आत्महत्याको जड नबनोस् हिजोको एसएलसी र आजको एसईई

आत्महत्याको जड नबनोस् हिजोको एसएलसी र आजको एसईई

– वैकुण्ठ ढकाल

आज एक पटक शिक्षाको कुरा गरौं । शिक्षा पनि के भन्नु परीक्षाको । परीक्षा पनि त के भन्नु र, एउटा तहको नियमित वार्षिक परीक्षा । जुन हल्ला गर्नै पर्दैन तर गरिन्छ । पहिले बालबालिकालाई भूत, प्रेत र हाउगुजीको डर देखाएर तर्साइन्थ्यो । अहिले किशोरावस्थामा पुगेका विद्यार्थीलाई जीपीएको त्रास देखाइन्छ ।

जबकि १० कक्षाको विद्यार्थीलाई डर देखाउनुपर्ने कुनै कारण नै छैन । पछिल्लो शिक्षा प्रणालीले कक्षा ८ सम्मलाई आधारभूत र कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा भन्छ । अब परीक्षा बोर्ड बनाएर कक्षा १० को परीक्षा लिनु आवश्यक छैन । कक्षा १० को परीक्षालाई अरु कक्षाको जस्तै नियमित वार्षिक परीक्षाको रूपमा राखे हुन्छ । ताकि कम अंक आएको भनेर विद्यार्थीले आत्महत्या गर्नु नपरोस् । यो वर्ष पनि परीक्षामा अंक कम आएको भनेर एक किशोरीले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।

यो पटक सार्वजनिक नतिजाले धेरै कुराको मुखुण्डो उतारिदिएको छ । सबैभन्दा धेरै निजी विद्यालय सञ्चालक र त्यसमा पढाउने शिक्षकहरू निर्वस्त्र भएका छन् । २०७८ को एसईई परीक्षामा सहभागी ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै ल्याएको चार जीपीएले गुणस्तरीय शिक्षा दिइरहेका भनिने विद्यालयहरूको अवस्थासमेत छर्लंग पारिदिएको छ । यो वर्ष राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० सानोठिमीको तथ्यांकअनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ६ सय ३३, ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ हजार ६ सय २७, २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९ सय, २.४ देखि २.८ ल्याउने ९० हजार ७ सय ५८, २ देखि २.४ जीपीए ल्याउने १ लाख १२ हजार ७ सय ३३, १.६ देखि २ जीपीए ल्याउने १ लाख ५ हजार ५ सय ९४, १.२ देखि १.६ जीपीए ल्याउने ४४ हजार ५ सय ८६ जना र ०.८ देखि १.२ जीपीए ल्याउने ३ हजार २ सय ८० छ । जबकि ३.६ देखि ४ जीपीए ल्याउनेको प्रतिशत १.९४ मात्रै छ ।

यो नतिजामा राष्ट्रियसभाबारे सांसदले प्रश्न उठाएका छन् । प्रश्न उठ्नु स्वाभाविक छ किनभने २०७६ र २०७७ मा कोरोना कहरका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक भयो । २०७६ मा ४ जीपीए ल्याउनेको संख्या ९ हजार ३ सय १९ थियो । अर्को वर्ष २०७७ मा पनि कोरोना कहरकै कारण आन्तरिक मूल्यांकनको आधारमा प्रकाशित नतिजामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ थियो । यस्तो किन भयो ? जवाफ सिधा र सपाट छ । निजी विद्यालयले आफ्नो हात जगन्नाथ गरेकाले यसो भएको हो । २०७६ र २०७७ मा चार जीपीए ल्याउने निजी स्कूलको नतिजा अहिले के आयो ? हेरेपछि धेरै कुरा थाहा हुन्छ ।

चार जीपीए ल्याउनेको संख्या ९ हजारबाट ४२ जनामा किन झ¥यो ? विद्यालयले आफूले पाएको अधिकारको कसरी दुरूपयोग गर्छन भन्ने यो विकृत नमूना हो । यसले विद्यालयप्रतिको विश्वास त गुम्ने छ नै विद्यार्थीको भविष्य पनि अन्धकार हुने निश्चित छ । क्षमताको सही मूल्यांकन नभएको परिणामस्वरुप कक्षा १० मा चार जीपीए ल्याउने विद्यार्थी ११ मा अनुत्तीर्ण हुँदा त्यसले निम्त्याउने मनोदशा र परिणामको आँकलन कसले गरेको छ ? त्यसको जिम्मेवारी कसले लिन्छ ? चार जीपीएको रटानले निजी विद्यालयहरूले राम्रो व्यापार त गर्लान् तर त्यसको दूरगामी असर कहालिलाग्दो हुने देखिन्छ ।

हुन त यो वर्ष विद्यार्थीको क्षमताको राम्रोसँग मूल्यांकन भएकाले ४ जीपीए ल्याउनेको संख्या कम भएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले दाबी गरेको छ । उसले गरेका गल्ती पनि प्रशस्त छन् । त्यो सच्याउनको लागि अहिले परीक्षा बोर्डमा विद्यार्थीको लामो लाम लागेको छ । परीक्षा बोर्डको तर्कले आन्तरिक मूल्यांकनको आधारमा अंक दिने शैक्षिक संस्थामाथि प्रश्न खडा गरे पनि ६ हजार निजी विद्यालयको छाता संगठन प्याब्सन त्यसलाई स्वीकार्न तयार छैन । उसले आफूले गरेको मूल्यांकनलाई सही भन्ने रटान छाडेको छैन । जे होस् यी विद्यालयलाई शैक्षिक गुणस्तरसँग चासो छैन । उनीहरूलाई अंकसँग चासो छ ।

त्यो अंकको विद्यार्थीले हासिल गर्ने अंक र विद्यालयले अभिभावकबाट असुल्ने शुल्कको अंकसँग सरोकार छ । हुन त विद्यार्थीको मूल्यांकन अंकले मात्रै गर्दैन, विद्यार्थीको भविष्य उनीहरूले पछि गर्ने मिहिनेतले निर्धारण गर्छ । यो कुरा विद्यार्थीलाई बुझाउनै सकिएको छैन । अभिभावकले बुझ्न चाहिरहेकै छैन । अभिभावक पनि स्कूललाई तिरेको चर्को शुल्कको बदलामा लब्धांकपत्रमा राम्रो अंक खोजिरहेका छन् । आफ्ना छोराछोरीले के सिके भन्ने अभिभावकलाई त्यतिधेरै चासो छैन, कति अंक ल्यायो भन्ने मुख्य चासो हो ।

केही वर्षअघि भारतको बिहार र नेपालको पनि तराईका कतिपय जिल्लामा चिट चोराउनेहरूको लामो लर्को लाग्थ्यो । चिट चोराउन पाइएन भनेर आन्दोलन समेत हुने गरेका दृश्यहरू प्रशस्तै आउँथे । अहिले त्यसको स्वरूप फेरिएको छ । शैक्षिक माफियाले अहिले परीक्षा केन्द्र नै ‘खरिद’ गर्ने गरेको ‘ओपन सेक्रेट’ नै छ । त्यसो नभए पनि अनेकौं उपाय अपनाएकै छन् ।

अहिलेको एसईई र पहिलेको एसएलसी रूपमा उही देखिए पनि सारमा निकै फरक छ । पंक्तिकारको अनुभव अलिक भिन्न छ । त्यतिबेला परीक्षा भनेको परीक्षा नै हुन्थ्यो । द्वन्द्वकालको समय परीक्षाका लागि सदरमुकाम जानुपथ्र्यो । परीक्षा हलमा तिर्खाले प्याकप्याक पानी माग्दा किन बोलेको, परीक्षामा बोल्छन् भनेर निरीक्षकले टर्रो बोलेको अझै पनि कानमा गुञ्जिरहेको छ ।

टिप्पणीहरू