवस्थाका खेलाडीलाई सुधार्ने कुरा प्रमुख हो । यसको सट्टा व्यवस्था नै उल्ट्याउने भन्ने प्रगतिशील सोच होइन ।

राजनीतिक संकटको ब्रह्मास्त्र राजसंस्था पुनःस्थापना नै हो भन्नु उहाँको अवचेतन मनको अभिव्यक्ति मात्र होे किनकि राजतन्त्रवादी रुझान भएको परिवारमा जन्मे, हुर्केका रवीन्द्रमा अहिले त्यही बालापनको झझल्को पुनर्जागृत भएको हुनसक्छ । उहाँमा वैचारिक प्रष्टता नभएकाले नै गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उहाँको पार्टीले जनमत नपाएको रहेछ भन्ने पुष्टि भएको छ ।

तथापि उहाँको प्रष्ट राजनीतिक विचार आएकाले उहाँलाई धन्यवाद भन्नैपर्छ किनकि कम्तीमा अब कसैमा उहाँप्रति कुनै भ्रम, द्विविधा रहन पाएन । उहाँको वैचारिक प्रष्टताका कारण कम्तिमा पनि राजावादीले त उहाँलाई नेता मान्नेछन् । उहाँले सानोतिनो समूहको नेता बनेर आफ्नो अभिव्यक्ति सार्वजनिक गरिरहने अवसर त पाइरहनुहुनेछ !

रवीन्द्र मिश्र आफ्नो लाइनमा स्पष्ट भएपछि उहाँबारे त्यही वैचारिक धरातलमा रहेर लेखिरहन त परेन तर उहाँको पछिल्लो विचारले सर्वसाधारण जनमानसमा भ्रम पर्नसक्ने हुँदा त्यसमा फरक मत जाहेर गर्नैपर्ने देखिन्छ । उहाँको पछिल्लो विचारबाट दुइटा कुरा इंगित हुन्छ । अर्थात् उहाँको यो अभिव्यक्तिलाई दुइटा कोणबाट तर्कवितर्क, खण्डनमण्डन गर्न आवश्यक छ । पहिलो, उहाँको विचार मानव विकासको क्रम विरोधी छ ।

उहाँले भने झैँ राजसंस्था फर्काउने हो भने मानिसको चेतनालाई पनि पुरानै युगमा फर्काउनुपर्ने हुन्छ । मानिसको चेतना हिजो जे थियो आज त्यो छैन, हुँदैन र आज जे छ भोलि त्यो रहँदैन । अझ भनौँ मानिस ढुंगे युगमा जे थियो आज त्यही चेतनामा छैन । त्यसैले पछाडि नै फर्कने हो भने ढुंगेयुग, दासयुगतिर फर्कनुपर्ने हुन्छ ! जंगली युग आदिम साम्यवादी युगतिरै आउनुपर्ने हुन्छ ।

हुँदाहुँदै अष्टेलोपिथिकस, होमो हेबिलिस र होमो इरेक्टस् चरणबाट फर्केर बनमान्छे, प्राइमेट, रेप्टाइलतिर फर्कन पर्ने हुन्छ । दोस्रो, राजनीतिक हिसाबले कुरा गर्दा पनि उहाँले भनेजस्तो राजतन्त्रात्मक युगमा फर्कन सजिलो छैन । यदि, यो युगमा फर्किए पनि त्यो उल्टो यात्रा हुनेछ । शाहहरूको इतिहास त इतिहास भइसक्यो । अब त्यो इतिहासमा फर्केर जान सकिँदैन । के राणा शासन ढल्यो, अब त्यतै फर्केर जाने त ? एउटा कोर्स पूरा भइसक्यो ।

समाज विकासको क्रममा एउटा तन्त्र सकिएपछि अर्काे तन्त्र आउँछ तर त्यो पछाडि फर्कने होइन कि अगाडि बढेर जाने गर्दछ । के इतिहासलाई फर्काउन सकिन्छ ? राणालाई फेरि प्रधानमन्त्री बनाउन सकिन्छ ? के मुलुक १३ करोड वर्षअगाडिको प्राचीन युगमा फर्कन सक्छ ? गोपालवंशी, महिषपालवंशी, मल्ल, किराँत, लिच्छवी राज्यतिर जानसक्छ ? रवीन्द्र सरले भनेको मान्ने हो भने त त्यतै फर्किन प¥यो नि ! शाहवंशमा फर्कन सकिन्छ भने गोपालवंश, महिषपालवंश, मल्ल, किराँत, लिच्छिवीवंशतिर किन नजाने त ?

हो नेपालको एकीकरणमा पृथ्वीनारायण शाह र महेन्द्रले राजनीतिक व्यवस्थाबाहेक विकास र सामाजिक सुधार, कूटनीतिका पक्षमा निभाएको भूमिका प्रशंसनीय नै छ । यो इतिहासमा लेखिइसक्यो । यो धर्ती रहेसम्म पछिल्लो पुस्ताले बुझ्नेछ, पढ्नेछ । तर, यसो भन्दैमा व्यवस्था नै उल्ट्याउनुपर्छ भन्नु प्रतिगामी विचार हो । हुन त तपाईंको राजनीतिक यात्राको बाटो नै फरक परेपछि के कुरा गर्ने र ? गणतन्त्रपछि त जनगणतन्त्र, समाजवाद, साम्यवादतिर जाने हो नि बरु ? आइए, बिए पास गरेको व्यक्तिले एमए, एमफिल, पिएचडी गर्ने होइन र ? बिए, आइए, एसएलसीतिर झर्दै प्ले ग्रुप र नर्सरीमा भर्ना हुने हो र ?

मानौँ राजसंस्था फर्काउन सकिएन भने तपाईंलाई आफैँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति बन्ने बाटोमा हिँड्न कसले छेकेको छ ? यदि राजै मन परेको हो भने आफैँ राजा बन्ने हुन्न र रवीन्द्र सर ? पहल गर्नाेस् । किनकि इतिहासलाई ब्यूँताएर शाहलाई नै राजा बनाउन सकिने हो भने इतिहास बनिसकेको शाहवंशलाई फेरि किन राजा बनाउने ? नयाँ इतिहास रचना गर्ने हो भने कहिल्यै राजा नबनेको मिश्रवंशकालाई नै राजा बनाए हुन्न ? तपाईंका छोरा र आफन्त नै राजा बने हुन्न ? त्यसो गर्न मिल्दैन भने गोरखा राज्य सञ्चालन र नेपाल एकीकरणमा द्रव्य शाह, पृथ्वीनारायण शाहहरूलाई ज्यान दिएर हररात सघाउने खनालवंशका नाति पनातिलाई नै राजा बनाइदिए हुन्न ?

तपाईंजस्तै यो गणतन्त्र विदेशीले ल्याएदिएको भन्ने केही मान्छे छन् । यो लघुताभाष हो । त्यत्रा त्यत्रा जनआन्दोलन, क्रान्ति, जनसंघर्ष, जनयुद्धले ल्याएको हो गणतन्त्र । हामीजस्ता मान्छे विनाशर्त यस्ता आन्दोलनमा होमिएका हौँ । सामान्य भन्दा सामान्य मानिसहरू स्वतःस्पूmर्त सडकमा आएका हुन् । त्यही बलले गणतन्त्र आएको हो । त्यत्तिका मानिस सडकमा त्यसै उत्रिएका हुन् त ? यदि अहिले राजतन्त्र भएको भए गणतन्त्र चाहिन्छ वा कसैलाई राष्ट्रपति होऊ भन्न पाउनुहुन्थ्यो ? राष्ट्रपतीय प्रणालीलाई बलियो बनाउन किन ध्यान दिनुहुन्न ? तपाईंको वैचारिक अस्पष्टताका कारण जनादेश पाउनुभएन । जबकि तपाईंका समेत छोराछोरी राष्ट्रपति बन्ने अवसर छ यो व्यवस्थामा ।

त्यसैले राष्ट्रपतीय प्रणालीलाई बलियो बनाए हुँदैन ? राष्ट्रपतिलाई राजाजस्तै अडिग बनाए हुँदैन ? नभए तपाईं नै कार्यकारी राष्ट्रपति बनेर मुलुक चलाए हुँदैन ? हो, विदेशीका अनेक स्वार्थ हिजो थियो, आज पनि छ र भोलि पनि रहनेछ । राजनीतिक, कूटनीतिक चातु¥याइँका रूपमा कतिपय नेताले विदेशीलाई समेत उपयोग गर्ने कार्यनीति अपनाए होलान् । यसो भन्दैमा गणतन्त्र नै विदेशीले ल्याइदिएको भन्दा त्यत्रो जनमतको अपमान भएन ? के हामीले भारत र अमेरिकाले पैसा दिएर कलम चलाएका हौँ ? त्यसो भए तपाईंलाई पश्चिमाले लगानी गरेर राजनीति गर्न पठाएको भन्न पाइन्छ त ?

यस्तै राजसंस्था फर्काइँदैमा अमेरिका र भारतको नेपाललाई हेर्ने परराष्ट्र नीति बदलिन्छ ? राजतन्त्र र गणतन्त्रमा उनीहरूको वैदेशिक नीति फरक हुन्छ ? सुरक्षा बलियो हुन्छ ? दरबार हत्याकाण्ड(२०५८) हुँदा मुलुकमा कुन तन्त्र थियो ? के राजतन्त्रले आफ्नै रक्षा गर्नसक्यो ? हृदयेन्द्र आउँदैमा रातारात राष्ट्रियता बलियो हुने अस्त्र के छ ? अर्काेतिर राजतन्त्र हुँदैमा रातारात विकास, सम्बृद्धि, सुशासन हुन्छ, भ्रष्टाचार अन्त्य हुन्छ भन्ने के ग्यारेन्टी ? हो, बहुदलीय व्यवस्था र गणतन्त्रमा बढी भ्रष्टाचार बढ्यो, तर राजतन्त्रमा कुनै भ्रष्टाचार, अनियमितता भएकै थिएन ? सबै राजा र राजपरिवारका सदस्य गंगाजलले नुहाइएका थिए ? त्यतिबेला किन सम्बृद्धि हुन सकेन ? संविधानबाट नै राजसंस्था ल्याउने भन्नुभएको छ । संविधानबाटै राजतन्त्र ल्याउन २ तिहाई राजावादीले जित्लान् ? कि सीधै आउला ? नत्र त राजसंस्था पनि विदेशीकै इशारामा फर्काउने त होला ? यसका लागि विदेशी शक्तिको आड र ग्रिन सिग्नल नचाहिएला त ?

टिप्पणीहरू