पारिवारिक गणतन्त्रलाई जनताको गणतन्त्र कहिले बनाउने ?

पारिवारिक गणतन्त्रलाई जनताको गणतन्त्र कहिले बनाउने ?

– विराट अनुपम

यही साउन १५ गते अछामको रामारोशन गाउँपालिकाको रोचक पत्र सार्वजनिक भयो । असार २२ को मिति चलानी नम्बर २६०४ अन्तर्गत गाउँपालिका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरा साउदलाई भान्सेमा नियुक्त गरेको पत्र सार्वजनिक भयो । तीन तहका सरकारमध्ये सबैभन्दा तल्लो र जनतासँग सबैभन्दा निकट सरकार परिवारवादको पछिल्लो कुख्यात उदाहरण हो यो ।

यो एक्लो घटना भने हैन । स्थानीय सरकारमा व्याप्त परिवारवादको पछिल्लो समय बजारमा धेरैले थाहा पाएको उदाहरण मात्रै हो यो । यस्ता कैयन उदाहरण ७५३ स्थानीय सरकारमा कुनै न कुनै रूपमा छन् । स्वकीय नियुक्ति होस् वा मनोनीत कार्यपालिका सदस्य होस् वा विभिन्न विषयगत समिति वा भ्रमण दल, कुनै न कुनैमा परिवारवाद हावी देखिन्छ ।

कतिपयले खुलेआम विभिन्न बहानामा जागिरका पद सिर्जना गरेर राखेका उदाहरण बग्रेल्ती भेटिन्छन् । तीन तहको सरकारमा बीचको सरकार अर्थात् प्रदेश सरकारको हालत उस्तै छ । प्रदेश सभामा आफ्ना छोराछोरीदेखि श्रीमतीलाई स्वकीय बनाएर तलब खुवाएका उदाहरण कैयौँ छन् ।

के पार्टीमा योगदान गर्नेहरूका लाखौँ कार्यकर्ता नभएर नेताकै परिवार र आफन्त मात्रै थिए ? कि उनीहरूको योगदान मात्रै विशेष हो ?

संघ सरकारको हालत झन सबैभन्दा बद्नाम छ । नेताका श्रीमान्, श्रीमती, छोराछोरी, आफन्त, सम्धी, साँढुदेखि ज्वाइँसम्मले सत्तामा हुँदाको रसास्वादन गर्ने सुनौलो मौका पाएका छन् । यो मामिलामा सबैभन्दा धेरै आउने नाम प्रचण्ड परिवारकै हो । उपराष्ट्रपति कार्यालयदेखि संसद् हुँदै सरकारका विभिन्न तह र तप्कामा प्रचण्ड परिवारले पाएको नियुक्तिका कुख्यात खबर सबैको जानकारीमै छन् ।

कांग्रेस, एमालेदेखि नेकपा एसमासम्म यसका बाछिटा धेरै देखिएका छन् । सत्तामा हुँदा परिवार र आफन्तको पदीय सेटलमेन्ट गर्ने नेपाली चलन मौलिक भइसक्यो । कुनै दल अछुतो छैन । यत्ति हो कोहीको थोरै होला । कोहीको धेरै होला । कोहीको मौका नआएको होला । खैर, तीनै तहका सरकारले गणतन्त्रलाई जहानियाँ बनाएका छन् ।

सत्ता र शक्तिमा रहेका नेताका परिवार र आफन्तललाई हर्ताकर्ता हुन वातावरण त्यही जहानियाँ गणतन्त्रले दिएको छ । राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याएका नेपालीको त्याग, तपस्या, बलिदान, संघर्ष र यातनालाई नेताले जनताको गणतन्त्र बनाउन दिएका छैनन् । उनीहरूले जहानियाँ गणतन्त्र बनाएका छन् । जहानियाँ गणतन्त्र राजनीतिक नियुक्ति र विभिन्न राजनीतिक तथा राज्यसत्ताका पदमा मात्रै छैन । नदेखिने खालका विभिन्न क्षेत्रमा समेत जहानियाँ गणतन्त्रका अवशेष देखिन्छन् ।

जस्तै प्रभावशाली नेताका परिवार र आफन्तले अस्पतालमा कुर्नु पर्दैन । उनीहरूको आफ्नै सेटिङले काम फटाफट हुन्छ । प्रभावशाली नेताका परिवार र आफन्तले जागिर गर्न न्यूनतम योग्यता मात्रै बोके पुग्छ । प्रभावशाली नेताका परिवार र आफन्तले सरकारी कामकाजमा आमनागरिकले जस्तो झन्झट र तनाव भोग्नु पर्दैन । यस्तो लाग्छ कि प्रभावशाली नेता तथा शक्ति केन्द्र र आमजनताका लागि नियम फरक–फरक हुन् ।

देश उनीहरूको लागि एउटा हो । आमनागरिकका लागि अर्को हो । अपवाद छोडेर गाउँको सिंहदरबारदेखि शहरको सिंहदबारलाई नजिकबाट बुझ्नेहरूको आम बुझाइ, भोगाइ र पीडा हो यो । यो भावनात्मक तर्क हैन । ग्राउण्डमा देखिएको तथ्य हो । यो तर्क आलोचनाका लागि आएको आलोचना हैन । आमजनताको पीडाको विवेचना हो । जहानियाँ गणतन्त्रमा प्रभावशाली नेताका परिवार र आफन्तको नाजायज दोहनको कुरा गर्दा धेरैले प्रतिरक्षा गर्ने तर्क हो– उनीहरूको पनि पार्टीमा योगदान छ । उनीहरू त्यो पदमा पुग्न योग्य छन् ।

उनीहरूलाई सजिलै सोध्न सकिन्छः के पार्टीमा योगदान गर्नेहरूका लाखौँ कार्यकर्ता नभएर नेताकै परिवार र आफन्त मात्रै थिए ? कि उनीहरूको योगदान मात्रै विशेष हो ? योग्यता पुग्नेहरू अरु नभएर नेताकै परिवार र आफन्त भएको निचोड कुन अध्ययनले दिएको हो ? त्यसको ठोस आधार के हो? हुन त जहानियाँ गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन नागरिक दबाब शुरु भएको छ ।

त्यो दबाब संगठित त छैन । तर, संगठित भएको खण्डमा सबै जहानियाँ गणतन्त्र पक्षधरलाई बढारेर जनताको गणतन्त्र पक्षधरलाई मौका दिने स्तरको भने छ । धरानमा हर्क साम्पाङदेखि धनगढीमा गोपी हमालले जित्नुमा स्वतन्त्रको पक्षमा आएको माहोल मात्रै हैन, जहानियाँ गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन मतदाताले दिएको दबाब पनि हो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममै आम युवाले विरोध गरी थुनिन तयार भएर देखाएको आक्रोश जहानियाँ गणतन्त्रको विपक्षको एक आक्रोश हो । राष्ट्रपतिको कारकेडलाई अटेर गरेर जनताले सडक नछोडेका भिडियो क्लिप्सको अन्तर्य जहानियाँ गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने पक्षधरताको मत मान्न सकिन्छ । जनताले स्वतन्त्रलाई मुख्य शहरी क्षेत्रमा मत दिएर, प्रधानमन्त्रीदेखि राष्ट्रपतिलाई आक्रोश पोखेर एक खाले विमति देखाइसकेका छन् ।

जहानियाँ गणतन्त्रले जनताको गणतन्त्र नलिएर यही अवस्था निरन्तरमा बढवा दिँदै जाने हो भने त्यसले कुनै न कुनै बेला बिस्फोटको रुप लिने अवस्था छ । गणतन्त्रलाई दुरुपयोग गरेर जहानियाँ गणतन्त्र बनाएकोमा गणतन्त्रवादी बहुसंख्यक नेपालीलाई निको लागेको छैन । उनीहरूले आफ्नो आक्रोश सामाजिक सञ्जालदेखि सडकमा छिटफुट पोख्दै आएका छन् ।

जुन दिन उनीहरूको आम आक्रोश संगठित भएर सडकमा पोखिनेछ त्यो दिन नेपालमा पनि धेरै राजापाक्षे जन्मनेछन् । जनता जागेको दिन राजापाक्षेहरूको हालत के हुन्छ भन्ने बुझ्न श्रीलंकाको नयाँ उदाहरण काफी छ । त्यसैले नेताहरू खासगरी गाउँको सिंहदरबारदेखि शहरका सिंहदरबारसम्मका प्रभावशाली नेताहरूले ऐना हेरेर आफैँलाई प्रश्न गर्न आवश्यक छः जहानियाँ गणतन्त्रलाई जनताको गणतन्त्र कहिले बनाउने?

टिप्पणीहरू