ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ?

प्रकाशित मिति :  २२ श्रावण २०७९, आईतवार २०:००


कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेका सिके राउत गत बुधवारदेखि ओशो सन्न्यासी बनेका छन् । हिंसात्मक गतिविधिलाई महत्व दिने मार्ग अंगालेका राउत काठमाडौंको रानीवनछेउ ओशो तपोवनमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर ओशो सन्न्यासी बनेका हुन् ।

नौ दिनको ध्यानपछि उनको नयाँ नाम ‘आनन्द मैत्रेय’ राखिएको छ । तराईमा सक्रिय जनमत पार्टीका अध्यक्ष राउत नौ दिनसम्म मोबाइल बन्द गरेर पूरै ध्यानमा बसेका थिए । त्यसपछि बीचमा उनलाई राखेर दुईवटी महिलाले छाती समाउँदै विलाप गरेको भिडियो यतिबेला भाइरल बनेको छ ।

भिडियोमा स्वामी आनन्दले रुद्राक्षको माला लगाइदिएर निधारको माथिल्लो भागमा मन्त्र फुकेको जस्तो देखिन्छ । मन्त्र फुक्ने क्रममा राउत शान्त देखिए पनि ती महिलाहरूले एकदमै ठूलो स्वरमा चिच्याइरहेका छन् । रुँदारुँदै उनीहरू त्यहीँ बेहोस भएर ढल्छन् । र, आजाद मधेशका निम्ति सत्ता पक्षलाई ढाल्न कस्सिएका राउत पनि ओशो भक्त महिलाको स्पर्शसँगै ढल्छन् ।

त्यस्तै, अर्को एउटा भिडियोले कतिपयको आङ सिरिङ्ग बनाइदिन सक्छ । त्यसमा एउटा पुरुष दीक्षा लिने बेला सहनै नसक्ने गरी काँपिरहेका छन् । बेहोस हुने बेला छाती फुट्ने गरी रोएको भिडियोले हेर्नेहरूको सातो उडाइदिन्छ ।

राउत मात्र नभई अन्य व्यक्ति पनि माला लगाउने बेला बेहोस हुनुको कारण के होला ? उनीहरूले रोइकराई किन गरेका ? सर्वसाधारणका लागि यो उत्सुकताको विषय हो । ओशोको माला लगाउनेहरू सबै उही प्रक्रियाबाट आएका हुन्छन् । तर, कोही अत्यधिक चिच्याउँछन् भने कोही शान्त रूपमै ढलेका देखिन्छन् ।

आफूभित्र दबिएर बसेका भावना र चाहना ऊर्जाको रूपमा आउने भएकाले सन्यास लिनेहरू रोइकराई गरेर बेहोस हुने गरेको डाक्टर नम्रता पाण्डेको भनाइ छ । दीक्षा दिने क्रममा मानिसको शरीरमा रहेको सामान्य ऊर्जा जैविक ऊर्जामा फेरिने उनले बताइन् । हिजोको दिनमा व्यक्त गर्न नसकेका कुराहरू त्यतिखेर बाहिर आउने उनको भनाइ छ । ‘मानिस एकान्तमा हुँदा जसरी आफ्नो दुःख सम्झिएर रुन्छन् त्यसरी नै त्यतिबेला उनीहरूले आफ्नो दुःख पोख्छन्,’ उनले भनिन् ।

आफूले गरेको गल्ती स्विकार्ने र सुधार्ने यो नै सबैभन्दा राम्रो मौका भएको उनको प्रतिक्रिया छ । पाण्डेका अनुसार दीक्षा लिने क्रममा सबैलाई छुट्टाछुट्टै अनुभूति हुन्छ । कोही शान्त रूपमा ढल्छन् भने कोही चर्कैसँग रोइकराई गर्छन् ।

यता, सन्न्यास लिएपछि पुरानो नाम छाडेर नयाँ नाम दिइन्छ । यसको अर्थ नयाँ जन्म हुने विश्वास हो । सन्न्यास लिन तीनदेखि नौ दिनसम्म ध्यान गर्नुपर्ने हुन्छ । ओशोको सन्न्यासी बनेपछि आफूभित्र भएको रिस, आवेगलगायत नराम्रा भाव हट्ने त्यहाँ धेरै रात कटाएकाहरूले बताएका छन् ।

कृषि मन्त्रालयका उपसचिव प्रधुम्नराज पाण्डे पनि ओशोभक्त हुन् । भन्छन्, ‘म ओशो तपोवनभित्र चाहिँ आजसम्म छिरेको छैन तर त्यहाँ रहेको रेष्टुरेण्टमा पुगेको छु ।’ ओशोधाममा अभिनेत्री, व्यापारीदेखि शीर्ष नेतासमेत पुग्ने गरेका छन् । अभिनेत्री सोभिता सिम्खडा लामो समयदेखि ढुक्कसँग ओशोमै लागेकी छन् । नम्रता सापकोटा र व्यापारी भवन भट्ट पनि ओशोको सन्न्यासी हुन् । हालै मात्र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी पनि त्यहाँ पुगेका थिए । तर, उनले दीक्षा भने लिएका छैनन् । गत हप्ता विद्युत् प्राधिकरणको टोलीसहित कुलमान घिसिङ त्यता पुगे । ध्यानमा रमाए ।

ओशोमा भइरहेका गतिविधि आध्यात्मिक पक्ष अंगाल्नेलाई ठीक लाग्नु स्वाभाविक हो । ओशोको सन्दर्भ कोट्याउँदा नेपाली शब्दकोशमा रहेको सन्न्यास शब्दको अर्थ पनि खोजिएको छ । भनिएको छ, ‘सम्पूर्ण त्याग, परिपूर्ण समर्पण’ नै सन्न्यास हो । यसले सबै कुराको परित्याग गर्नु, वैराग्य, त्यागी, वैरागी, योगी हुनुको अर्थ लगाउँछ ।

तर, ओशोका सन्न्यासीले भने आफ्नो घरपरिवार, आफन्त र पेशा त्याग गर्नु पर्दैन । उनीहरू भन्छन्, ‘आफूभित्रको इगो अर्थात् अभिलाषा छाडे पुग्छ ।’


प्रतिक्रिया दिनुहोस !